ad ad

कारोबार


हिमालयन र बीओकेले फिर्ता पाए जमानतबापतको करोड बढी डलर

हिमालयन र बीओकेले फिर्ता पाए जमानतबापतको करोड बढी डलर

नेपालखबर
भदौ ७, २०७९ मंगलबार १६:५१, काठमाडौँ

मेलम्ची खानेपानी आयोजनामा जमानत राखिएको हिमालयन बैंक र बैंक अफ काठमाण्डूको रकम दुवै बैंकले फिर्ता पाएका छन्।  

दुई बैंकले मेलम्ची खानेपानी आयोजनाको काम प्रारम्भ गर्ने सिलसिलामा ग्यारेन्टी बसेका थिए।

उक्त आयोजना परिचालनको लागि आवश्यक रकम चाइना रेल्वे–१५ समूहलाई उपलब्ध गराउने प्रायोजनको लागि मेलम्ची खानेपानी आयोजना हिताधिकारी हुने गरी चाइना कन्स्ट्रक्सन बैंकको काउन्टर ग्यारेन्टीमा दुई बैंकको एड्भान्स पेमेन्ट ग्यारेन्टी जारी भएको थियो। 

आयोजनाको काम ठेकेदार कम्पनीले सम्झौताअनुरुप पूरा नगरी बीचमै छोडेको हुँदा मेलम्ची खानेपानी आयोजनाले उक्त ग्यारेन्टीउपर दाबी गरेकोले नेपाली बैंकले ग्यारेण्टीबापतको रकम भुक्तानी गरिएको थियो। 

अहिले उक्त रकम स्ट्यान्डर्ड चार्टर्ड बैंकको खातामा फिर्ता आएको हो। मेलम्ची खानेपानी आयोजनालाई जारी गरेको एड्भान्स पेमेन्ट ग्यारेन्टीबापतको भुक्तानी रकम ६६ लाख २५ हजार १० अमेरिकी डलर र १४ लाख ११ हजार ४५३ युरो बैंक अफ काठमाण्डू लिमिटेडलाई फिर्ता आएको  बैंकका सीईओ श्रवण मास्केले जानकारी दिए।

यता हिमालयन बैंकले पनि आफूले राखेको ग्यारेन्टी रकम फिर्ता पाएको बताएको छ। बैंकले ६६ लाख डलर पर्फमेन्स ग्यारेन्टी दिएको थियो। बैंकले ६६ लाख ५० हजार डलर करिब ८४ करोड ४५ लाख रुपैयाँ फिर्ता पाएको बैंकका सीईओ अशोक राणाले जानकारी दिए।   

हिमालयन बैंक र बैंक अफ काठमान्डूले मेलम्ची खानेपानी आयोजनाको पर्फमेन्स ग्यारेन्टी सम्बन्धी चीनमा दश वर्षदेखि चलेको मुद्दा जितेका थिए। साउनमा नेपाली बैंकले मुद्दा जितेका थिए। 

नेपाली बैंकको पक्षमा चिनियाँ अदालतबाट फैसला आएसँगै नेपाली बैंकको फसेको रकम फिर्ता हुने बाटो खुलेको थियो। 

मुद्दा के थियो? 
सन् २००९ मा अन्तर्राष्ट्रिय बोलपत्र मार्फत चिनियाँ निर्माण कम्पनी चाइना रेल्वे १५ ब्यूरोले मेलम्चीको सुरुङको ठेक्का पाएको थियो।

चाइना रेल्वे १५ ब्यूरो कम्पनी (सीसीआरसी) लाई पर्फमेन्स बण्ड ग्यारेन्टी प्रस्तुत गर्न भन्यो। उक्त कम्पनीले ६६ करोड नेपाली रुपैयाँ पर्फमेन्स बण्ड चाइना कन्स्ट्रसन बैंक मार्फत मेलम्चीलाई बुझायो तर मेलम्चीले विदेशी बैंकको बण्ड स्वीकार गर्न मानेन। 

कम्पनीलाई नेपाली बैंकमार्फत मात्रै पर्फमेन्स बण्ड दिन मेलम्चीले भन्यो। सीसीआरसीको आग्रहपछि चाइना कन्स्ट्रसन बैंकले नेपालको हिमालयन बैंकलाई आफू जमानत बसेर मेलम्चीका लागि आफ्नो बैंकको तर्फबाट पर्फमेन्स बण्ड जारी गर्न भन्यो।  

हिमालयन बैंकले मेलम्चीका लागि सीबीसीको आग्रहमा बण्ड जारी गरिदियो। मेलम्चीको ठेक्का सम्झौता भयो। सन् २०१० जुन २५ बाट सुरुङ निमार्ण कार्य अगाडि बढाइयो। 

कम्पनी आएर काम गर्ने बेला कार्य सूचारु गराउन मेलम्चीले उसका लागि एड्भान्स पेमेन्ट जारी गर्नुपर्ने भयो। जसका लागि पुनः बैंक ग्यारेन्टी भएको थियो।

यस अवस्थामा कम्पनीले फेरि पुरानै तरिकाबाट नेपालस्थित बैंक अफ काठमाण्डूले मेलम्चीलाई ग्यारेन्टी दिने र चिनियाँ बैंकले बैंक अफ काठमाण्डूको काउण्टर ग्यारेन्टी गरिदिने गरी एड्भान्स पेमेन्टको ग्यारेन्टी तय भयो रकम थियो ९० करोड नेपाली।

तर ६ हजार ४४४ मिटर सुरुङ खनिसकेपछि ठेकदार कम्पनी २५ सेप्टेम्बर २०१२ मा नेपालबाट भाग्यो, ठेक्का तोडियो। त्यसपछि नेपालबाट बाहिरिएको कम्पनी र चिनियाँ बैंकसँग नेपाली बैंकलाई पैसा उठाउन हम्मे परेको थियो।

त्यसपछि नेपाली बैंकले चिनियाँ कम्पनी सीसीआरसी मुख्यालय रहेको हेनान प्रान्तका जिल्ला र पुनरावेदन अदालतमा मुद्दा दायर गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .