कारोबार


उद्योग महासंघका नवनियुक्त अध्यक्ष शेखर गोल्छा : नेपालकै पहिलो उद्योगीको तेस्रो पुस्ता

उद्योग महासंघका नवनियुक्त अध्यक्ष शेखर गोल्छा : नेपालकै पहिलो उद्योगीको तेस्रो पुस्ता

नेपालखबर
मंसिर १४, २०७७ आइतबार ११:१०,

नेपालको पहिलो उद्योगी हुन् रामलाल गोल्छा। नेपालको औद्योगिक इतिहास हेर्ने हो भने पहिलो उद्योग नै विराटनगर जुट मिल हो।

जुन वि.सं. १९९३ सालमा नेपालको इतिहासमा पहिलो उद्योगको रुपमा यसको स्थापना भएको थियो। त्यही उद्योगका संस्थापक थिए रामलाल।

यसरी गोल्छाहरुको व्यावसायिक यात्रा सुरु भएको थियो। अहिले हाइड्रो, कृषि, औषधि, खाद्यान्न, स्टिललगायत हरेक उत्पादनमूलक उद्योगहरुमा गोल्छा समूहको लगानी भइसकेको छ।

नेपालको उद्योग इतिहासको जरो नै रहेको गोल्छा ग्रुपले अहिलेसम्म उद्योगीहरुको नेतृत्व भने गर्न पाएको थिएन। कार्यसमिति तथा पदाधिकारी भएर काम गरे पनि नेतृत्व नै भने गर्न पाएको थिएन।

अबको करिब साँढे दुई वर्ष भने उनै रामलाल गोल्छाका नाति शेखर गोल्छाले उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गर्नेछन्।

आइतबारदेखि नै गोल्छाले महासंघको अध्यक्षपद सम्हाल्दै छन्।

रामलालका छोरो अर्थात् शेखरका बाबु हुलासचन्द्र तिनै व्यवसायी हुन् जसले महासंघको स्थापनामा ठूलो भूमिका निर्वाह गरेका थिए।

वि.सं. २०२१ सालमा महासंघ स्थापनाको कुरा चलेपछि यसको विधान लेख्ने काम समेत सुरु गर्ने निर्णय भएको थियो। विधान लेखनको जिम्मा नै उनै हुलासचन्द्रले पाएका थिए।

पछि महासंघ बनेपछि उनी पनि कार्यसमितिमा बसे। तर यसको स्थापनामा ठूलो भूमिका खेलेका हुलासचन्द्रले अध्यक्ष बन्न पाएनन्।

उनलाई बन्न नदिएको गुनासो गोल्छा समूहको छ। गोल्छाहरुमा महासंघमा लगाव भएका उनै हुलासचन्द्रका भतिज अर्थात् हंसराजका छोरा दिवाकर गोल्छा पनि थिए। उनी पनि महासंघको प्रथम अध्यक्षसम्म भए। तर अध्यक्ष बन्न सकेनन्।

त्यसपछि गोल्छा समूहबाट महासंघमा लाग्ने व्यवसायी हुन् शेखर गोल्छा। यिनी गत निर्वाचनमा वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका थिए।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानलाई संशोधन गरिने र अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने गरी विधान बनाउने कुरा धेरै पटक चल्यो।

विधान संशोधनको लागि समिति समेत गठन भएको थियो। त्यति बेला शेखर गोल्छाले आफू गोल्छा भएकै कारणले अध्यक्ष नबनाउन खोजिएको गुनासो समेत गरेका थिए।

योभन्दा अघिका अध्यक्ष पशुपति मुरारकाको पालामा विधान संशोधन भएर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था विधानमा गरिएको थियो। जसअनुसार भवानी राणा अध्यक्ष भइन्।

तर उनको कार्यकाल नसकिँदै विधान संशोधन गराउनखोजेको शेखरले गुनासो गरेका थिए।

त्यसमा पशुपति मुरारकालगायत अन्य पूर्वअध्यक्षहरुले अडान लिँदा संशोधन प्रक्रिया रोकिएको थियो।

विधान संशोधन त रोकियो तर चैत २८ र २९ गते हुनुपर्ने महासंघको साधारणसभा र निर्वाचन कोरोनाको कारण रोकियो।

सोही कारण शेखर गोल्छा आफ्नो कार्यकालको ९ महिना ढिलो गरी अध्यक्ष पद सम्हाल्न पुगेका छन्।

शेखर गोल्छा नेपालको ठूला व्यावसायिक घरानाका व्यक्तिमध्ये एक हुन्। रामलालदेखिको सम्पत्ति र व्यवसाय २०७३ सालमा भागबण्डा भइसकेको छ।

भागबण्डापछि शेखरले आफ्नो व्यवसायको दायरा पनि निकै फराकिलो बनाइसकेका छन्।

अहिले शेखर गोल्छाले नै नेतृत्व गरेका धेरै व्यवसाय छन्। तिनमा अटोमोबाइलअन्तर्गत बजाज बाइक, केटीएम बाइक, सर्वो लुब्रिकेन्ट, युरोग्रिप टायर छ भने हुलास इलोक्ट्रोनिक्स, हुलास इन्भेष्टमेन्ट, युनियन लाइफ इन्स्योरेन्स, औषधि उद्योग पनि रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .