ad ad

कारोबार


पर्यटन व्यवसायीको मागः विदेशी पर्यटकलाई ७ दिन क्वारेन्टिन बढी भयो, एयरपोर्टमै पीसीआर गरौँ

पर्यटन व्यवसायीको मागः  विदेशी पर्यटकलाई ७ दिन क्वारेन्टिन बढी भयो, एयरपोर्टमै पीसीआर गरौँ

वसन्त अर्याल
पुस २७, २०७७ सोमबार ७:४८,

पर्यटन व्यवसायीले ७ दिन क्वारेन्टिनको व्यवस्था हुँदा विदेशी पर्यटक आउन नमानेको बताएका छन्।

व्यवसायीहरुले ७ दिन क्यारेन्टिनको सट्टा विदेशी पर्यटकको एयरपोर्टमै पीसीआर टेष्ट गर्न माग गरेका हुन्।

पर्यटन व्यवसायीहरुको छाता संगठनले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसँग एयरपोर्टमा पिसिआर टेष्टगरी नेगेटिभ आए घुम्न दिनुपर्ने बताएका छन्।

पर्यटन व्यवसायीले वसन्त ऋतुमा नेपाल घुम्न आउने भन्दै बुकिङ गरेका पर्यटकले समेत बुकिङ रद्द गरिरहेको बताएका छन्। व्यवसायीले नेपाल घुम्न आउने पर्यटकलाई अनअराइभल भिसा, ७ दिन क्वारेन्टिन व्यवस्था र पीसीआर रिपोर्टले अन्योल परेको बताएका छन्।

‘नेपाल आउन विदेशी पर्यटक अहिले पनि चासो देखाइरहेका छन्। इन्क्याइरी आइरहेका छन्’, टे«किङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले भने, ‘तर हाम्रो झन्झटिलो प्रक्रियाले गर्दा आउन चाहेनन्।’

उनले पीसीआर नेगेटिभ भएका पर्यटकलाई सहजै नेपाल प्रवेश दिनुपर्ने बताउँदै एयरपोर्टमै स्वाब संकलन गर्ने व्यवस्था गर्नुपर्ने बताए।

‘अहिले विश्वभर कोरोनाविरुद्ध खोप लगाउन सुरु भएको छ। खोप लगाएर नेपाल आउन चाहने पर्यटकलाई के गर्ने? खोप लगाएकालाई पनि पीसीआर नेगेटिभ माग्नु व्यावहारिकता हुँदैन कि?’, सुवेदीले भने।

टानका पूर्वअध्यक्ष नवराज दाहालले अराइभल भिसा सहजै पाउने व्यवस्था गर्नुपर्ने बताए। ट्रेकिङ परमिटलाई सहज बनाउनुपर्ने उनको भनाइ छ।

‘अनअराइभल भिसाको बारेमा स्पष्ट नहुँदा नेपाल आउन चाहने पर्यटकले समेत दुःख पाएका छन्’, दाहालले भने, ‘भिसाको लागि दूतावास जानुपर्ने भनिएको छ। कुनै दूतावासले नेपाल गएपछि एयरपोर्टमै भिसा पाउने बताउँदा नेपाल आएका पर्यटकले पनि दुःख पाएका छन्।’

उनले केही पर्यटन त्रिभुवन विमानस्थल आएर भिसा नपाउँदा हारगुहार गर्नुपर्ने अवस्थामा अध्यागमन विभागले अन्तिममा भिसा दिएको बताए।

होटल एसोसिएन नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले समेत अनअराइभल भिसा सहज गर्दै एयरपोर्टमा पीसीआर गर्नुपर्छ।

‘विदेशबाट आउने पर्यटकलाई त्रिभुवन विमानस्थलमै पीसीआर टेष्ट गर्ने व्यवस्था गरौँ’, शाहले भने, ‘४÷५ घण्टामा रिपोर्ट आउँछ। त्यसपछि नेगेटिभ आए घुम्न दिऔँ। पोजेटिभ आए आइसोलेसन सेन्टरमा राखौँ।’

उनले आन्तरिक पर्यटकका लागि स्थानीय तहले पीसीआर रिपोर्ट माग्दा समस्या भएको बताए।

‘होटल चल्न नसकेर ११ लाख कामदार कसरी बाँच्चे भन्नेमा पुगेका छन्’, उनले भने, ‘केन्द्रदेखि स्थानीय तहसम्म फरक–फरक मापदण्ड बनाएर पर्यटकलाई अलमलमा पर्दा घुम्न निस्कँदैनन्।’

उनले स्थानीय तहले छुट्टै मापदण्ड बनाउँदा विदेशबाट नेपाल घुम्न आएका पर्यटक समेत अलमलमा पर्ने गरेको बताए।

नेपाल रेष्टुरेन्ट एण्ड बार एसोसिएसनका अध्यक्ष अरनिको राज भण्डारीले ९ बजे नै प्रहरीले रेष्टुरेन्ट बन्द गराउँदा समस्या भएको बताए।

‘सरकारले बनाएको प्रोटोकल पालना गर्दा पनि राति ९–१० बजेभित्रै रेष्टुरेन्ट बन्द गर भन्दै प्रहरी आउँछ’, भण्डारीले भने, ‘कम्तीमा पनि १२ बजेसम्म रेष्टुरेन्ट खोल्न दिनुपर्छ।’

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टका अध्यक्ष अच्युत गुरागाईंले पर्यटक ठप्प रहेको अवस्थामा बैंकले ऋण नबुझाएको भन्दै ताकेता गर्दै आएको बताएका छन्।

‘बैंकले ऋण नतिरेको भन्दै सूचना जारी गरेर सम्पत्ति लिलाम गर्ने सूचना निकालेका छन्’, गुरागाईंले भने, ‘न सरकारले सहजीकरण गरेको छ न राष्ट्र बैंकले। कोरोनाबाट मारमा परेको पर्यटन संटकमा परेको छ।’

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले अनअराइभल भिसा सहजता बनाउने प्रयास गर्ने बताएका छन्।

‘अनअराइभल भिसालाई सहजता बनाउन सरकार सकारात्मक रहेको छ’, ढकालले भने, ‘आफू स्वास्थ्य मन्त्रलयमा रहँदा ७ दिन क्वारेन्टिनको व्यवस्था गरेकाले पर्यटन मन्त्रालयमा आउँदाबित्तिकै त्यो ठीक छैन भन्नु उपयुक्त हुँदैन।’

उनले प्रोटोकल पालना गरी राति पनि होटल खुल्दा कुनै समस्या नहुने बताए।

‘खोप लगाएको मानिसलाई सहज हिँड्न दिनुपर्छ भन्ने कुरामा सहमत रहेको छु। राति पनि होटल खुल्दा कुनै समस्या हुँदैन सहजता बनाउने प्रयास हुन्छ’, मन्त्री ढकालले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .