कारोबार


चम्कियो मोबाइल व्यापार, ६ महिनामा २० अर्बको आयात

चम्कियो मोबाइल व्यापार, ६ महिनामा २० अर्बको आयात

सन्तोष न्यौपाने
माघ २४, २०७७ शनिबार १०:३८,

मुलुकमा कोरोना भाइरसको संक्रमणले व्यवसाय र रोजगारी खुम्चिरहेको बेला मोबाइल व्यापार भने चम्किएको छ।

नेपालमा कोरोना संक्रमण उच्च भएकै बेला मोबाइल हेन्डसेटको आयात गत वर्षभन्दा दोब्बर भएको हो।

भन्सार विभागको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्यांकअनुसार यस अवधिमा मुलुकमा २० अर्ब ६३ करोडभन्दा धेरै मूल्य बराबरको मोबाइल हेन्डसेट आयात भएका छन्। यस अवधिमा मुलुकमा ३६ लाख ६४ हजार ६ सय ३० वटा मोबाइल हेन्डसेट आयात भएका छन्।

यो गत वर्षको सोही अवधिको तुलनामा झन्डै दोब्बर हो। गत वर्ष २०७६/७७ को पहिलो ६ महिनामा मुलुकमा ११ अर्ब ७८ करोड ८८ लाख ४९ हजार मूल्य बराबरका २९ लाख ६८ हजार ८ सय २५ वटा मोबाइल हेन्डसेट आयात भएको देखिन्छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयात भएको मोबाइल गत आर्थिक वर्षभरीको भन्दा झन्डै २ अर्ब रुपैयाँले बढी हो। गत आर्थिक वर्षभरीमा मुलुकमा १८ अर्ब १७ करोड ७४ लाख ६८ हजार मूल्य बराबरका ४३ लाख ६५ हजार ९ सय ९० वटा मोबाइल सेट आयात भएका थिए।

कोरोना संक्रमणले शैक्षिक संस्था, व्यवसायदेखि कार्यालयहरुले घरबाटै काम गर्ने व्यवस्था मिलाउँदा डिजिटल सामग्रीको माग बढेको छ। अधिकांस स्कुल, कलेजहरुले अनलाइन कक्षा सञ्चालन गर्दा मोबाइल र ल्यापटपका माग बढेको थियो। त्यस्तै, निजी व्यवसाय तथा कार्यालयहरुले पनि घरबाट काम गर्ने व्यवस्था मिलाउँदा यस्ता सामग्रीका आयात बढेको थियो।

यी सामग्रीसँगै मुलुकभित्र इन्टरनेट खपत बढेको छ भने अन्र्तराष्ट्रिय व्यान्डविथको आयात पनि बढेको छ।

मुलुकमा आयात हुने प्रमुख वस्तुमध्ये मोबाइलमा पनि उच्च स्थानमा पर्छ। विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/०७६ मा मुलुकमा १९ अर्ब २७ करोड ७० लाखबराबरको ४२ लाख ७५ हजार ५ सय मोबाइल ह्यान्डसेट आयात भएका थिए।

त्यसअघि २०७४÷०७५ मा २४ अर्ब ७ करोड ८३ लाख ७ हजार रुपैयाँबराबरको ६२ लाख २३ हजार ६ सय ६५ वटा मोबाइल ह्यान्डसेट भित्रिएका थिए।
बजारमा झन्डै दुई दर्जन ब्रान्डेड मोबाइलको कारोबार भइरहेको छ। त्यस्तै थुप्रै ननब्रान्डेड मोबाइल पनि नेपाली बजारमा छ्यापछ्याप्ती पाइन्छन्। भन्सार छलेर ल्याइएका मोबाइलहरु भने बजारमा अरुले भन्दा सस्तोमा बेच्ने गरेका छन्।

दुई छिमेकी देशको खुला सीमाका कारण लुकिछिपी पनि मोबाइल आयात हुने गरेको छ। कतिपय महँगा मोबाइलहरु भने विदेशबाट आउनेहरुले दुई चार वटा बोकेर ल्याउने गरेको समेत पाइन्छ।

नेपालमा आउने मोबाइल सेटभन्दा सबैभन्दा धेरै चीनबाट आयात भइरहेका छन्। ६ महिनाको अवधिमा चीनबाट मात्रै १३ अर्ब ४० करोडभन्दा धेरैका मोबाइल हेन्डसेट आयात भएका छन्। त्यस्तै, भारतबाट ६ अर्ब ४४ करोडको आयात भएका देखिन्छ। चीनबाट ब्रान्डेडदेखि नन्ब्रान्डेल मोबाइल सेट आयात भइरहेका छन्।
चीनबाट आयात भएका मोबाइलहरु सात सय रुपैयाँदेखि उपलब्ध भएकाले ग्राहकले छानीछानी किन्न पाउने सुविधा पाएका छन्।

व्यवसायीका अनुसार अहिले बजारमा मध्यमस्तरका मोबाइलको माग धेरै छ। १० हजारदेखि २५ हजारसम्मका मोबाइलमा उपभोक्ताको माग धेरै भएको व्यवसायी बताउँछन्। अधिकांश यही मूल्य तहका मोबाइल बिक्री भइरहेका छन्।

बजारमा एक हजार रुपैयाँदेखि लाख रुपैयाँभन्दा धेरै पर्ने मोबाइल पनि फाट्टफुट्ट बिक्री भइरहेका छन्।

अहिले बजारमा सामसङ, सोनी, नोकिया, कलर्स, हुवावे, जियोनी, एप्पल, इन्टेक्स, डीटीसी, माइक्रोम्याक्स, माइक्रोसफ्ट, एचटीसी, ब्ल्याकबेरी, पानासोनिक, लेनोभो, सेलकोन, लाभा, बिक्यु, जोलो, विनकम, फ्लाई, भिडियोकन, बर्डलगायत मोबाइल ब्रान्ड नेपाली बजारमा उपलब्ध छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .