ad ad

कारोबार


गण्डकी प्रदेशमा 'एक निर्वाचन क्षेत्र एक सडक निर्माण' कार्यान्वयन सुरु

गण्डकी प्रदेशमा 'एक निर्वाचन क्षेत्र एक सडक निर्माण' कार्यान्वयन सुरु

नेपालखबर
असार ३, २०७६ मंगलबार ६:४४,

गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७५/७६ को नीति कार्यक्रम तथा बजेटमा प्राथमिकतामा राखेको ‘एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम’अन्तर्गत कास्कीमा योजना कार्यान्वयन सुरु भएको छ।

आगामी पाँच वर्षभित्र प्रदेश राजधानी र स्थानीय तहको केन्द्र जोड्ने गरी स्तरीय कालोपत्र सडक निर्माण गर्ने सरकारको लक्ष्यअनुसार सो कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको थियो। आगामी वर्षको बजेट कार्यक्रममा पनि सो कार्यक्रम उल्लेख गरिएको छ।

गण्डकीका ३६ प्रदेशसभा निर्वाचन क्षेत्रमा एक÷एक नमूना सडक निर्माण गर्ने उद्देश्यले प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदेश राजधानी र दुई जिल्ला वा जिल्लाको सदरमुकामबाट स्थानीय तहको केन्द्रलाई जोड्ने सडकलाई प्राथमिकता दिई सडक स्तरोन्नति गर्न सरकारले बहुवर्षीय योजनाअन्तर्गत सो सडक निर्माण कार्यक्रम ल्याएको थियो ।

प्रदेशसभाका छ निर्वाचन क्षेत्र रहेको जिल्लामा सो कार्यक्रम कार्यान्वयनका क्रममा हालसम्म चार वटा सडक योजना निर्माणका लागि सम्झौता भएर काम सुरु भएको र दुई वटाको बोलपत्र आह्वान भएर प्राविधिक मूल्याङ्कनको चरणमा रहेको पूर्वाधार विकास कार्यालय कास्कीका कार्यालयप्रमुख शोभियत खड्काले बताए । सरकारले सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधित्वि गर्ने प्रदेशसभा सदस्यको सिफारिशमा त्यस्ता सडक योजनाहरु छनोट गरेको थियो ।

प्रदेशसभा निर्वाचन क्षेत्र ३ (ख)अन्तर्गत नयाँ पुल–बिरेठाँटी–घान्द्रुक उरी सडक स्तरोन्नतिका लागि शर्मा÷सूर्य जेभीसँग सम्झौता भएर काम सुरु भइसकेको छ। आगामी दुई वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएको १० किमी सो सडक १९ करोड ७१ हजार १८६ लागतमा स्तरोन्नति गर्न लागिएको हो ।

निर्वाचन क्षेत्र १ ९क० अन्तर्गत रुपा रिङरोड सडक निर्माण कार्य पनि जेठको पहिलो हप्ताबाट सुरु भएको छ। १९ करोड ७१ लख ८७ हजार १४७ लागतमा ओएसिस इञ्जिनीयरिङ एण्ड बिल्डर्ससँग १० किमी सडक स्तरोन्नतिको सम्झौता गरिएको कार्यालयले जनाएको छ।

निर्वाचन क्षेत्र नं १ (ख) को काहुँखोला–सिक्लेस दूधपोखरी सडक निर्माणको कार्य पनि सुरु भएको छ । सपना काष्ठमण्डप जेभीसँग रु २२ करोड २६ लाख ७८ हजार ८५३ लागतमा १० किमी सडक दुई वर्षभित्रमा पूरा गर्ने गरी सम्झौता भएर काम अघि बढेको हो।

त्यसैगरी कास्की क्षेत्र नं २(क)को पोखरा महानगर २१ दोपहरे कृष्ति माझगाउँ बक्रेकसम्मको १२ दशमलव छ किमी सडक पनि स्तरोन्नति सुरु भएको छ । २२ करोड ९८ लाख ९७ हजार ३५ लागतमा रमन÷भीमेश्वर जेभीले सो सडक निर्माणको जिम्मा लिएको छ।

क्षेत्र नं ३ (क) को पोखरा २५ मिलनचोकबाट मर्दी पुल हुँदै माछापुच्छ्रे गाउँपालिकाको केन्द्रसम्म पुग्ने र क्षेत्र नं २ (ख)को नारायणधानदेखि भलाम हुँदै अर्मलासम्मको यी दुई सडक योजना स्तरोन्नतिका लागि बोलपत्र आह्वान भएर प्राविधिक मूल्याङ्कनको चरणमा रहेको कार्यालयका इञ्जिनियर गुरुदत्त अधिकारीले बताए। मिलनचोकबाट माछापुच्छ्रेसम्मको चार दशमलव ९७ किमी सडक स्तरोन्नति गर्नका लागि १५ करोड ४३ लाख ७३ हजार ८८४ को बोलपत्र आह्वान भएको छ।

त्यस्तै नारायणथानदेखि अर्मलासम्मको १० किमी सडक स्तरोन्नति हुने भएको छ। जसका लागि रु ३१ करोड ७३ लाख ७३ हजार ७८० लागतको बोलपत्र आह्वान गरिसकिएको छ । अधिकारीका अनुसार यी दुई सडक योजनाको पनि छिट्टै प्राविधिक मूल्याङ्कन सम्पन्न गरेर उपयुक्त निर्माण कम्पनीसँग सम्झौता गरेर काम सुरु गरिनेछ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .