चालू आर्थिक वर्षमा राजस्व अनुसन्धान विभागले ८१ वटा कसुरमा अनुसन्धान सम्पन्न गरी मुद्दा दायर गरेको छ।
राजस्व चुहावटको कसुरमा २ सय ३८ व्यक्तिहरुउपर बिगो र जरिवानाबापत १८ अर्ब ३२ करोड रुपैयाँ तथा बढीमा तीन वर्षसम्मको कैद मागदाबी गरिएको विभागले जनाएको छ।
यसमा सुन भन्सार चोरी पैठारी कसुरमा ६६ दशमलव ४० किलो सुन समेत बरामद गरिएको विभागको भनाइ छ। विदेशी विनियम अपचलन तथा अवैध हुण्डी कारोबारमा ६४ वटा मुद्दामा संलग्न १ सय ४ जना विदेशीविरुद्ध विनिमय अपचलन तथा हुण्डीको कसुरमा ५ अर्ब ११ करोड रुपैयाँ बिगो कायम गरी बिगोको तेब्बरसम्म जरिवाना र तीन वर्षसम्मको कैद मागदाबीसहित मुद्दा दायर गरिएको छ।
यसबाट राजस्व परिचालन र विप्रेषण आय प्राप्तिमा सकारात्मक प्रभाव पारेको विभागले उल्लेख गरेको छ।
विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार राजस्व छली तथा आर्थिक अपराधका जोखिमयुक्त क्षेत्रमा अनुसन्धान भई केन्द्रित गरिएबाट राजस्व प्रशासनमा सदाचार प्रवर्द्धन भई राजस्व संकलनमा सुधार हुँदै गरेको छ।
पछिल्लो समय विभागले रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका १ का ग्याल्बो घलेले चोरी पैठारी गरेर ल्याएको ७ किलो सुन नेपाल प्रहरीले समातेको थियो। प्रहरीले विभागलाई दाखिला गरेका आधारमा विभागले ७ करोड ११ लाख ७६ हजार रुपैयाँ बिगो कायम गरी राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनको कसुरमा रसुवा जिल्ला अदालतमा यही जेठ ६ गते मुद्दा दायर गरेको छ।
त्यस्तै न्यू किरण स्पेयर्स प्रालि र किरण ट्रेड एण्ड सप्लायर्स प्रालिका सञ्चालनक राजेश प्रसाद कलवारलाई मोटरसाइकलका पार्टपुर्जा चोरी पैठारीको आरोपमा मुद्दा दायर गरिएको छ। यसबाट ६१ लाखबराबरको बिगो दाबी भएको छ। रौतहटका अनुकेश कुमार राह र सोही स्थान बस्ने विजय कुमार साहले चोरी पैठारी गरी ल्याएको १ सय ५३ किलो सुन समेत निण्न्त्रणमा लिई रौतहट जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। यसबाट ८३ करोड १० लाख रुपैयाँ बिगो दाबी गरिएको हो।
राजस्व अनुन्सधानले फेला पार्यो चोरीको नयाँँ प्रकृति
चोरी पैठारीको नयाँँ तरिका राजस्व अनुसन्धानले फेला पारेको छ। नेपालमा आयातनिर्यातको लागि वैध मानिएको वस्तुहरु विदेशबाट आयात गर्नको लागि एलसी खोल्ने र सो सामानको सट्टामा अरु नै सामान तेस्रो मुलुकबाट ल्याउने गरेको घटना राजस्व अनुसन्धानले फेला पारेको छ। राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार पहिलोपटक यस्तो घटना अनुसन्धानमा देखिएको हो। अवैध तथा महंगो रहेको तेस्रो मुलुकबाट आयात गरी भारतमा ल्याएर बेच्ने र नेपालबाट जुन वस्तुको एलसी गरिएको हो, त्याे वस्तु भारतमा लगेर बेचिएकाे समेत फेला परेकाे छ।
त्यस्तै रुपन्देहीका गौरी शंकर गुप्ता समेत चार जनाले नेपालमा पीभीसी ग्याम्सुम लेमिनेटेड सेलिङ बोर्ड आयात गर्ने भन्दै दुवईमा एलसी खोलेका थिए। उनीहरुले दुवईबाट चुरोट आयात गरी भारतमा बिक्री गरेको विभागले अनुसन्धानको क्रममा फेला परोको छ। नेपालबाट एलसी भएको सामान भने भारतबाट आयात गरिएको पाइएको हो।

प्रतिक्रिया