सरकारले पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणको सन्दर्भसँग जोडेर पर्यटन प्रवर्द्धन गर्न विकास समिति गठन गर्ने भएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन आदेशमार्फत विकास समिति निर्माण गर्ने प्रक्रिया सुरु गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले बताएका हुन्।
आइतबार राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७७ को अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीमा बोल्दै मन्त्री ढकालले विकास समिति गठन गर्ने प्रक्रिया सुरु भइसकेको बताएका हुन्।
पृथ्वीनारायण शाहको एकीकरणको अभियान नुवाकोटबाट शुरु भएर विजय प्राप्ति भएको र देहवसान पनि नुवाकोटमै भएकोले चिम्टेश्वर लगायतका ठाउँलाई सांस्कृतिक, धार्मिक र पर्यटकीय हिसाबले संरक्षण गर्न गठन आदेशमार्फत विकास समिति गठन गर्ने प्रक्रिया सुरु भइसकेको बताए।
सरकारले अग्रज र पुर्खाहरुले राष्ट्रनिर्माणका निम्ति गरेको योगदानको सधै सम्मान गर्ने पनि मन्त्री ढकालले बताए। पृथ्वीनारायण शाहको राष्ट्र निर्माणको योगदानको रक्षाका लागि विभिन्न संघसंस्था, अभियन्ताहरुसँग मिलेर सहकार्य गर्न सरकार तयार रहेको पनि बताए।

प्रतिक्रिया