नेपालकै पहिलो पूर्वाधार विकास बैंक नेपाल इन्फ्रास्ट्रक्चर बैंकले औपचारिक रुपमा कारोबार सुरु गरेको छ। बैंकले पूर्वाधार संरचनामा पहिलो लगानीको सुरुवात समेत गरेको छ। बैंकले कास्की जिल्लाको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकामा अवस्थित ३२ मेगावाट उत्पादन क्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनामा लगानी गरेको जनाएको छ।
बैंकले सुरुवाती रुपमा आफ्नो अगुवाइ तथा हिमालयन बैंक लिमिटेडको सहअगुवाइ र सानिमा बैंक लिमिटेडको सदस्यता रहेको सहवित्तीयकरण सम्झौता गरी उक्त परियोजनाबाट लगानीको सुरुवात गरेको हो।
कुल परियोजना लागत पाँच अर्ब ८० करोड रुपैयाँ रहेको उक्त परियोजनामा यस नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अगुवाइमा सहवित्तीयकरण समेत गरी चार अर्ब छ करोड रुपैयाँ कर्जा प्रवाह हुनेछ।
देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको यस बैंकले जलविद्युत्, सौर्य ऊर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्यलगायतका अन्य विभिन्न पूर्वाधार परियोजनाहरुको पहिचान एवं आवश्यक अध्ययन सम्पन्न गरिसकेको र उक्त परियोजनाहरुमा निकट भविष्यमै लगानी विस्तार गर्ने यस बैंकको योजना रहेको छ।

प्रतिक्रिया