ad ad

कारोबार


सार्वजनिक यातायातमा व्यवसायीको मनोमानी : यात्रु भरी, भाडा दोब्बर, छैन सुरक्षा मापदण्ड पालना

सार्वजनिक यातायातमा व्यवसायीको मनोमानी : यात्रु भरी, भाडा दोब्बर, छैन सुरक्षा मापदण्ड पालना

वसन्त अर्याल
असोज ११, २०७७ आइतबार ८:२५,

असोज १ देखि खुलेको सार्वजनिक यातायात मा व्यवसायीहरुले सरकारले जारी गरेको सुरक्षा मापदण्डको गम्भीर उल्लंघन गरेका छन्।

उनीहरुले सुरक्षा मापदण्ड पालनामा लापरबाहीदेखि यात्रुसँग दोब्बरसम्म भाडा असुल गरिरहेका छन्।

यातायात व्यवसायीले सिट क्षमताको ५० प्रतिशत यात्रु बोक्न पाउने ठाउँमा शतप्रतिशत राख्ने गरेका छन्। छोटोदूरीका यातायात व्यवसायीले यात्रु पाएसम्म सिट क्षमताको ५० प्रतिशत मात्रै होइन, उभ्याएर समेत यात्रु लाने गरेका छन्।

लामो दूरीमा बसले ५० प्रतिशत यात्रु बोके पनि १६ सिट क्षमताका हाइसले १२ जनासम्म बोक्ने गरेका छन्। पहिलाको तुलनामा ५० प्रतिशत मात्रै भाडा लिन पाउनेमा दोब्बर अर्थात् शतप्रतिशत बढी भाडा लिने गरेको पीडित यात्रुले गुनासो गरेका छन्।

‘काठमाडौंबाट चितवन आएको हाइसले १ हजार भाडा लियो’, एक यात्रुले नेपालखबरसँग भने, ‘पहिला बढीमा ५ सय लिन्थ्यो।’

कोभिड १९ को कारण अत्यावश्यक काम भएमात्रै सार्वजनिक सवारीसाधन चल्ने गरेका छन्। तर यातायात व्यवसायी यात्रु पाएसम्म ‘कोच्ने’ र भाडा दोब्बर बढी असुलिरहेका छन्।

काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातले यात्रु पाएसम्म एकछिनमा खालि हुन्छ भन्दै यात्रुलाई सवारीसाधनमा चढाउने गरेका छन्।

जथाभावी यात्रु चढाउँदा कोभिड १९ को माहामारीले विकराल रुप लिने चेतावनी जनस्वास्थ्यविदहरुले दिए पनि सार्वजनिक यातायातमा गम्भीर लापरबाही भएको छ।

यातायात व्यवसायी भने सार्वजनिक यातायात नचलेको अवस्थामा पनि कोभिड फैलिएको भन्दै सार्वजनिक यातायात मात्रै कोभिड फैलिने मुख्य कारण नभएको दाबी गर्छन्।

traffic play card

के गर्दै छ ट्रफिक प्रहरी ?
कोभिड १९ सार्वजनिक यातायात सञ्चालन कार्यविधिले यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीलाई पालना भयो भएन अनुगमन तथा कारबाही गर्ने जिम्मेवारी तोकेको छ। सुरुमा यातायात व्यवस्था विभागले ट्राफिक प्रहरीसँग मिलेर अनुगमन गर्दा केही व्यवस्थित थियो।

‘अहिले ट्राफिक प्रहरीले जति सक्छ अनुगमन गरिरहेको छ’, ट्राफिक प्रहरी प्रवक्ता तथा एसपी रामेश्वर प्रसाद यादवले भने, ‘सबै साधनभित्र कति मानिस चढेका छन् हेर्न सम्भव छैन। हामीले भेटेकालाई कारबाही गरेका छौँ।’

उनले शनिबार मात्रै १ सयभन्दा बढी सवारीसाधनलाई कारबाही गरेको बताए।

‘सयभन्दा बढी सवारीलाई कारबाही गरेका छौँ। केहीलाई जरिवाना त केहीलाई सम्झाइबुझाइ गरी छाडेका छौँ’, प्रवक्ता यादवले भने।

उनले कोभिड १९ को संक्रमण फैलिन्छ भन्ने जानकारी हुँदा पनि मापदण्डभन्दा बढी यात्रु राख्ने चालक तथा सहचालक समाजप्रति गैरजिम्मेवार भएको बताए।

‘यातायात व्यवसायीलाई मार नपरोस् भनेर सरकारले ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने व्यवस्था गरेको छ’, यादवले भने, ‘यातायात व्यवसायी, चालक, सह–चालकमा जिम्मेवारीको भावना हुनु आवश्यक छ।’

उनले ट्राफिक प्रहरीले कारबाही गरेर मात्रै नहुने भन्दै यात्रु र यातायात व्यवसायी सजग हुनुपर्ने बताए।

यातायात व्यवसायीले किन पालना गर्दैनन् मापदण्ड ?
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यातायात व्यवसायीलाई मापदण्ड पालना गरी सार्वजनिक यातायात चलाउन आह्वान गरेको बताए।

‘महासंघमा आबद्ध व्यवसायीलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी यातायात सेवा सञ्चालन गर्न आह्वान गरेका छौँ’, सिटौलाले भने, ‘महासंघ बाहिर छरिएर रहेका व्यवसायीले जथाभावी गरेका छन्। जोसुकैले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दैन। त्यसलाई कारबाही गर्न ट्राफिक प्रहरी र यातायात विभागलाई भनेका छौँ।’

उनले यातायात व्यवसायी मात्रै नभई सबैभन्दा पहिले यात्रु सचेत हुनुपर्ने बताए।

‘कुनै पनि चालक÷सहचालकले जबर्जस्ती कसैलाई गाडीमा राख्दैन। भीडभाड छ भने अर्को गाडी कुर्ने बानी बसाल्नुपर्यो। पहिलो आफ्नो सुरक्षा हेर्नुपर्छ’, सिटौलाले भने।

उनले सरकारले तोकेभन्दा बढी भाडा नलिएको दाबी गरे।

‘सरकारले ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था गरेको छ’, उनले भने, ‘त्यो सबैले पालना गर्नुपर्छ। कसैले बढी भाडा लिए ट्राफिक प्रहरीले कारबाही गर्छ।’

ट्राफिक प्रहरीले भने कुनै सार्वजनिक यातायातले बढी भाडा लिए ट्राफिक प्रहरीलाई सम्पर्क गर्न आह्वान गरेको छ।

‘हामी सबै ठाउँमा उपस्थित हुन सक्दैनौँ। हामीलाई यात्रुले सहयोग गरे सवारीलाई ठाउँको ठाउँ कारबाही गर्छौँ’, प्रहरी प्रवक्ता यादवले भने, ‘५० प्रतिशतभन्दा बढी यात्रु राखेको छ वा ५० प्रतिशतभन्दा बढी भाडा लिएको भए १०३ नम्बरमा फोन गरी सहयोग गर्न अनुरोध छ।’

yatru to n from ktm

उपत्यका बाहिरिनेभन्दा भित्रिने बढी
चैत ११ देखि लकडाउनका कारण बन्द भएको लामो दूरीको यातायात असोज १ बाट खुलेको छ। लामो दूरीको यातायातबाट काठमाडौं उपत्यका बाहिरिनेभन्दा काठमाडौं भित्रने बढी छन्।

ट्राफिक प्रहरीको तथ्यांकअनुसार १० गतेसम्म १ लाख ७४ हजार ८ सय यात्रु उपत्यका भित्रिएका छन्। १० दिनमा ४१ हजार ६ सय सवारीमार्फत उक्त यात्रु भित्रिएका हुन्।

त्यसैगरी उपत्यकाबाट ४१ हजार २ सय सवारी बाहिरिएका छन्। १० दिनमा १ लाख ६५ हजारले काठमाडौं उपत्यका छाडेका छन्।

सामान्य अवस्थामा दैनिक काठमाडौं उपत्यकामा आवागमन ८० हजारदेखि ९० हजार रहन्थ्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .