कारोबार


कोरोना महामारीसँग जुध्दै नेपाल टेलिकमका कर्मचारी, राजस्व संकलन ‘उत्साहजक’

कोरोना महामारीसँग जुध्दै नेपाल टेलिकमका कर्मचारी, राजस्व संकलन ‘उत्साहजक’

सन्तोष न्यौपाने
मंसिर ८, २०७७ सोमबार ९:२८,

नेपाल टेलिकमका प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीको सचिवालयका एक वरिष्ठ इन्जिनियर कोरोना भाइरससँग जुधिरहेका छन्।

अक्सिजन लेभल घटेर श्वासप्रश्वासमा समस्या मात्र भएन, उनको उपचारको लागि रेम्डिसिभिर औषधि नै चलाउनुपर्यो। अहिले केही सुधार त छ तर निको हुन अझै केही समय लाग्ने डाक्टरले बताइरहेका छन्।

अस्पतालबाट डिस्चार्जपछि पनि दुई/तीन महिनाको आराम उनलाई चाहिनेछ।

आम उपभोक्ताको अत्यावश्यक साधनको रुपमा रहेको दूरसञ्चार सेवामा खटिएका उनीजस्ता धेरै इन्जिनियर, प्राविधिक एकपछि अर्को गर्दै कोरोना संक्रमणमा परेपछि दैनिक काममा बाधा पुगेको छ।

कतिपय अस्पतालमा उपचार गरिरहेका छन् भने कति घरमै आइसोलेसनमा छन्। नेपाल टेलिकमभित्र वरिष्ठ निर्देशकसम्मलाई कोरोना संक्रमण भएको छ। वरिष्ठ इन्जिनियर, प्रबन्धकहरु धेरै संक्रमित भएका छन्।

विभिन्न परियोजनामा काम गर्ने इन्जिनियर र प्राविधिकहरु आफू मात्र होइन, पूरै परिवार संक्रमित भएका छन्। यसरी संक्रमित हुने कर्मचारीको संख्या २११ पुगिसकेको छ। १ हजार ८ सय ७२ जना कर्मचारीको पीसीआर परीक्षण गर्दा त्यति संक्रमित भेटिएको अधिकारीले बताए।

ती कर्मचारी संक्रमित हुँदा सम्पर्कमा आएकाहरु पनि क्वारेन्टिनमा बस्नुपर्यो।

एक जना व्यक्ति संक्रमित हुँदा उसको परिवार, अफिसका साथीहरु पनि प्रभावत हुने भए। एक जना कर्मचारी संक्रमित हुँदा अन्य पनि १४ दिन क्वारेन्टिनमा बस्नुपर्यो। उसको सम्पर्कमा बसेकाहरु पनि बस्नुपर्यो।

यसले गर्दा अफिसमा आएर काम गर्ने वातावरण मात्र बिग्रिएको छैन, घरमा बसेर पनि काम गर्ने वातावरण छैन।

अधिकारी आफैँ पनि वरिपरिका साथीहरुलाई कोरोना देखिएपछि तीनपटक क्वारेन्टिनमा बसिसकेका छन्।

‘अहिलेसम्म म पनि लक्किली (भाग्यवश) जोगिएको छु। भन्न सकिन्न कतिखेर संक्रमित हुने हो’, अधिकारी भन्छन्, ‘२०/२२ दिन आइसोलेसनमा बस्नुपर्यो भने निर्णय र कार्यान्वयन तहमा कति धेरै असर गर्ला?’

महामारीको अवस्थामा कर्मचारीमा यस्तै समस्याहरु आउला भनेर टेलिकमले सम्पूर्ण कर्मचारीको बीमा र तीन लाखसम्मको उपचार गर्ने प्रबन्ध मिलाएको छ।

dilliram adhikari telecom md
नेपाल टेलिकमका प्रबन्धनिर्देशक डिल्लीराम अधिकारी

‘महामारीको अवस्थामा कर्मचारी फ्रन्टलाइनमा बस्ने, जोखिम क्षेत्रमा काम गर्ने भएकाले उनीहरुको सबैको एक लाखको कोरोना बीमा गरिएको छ’, अधिकारीले भने, ‘संक्रमण भएर अस्पताल भर्ना हुनुपर्यो भने र उपचार खर्च बीमाले कभर गर्नेभन्दा धेरै भएमा थप दुई लाखसम्मको अफिसले उपचार खर्च व्यहोर्छ।’

टेलिकममा अहिले चार हजार ६० जना स्थायी कर्मचारी छन्। यसबाहेक करार र आउट सोर्सिङ कर्मचारी पनि छन्।

सबै जिल्लामा कार्यालय छन् भने हरेक प्रदेशमा निर्देशनालय छन्। केन्द्रीयस्तरमा कर्पोरेट कार्यालयबाहेक मोबाइल सेवा, ग्राहक सेवा, सूचना प्रविधिलगायतका पाँचवटा निर्देशनालय छन्।

नेपाल टेलिकमले कोरोना भाइरस संक्रमण सुरु हुँदाबित्तिकै आफ्ना कर्मचारीलाई पीसीआर टेष्ट गराउनुपरेमा भनेर टेन्डरमार्फत ल्याब छनोट गरेको थियो। जसअनुसार काठमाडौं उपत्यकाभित्रका लागि बीएण्डबी अस्पताल र बाहिरको लागि बिध ल्याब छनोट भएको थियो।

आठ महिनादेखिको कोरोना संक्रमणले आर्थिक गतिविधि कम छ। लामो समय लकडाउन र निषेधाज्ञा समेत भयो।

यस्तो अवस्थामा पनि नेपाल टेलिकमको राजस्वमा धेरै गिरावट आएको छैन। पछिल्लो त्रैमासिकमा संकलन भएको राजस्वबाट आफू सन्तुष्ट रहेको अधिकारी बताउँछन्।

‘यस्तो अवस्थामा मैले सोचेभन्दा राम्रो राजस्व उठेको छ’, अधिकारीले भने, ‘यो उत्साहजनक हो। मैले यति आशा गरेको थिइनँ।’

कम्पनीको पहिलो पहिलो त्रैमासिक (साउन–असोज) विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा राजस्व संकलन ५० करोडले कमी आएको छ।

लकडाउन र निषेधाज्ञाले गर्दा सप्लाई चेन, भ्वाइसको राजस्व, अन्तर्राष्ट्रिय कलबाट हुने राजस्व र रोमिङबाट आउने राजस्व ठूलो गिरावट भयो।

पहिलो त्रैमासिकको राजस्व १० अर्ब १० करोडको हाराहारीमा छ। गत वर्ष भने यही अवधिमा राजस्व संकलन १० अर्ब ६० करोडको हाराहारीमा थियो।

गत वर्षसँग यसपालि तुलना गर्न नसकिने अधिकारीको भनाइ छ। उनले भनेझैँ यसपालि मान्छेको आम्दानी घटेको छ। आर्थिक गतिविधि कम हुँदा खर्च गर्ने सामर्थ्य घटेको छ।

अधिकारी भन्छन्, ‘यी सबै अवस्था टेलिकम क्षेत्रमा पनि रिफ्लेक्सन हुन्छ।’

यस्तो अवस्थामा पनि सञ्चालन राजस्वमा ४५ करोडको हाराहारीमा मात्र कमी आउनु भनेको धेरै राम्रो भएको बताउँछन् उनी।

यसपालिको सकारात्मक कुरा के छ भने फिक्स्ड लाइनको राजस्व गत वर्षको तुलनामा बढेको छ। फिक्स्ड लाइन भनेको पीएसटीएन सर्भिस, एडीएसएल, एफटीटीएस हुन्। पछिल्लो समय एफटीटीएस नेटवर्कको विस्तारले गर्दा यो सम्भव भएको हो।

पछिल्लो त्रैमासिक विवरणअनुसार जीएसएम मोबाइलबाट आउने राजस्वमा ५ प्रतिशतले कमी आएको छ। अन्तर्राष्ट्रिय कलबाट आउने राजस्व, इन्टरकनेक्सनबाट आउने राजस्वमा धेरै असर गरेको छ।

‘यो घाटालाई डेटामा हुने विस्तार र फोरजी डेटाबाट कभर गर्न सकिन्छ’, अधिकारीले भने।

अब आउने त्रैमासिकमा सामान्य अवस्था रह्यो भने राजस्वमा वृद्धि हुने आशा गरेको उनले बताए।

यसपालि टेलिकमको ननअपरेटिङ राजस्व पनि घटेको छ। यो भनेको बैंकिङ क्षेत्रबाट आउने आम्दानी हो। गत वर्षहरुमा ९.६ प्रतिशतको हाराहारीको राजस्व उक्त क्षेत्रबाट आउनेमा यसपालि यो त्रैमासिकमा ६ देखि ६.५ प्रतिशतमा झरेको छ। यसपालि बैंकको ब्याजदर घटाएका कारण ‘ननअपरेटिङ’ राजस्व पनि घटेको हो।

मुख्य नाफामा ‘फरेन एक्सचेन्ज’को प्रभाव पनि पर्छ। अघिल्लो वर्ष ४५ करोड जति फरेन एक्सजेन्च (विदेशी मुद्रा) आएको थियो भने यो वर्ष त्यत्ति नै घाटा भएको छ। त्यसले गर्दा दोहोरो असर देखिएको हो।

कोरोना संकट र लकडाउनको अवस्थमा अनलाइन गतिविधि बढेर अनलाइनमा आधारित व्यवसाय बढेको भनिन्छ। घरबाट कार्यालयको काम गर्ने, अनलाइन कक्षा, इ–कमर्स बढेको भए पनि यसले दूरसञ्चार क्षेत्रको राजस्व संकलनमा भने खासै सहयोग गरेको देखिँदैन।

महामारीको अवस्थामा डेटाबाट हुने राजस्व बढेको छ। तर यो ठूलो मात्रामा छैन। अहिले टेलिकम क्षेत्रको राजस्व संकनल हेर्ने हो भने ७० प्रतिशत राजस्व भ्वाइस सेवा र ३० प्रतिशत डेटा सेवाबाट राजस्व संकलन हुन्छ।

‘३० प्रतिशतको बढ्दा र ७० प्रतिशतको राजस्व घटेको छ’, अधिकारीले भने, ‘यसले गर्दा समग्रमा राजस्व घटेको हो।’

नेपाल टेलिकमले यस महामारीको अवस्थामा मुलुकको शिक्षा क्षेत्रमा सहयोग होस् भने इ–शिक्षा प्याकेज घोषणा गरेको थियो। उक्त प्याकेज सामाजिक उत्तरदायित्वअन्तर्गत सहुलियत दरमा उपलब्ध गराएको अधिकारीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad