हालसम्म असुल हुन नसकेको बक्यौता रकम पुससम्म बुझाए ७५ प्रतिशतसम्म करछुट दिइने भएको छ।
आर्थिक अध्यादेश २०७८ मार्फत अन्तःशुल्क ऐन २०१५ र आयकर ऐन २०३१ बमोजिम लागत कायम भई असुल हुन नसकेका बक्यौता रकममा करछुट दिइने भएको हो।
सरकारले बक्यौता रकममध्ये अन्तःशुल्क वा कर रकमको ७५ प्रतिशत २०७८ पुसभित्र बुझाएमा जरिवाना, शुल्क, ब्याज र बाँकी अन्तशुल्क वा कर मिनाहा हुनेछ।
त्यसैगरी २०७६ असार मसान्तसम्म कर निर्धारण वा अन्तःशुल्क निर्धारण वा संशोधित कर निर्धारण भई बक्यौता रहेको रकममध्ये झुट्टा तथा नक्कली बीजक सम्बन्धमा भएको कर निर्धारणबाट कायम भएको बाहेककाले छुट पाउनेछन्।
गैरनाफामूलक सामुदायिक अस्पताल वा स्वास्थ्य संस्था तथा विद्युतीय सञ्चालनमा आधारित सवारी सेवा उपलब्ध गराउने सञ्चालकलाई आन्तरिक राजस्व कार्यालयबाट संवत् २०७८ जेठ १५ गतेभन्दा अघि कर निर्धारण वा संशोधित कर निर्धारण भई न्यायिक प्रक्रियामा नरहेका करदाताले पुसभित्र बक्यौता मिनाहाको निवेदन दिएमा छुट हुने व्यवस्था गरिएको छ।
ट्राभल तथा टे«किङ एजेन्सीको कारोबार गर्नेले ट्रेकिङ तथा टुर प्याकेजमा भ्याट लाग्ने कारोबारलाई कर छुटको बिक्रीअन्तर्गत देखाई जेठ १४ गतेसम्मको कारोबारको स्वयं घोषणागरी पुसभित्र दाखिल गरेमा थप दस्तुर, ब्याज र जरिवाना छुट हुनेछ।

प्रतिक्रिया