कारोबार


सरकारले सुरु गर्‍यो मेरो कित्ता प्रणाली, नापी कार्यालयका काम अब अनलाइनबाटै

सरकारले सुरु गर्‍यो मेरो कित्ता प्रणाली, नापी कार्यालयका काम अब अनलाइनबाटै

नेपालखबर
बैशाख २, २०७८ बिहिबार ९:९,

सरकारले घरमै बसेर नापी कार्यालयहरुको काम मेरो कित्ताबाट गर्न सकिने व्यवस्था सुरु गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नापी कार्यालयहरुबाट प्रदान गरिने सेवा अनलाइनबाटै गर्न सकिने प्रणालीको शुभारम्भ गरेका हुन्।

सरकारले ‘नेपाल ल्याण्ड इन्फरमेसन सिस्टम’मार्फत नक्सा प्रिन्ट, फिल्डबुक प्रिन्टलगायतको सेवा घरमै बसेर उपलब्ध गराउनलागेको हो।

नापी कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु प्रविधिमैत्री, झन्झटरहित, चुस्त दुरुस्त, छिटो छरितो एवं प्रभावकारी बनाउनका लागि यो कार्यक्रम सुरु गरिएको सरकारले बताएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी र प्रविधि ल्याउने कुरामा सरकारको ध्यान भएको भन्दै मेरो कित्ताबाट नेपालमा जति कित्ता रहेका छन्, सबै घरमा बसेर हेर्न सकिने बताए।

‘कार्यालय उही हुन्, काम गर्ने तरिकामा परिवर्तन गरेका हौँ’, प्रधानमन्त्री ओलीले भने, ‘लेस फेस, लेस पेपर र क्यासलेस अर्थात डिजिटाइज्ड नेपाल सुरु गरेका छौँ।’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण शिवमाया तुम्बाहाङ्फेले मालपोत तथा नापी कार्यालयबाट हुने ढिलासुस्ती कम गर्न मेरो कित्ता कार्यक्रम सुरु गरिएको बताइन्।

डिजिटल नेपालको अवधारणाअनुसार मालपोत तथा नापी कार्यालयमा पेपरलेस कार्यक्रमको रुपमा सुरु भएको उनको भनाइ छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले घरजग्गा कारोबारमा लाइन लाग्नुपर्ने बाध्यता हटाउन अनलाइन सेवा सुचारु गरिएको जानकारी दिए।

‘अहिलकोे बसाइसराइले जो जहाँ छ, त्यहाँबाटै मालपोत तथा नापी कार्यालयबाट सेवा उपलब्ध गराउन आवश्यक छ’, सचिव पाण्डेले भने, ‘घरजग्गा कारोबार आफैँ अनलाइनबाट गर्न सकिन्छ।’

उनले डिजिटल भेरिफिकेसनको लागि कहिलेकाहीँ उपस्थित हुनुपर्ला नभए सबै अनलाइनबाटै काम हुने बताए।

देशभर १२६ नापी कार्यालयमध्ये १८ कार्यालय अझै अनलाइन प्रणालीमा आउनसकेका छैनन्।

यो वर्षभित्र सबै कार्यालय अनलाइन प्रणालीमा आउने र कारोबार गर्न सकिने सरकारले बताएको छ।

पाण्डेले जग्गासम्बन्धी सम्पूर्ण इतिहास अनलाइनबाट थाहा पाउने व्यवस्था गरी मन्त्रालयले काम थालेको बताए।

संस्थागत कारोबार बैंक तथा स्थानीय तहले समेत अनलाइनबाटै कारोबार गर्नसक्ने उनले जानकारी दिए।

नापी विभागका महानिर्देशक प्रकाश जोशीले काठमाडौं उपत्यकाका ३ ठाउँ कलंकी, डिल्लीबजार र भक्तपुरमा आजबाटै लागू भएको जानकारी दिए।

mero kitta22

के हो मेरो कित्ता प्रणाली? अनलाइन सेवा कसरी प्राप्त गर्ने?
नापी कार्यालयहरुबाट प्रवाह गरिने केही सेवाहरु इन्टरनेटमार्फत जहाँबाट पनि प्राप्त गर्न सकिने गरी तयार गरिएको प्रणाली नै मेरो कित्ता प्रणाली हो।

मेरो कित्ता प्रणालीमार्फत नक्सा प्रिन्ट, प्लट रजिस्टर प्रिन्ट, फिल्डबुक प्रिन्ट, फिल्ड रेखांकन निवेदनको काम गर्न सकिन्छ। मेरो कित्ता प्रणाली सञ्चालन गर्न जग्गाधनी प्रमाणपुर्जा र नागरिकता आवश्यक हुन्छ।

साधारण प्रयोगकर्ताले सेवा लिन मेरो कित्ताको वेबसाइटमा गएर तोकिएको ढाँचामा अनलाइन निवेदन पेश गर्नुपर्छ। निवेदन पेश भएपश्चात् मोबाइलमा ओटीपी कोर्ड आउँछ। सेवाको अवधिभर सो कोड आवश्यक हुन्छ।

कार्यालयहरुबाट सेवाको विवरण चेकजाँच भइसकेपछि तिर्नुपर्ने राजस्व रकमको एसएमएस प्राप्त हुन्छ।

राजस्व तिर्नको लागि मोबाइल नम्बर र ओटीपी प्रयोग गरी कनेक्ट आईपीएस वा भौचर प्राप्त गरी बैंकबाट रकम भुक्तानी गर्न सकिन्छ।

भुक्तानी प्राप्त भएपछि कार्यालयहरुबाट नक्साको डिजिटल कपी अपलोड गरी मोबाइलमा त्यसको जानकारी प्राप्त हुनेछ। सो नक्सा प्राप्त गर्न मोबाइल नम्बर र ओटीपी प्रयोग गरी ७ दिनभित्र डाउनलोड गर्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .