ad ad

कारोबार


हरियो रंगमा साइकललाई प्राथमिकता, रातोमा साइकल मात्रै

हरियो रंगमा साइकललाई प्राथमिकता, रातोमा साइकल मात्रै

नेपालखबर
कात्तिक ७, २०७७ शुक्रबार १०:८,

ललितपुर महानगरपालिकाको सडकमा रातो रङ पोतिने भएको छ। महानगरपालिकाले केवल साइकल मैत्री शहर बनाउन हरियो रङ पछि रातो रङ लगाउने भएको हो।

हिमालय होटल आसपास क्षेत्रमा रातो रङ पोतेर साइकल लेनको चिह्न राखिने भएको प्रमुख चिरीबाबु महर्जनले बताए।

उनले भने, ‘यस रङ लगाएको सडकमा साइकल मात्रै हिँड्न पाउनेछन्। यसमा अन्य सवारीसाधन भने हिँड्न पटक्कै पाउने छैनन्।’
गत वर्षझैँ यस वर्ष पनि साइकल लेन निर्माणका लागि टेन्डर भइसकेको महर्जनले जानकारी गराए।

हाल ललितपुर महानगरपालिकाको वाग्मती पुलदेखि लगनखेल तथा पुल्चोकदेखि ग्वार्को र लगनखेलबाट मंगलबजार हुँदै पाटन दरबार आसपास क्षेत्रका सडकमा हरियो रङ कहीँ पोतियो र कहीँ पोतिँदैछ। अहिले पोतिँदै गरेको हरियो रङमा साइकल चढ्नेलाई मात्र प्राथमिकता दिइने भनिए तापनि अब पोतिने रातो रङमा केवल साइकल मात्रै गुड्न पाउने महर्जनको भनाइ छ।

‘अहिले महानगरभित्र ५.१ किलोमिटर साइकल लेन बनेको छ। आफू काठमाडौँ उपत्यका मेयर फोरमको उपाध्यक्ष भएका नाताले फोरमको बैठकमा पटकपटक अन्य मेयरसमक्ष साइकल लेनलाई विस्तार गरेर आफ्नो नगर तथा महानगरतर्फ लैजान सुझाव दिइरहेको छु’ उनले भने, ‘एकतर्फ पहिलो चरणमा वाग्मती पुल हुँदै बूढानीलकण्ठ अनि त्यसपछि दोस्रो चरणमा त्यहाँबाट शिवपुरी र अर्कोतर्फ लगनखेल हुँदै गोदावरी उद्यानसम्म लेन बनाएर लान सबै मेयरसमक्ष मेरो आग्रह छ।’

ललितपुरको गोदावरी उद्यानदेखि काठमाडौँको शिवपुरीसम्म लगभग ३५ देखि ४० किलोमिटर साइकल लेन बनाइनेमा अन्य नगरका प्रमुख पनि सकारात्मक नै रहेका प्रमुख महर्जनले बताए। हाल सडकमा दैनिक चलिरहेका यातायातले बढी मात्रामा वातावरण प्रदूषण गर्ने हुँदा साइकलको प्रयोगले वातावरण स्वच्छ हुनेछ।

ललितपुर महानगरपालिकाले साइकल लेन निर्माण गरिरहेता पनि ऐन भने हालसम्म बनाउन सकेको छैन। रासस

 ललितपुर महानगरले बनायो १० किमि सडकमा साइकल लेन, दोस्रो चरणमा २२ किमिको ठेक्का

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .