ad ad

कारोबार


भैरहवा सेजमा नयाँ उद्योगलाई अवसर, ठाउँ ओगटेर उद्योग नखोल्नेलाई स्पष्टीकरण

भैरहवा सेजमा नयाँ उद्योगलाई अवसर, ठाउँ ओगटेर उद्योग नखोल्नेलाई स्पष्टीकरण

नेपालखबर
चैत ४, २०७७ बुधबार १२:३,

भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा सरकारले नयाँ उद्योगीलाई अवसर दिने तयारी गरेको छ।

तीन वर्षअघि आवेदन खुलाए पनि केही उद्योगहरु अझै सञ्चालनमा नआएको र केही खाली स्थान बाँकी रहेकाले नयाँ उद्योगीहरुलाई अवसर दिने तयारी गरिएको हो।

विशेष आर्थिक क्षेत्र प्राधिकरणले नयाँ उद्योगीलाई उद्योग स्थापनाका लागि आह्वान गर्ने भएको छ।

भैरहवामा अनुमति लिएका १७ उद्योगले २२० रोपनी १४ आना जग्गा ओगटेका छन्। १७ उद्योगहरूले सेजमा दुई अर्ब ६३ करोड ९१ लाख २१ हजार ६ सय २६ रुपैयाँबराबर लगानी प्रतिबद्धता गरेको प्राधिकरणले जानकारी दिएको छ।

भैरहवा सेजमा ६८ प्लटहरू रहेका छन्। त्यसमध्ये २० प्लटहरू खाली छन्। अनुमति लिएर सञ्चालनमा नआएको र खाली रहेका २० वटा प्लटमा आवेदन खुल्ला गर्न लागिएको हो।

३ वर्षअघि सेजमा अनुमति लिएर पनि उद्योग सञ्चालनको तयारी नगरेका ९ उद्योगलाई प्राधिकरणले स्पष्टीकरण समेत सोधेको छ।

अरिबा एग्रिकल्चर प्रालि (विकास अग्रवाल), अरिहन्त एग्रो प्रोसेसिङ प्रालि (निशान्त लुनावत जैन), नेशनल अर्गानिक्स प्रालि (हरि पौडेल), कुराकानी अनलाइन प्रालि (सुजित आचार्य), आईडीएस इलेक्ट्रोनिक्स प्रालि (श्रद्धा आचार्य), क्रिएसन वर्ल्डवाइड प्रालि (भक्त सुवाल), जयबुद्ध मेटल क्राफ्ट प्रालि (राजेन्द्र गुप्ता), निर इण्डष्ट्रिज प्रालि (प्रज्वल बोहरा) र एस प्लाष्टिक प्रालि (सरोज कँडेल)लाई प्राधिकरणले स्पष्टीकरण सोधेको हो।

यी सबै कम्पनीहरुमध्ये केहीले २०७४ र केहीले २०५७ मा अनुमति लिएका थिए। तर अहिलेसम्म कुनैले पनि उद्योग सञ्चालनको प्रक्रिया अपनाएका छैनन्।

प्रधिकरणले क्षेत्र ओगटेर बस्ने नियतमा नै उद्योग सञ्चालन नगरेको भन्ने आशंकामा स्पष्टीकरण सोधेको हो। केही उद्योगले स्पष्टीकरण समेत बुझाएको र त्यसको कारणमा कोरोना कहर कारण उल्लेख गरेको प्राधिकरणका उपसचिव लबराज जोशीले नेपालखबरलाई जानकारी गराए।

उनले भने, ‘उपयुक्त कारणहरु पेश गरेको खण्डमा त उनीहरुको अनुमति कामय हुनसक्ने तर अहिलेसम्मको स्थिति हेर्दा उनीहरुको अनुमति खारेज गरेर खुल्ला रुपमा आवेदनको सूचना गराइनेछ। त्यो केही दिनभित्र नै हुनेछ।’

यी ९ वटा उद्योगले ५१ हजार ९ सय ७ वर्गमिटर जग्गा ओगटेर बसेका थिए।

भैरहवा सेजमा १७ वटा उद्योगले अनुमति पाएकोमा ९ वटाले उद्योग स्थापना नै गरेको छ। बाँकी ८ वटाले उद्योग संस्थानको प्रक्रिया अघि बढाइसकेका छन् भने केहीले उद्योग स्थापना गरेर उत्पादन समेत गरिसकेका छन्।

सेजको प्रावधानअनुसार सेज आबद्ध उद्योगहरुले अनिवार्य रुपमा ६० प्रतिशत निर्यात गर्ने गर्नुपर्ने हुन्छ।

नेपालमा सञ्चालनमा आएको विशेष आर्थिक क्षेत्र ‘सेज’ भैरहवाको मात्रै हो। पछिल्लो समय सिमरामा पनि सेजको निर्माणको काम सुरु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .