ad ad

कारोबार


तेस्रो देशबाट वस्तु आयात गरेर भारत निकासीमा ठूलो लगानी गर्दा टाट उल्टियो मगन्तुराम ग्रुप

तेस्रो देशबाट वस्तु आयात गरेर भारत निकासीमा ठूलो लगानी गर्दा टाट उल्टियो मगन्तुराम ग्रुप

दीपक भट्ट
असोज ८, २०७७ बिहिबार ११:५२,

भारतले विदेशबाट आयात हुने केही वस्तुमा प्रतिबन्ध लगाउँदै आएको छ। आफ्नो उत्पादनलाई नै प्राथमिकता दिन भारतले समय–समयमा आफ्नो यस्तो नीतिहरु परिर्वतन गर्दै आएको छ।

अन्य देशबाट आउने वस्तुलाई रोकावट गरे पनि नेपालबाट निर्यात हुने सोही प्रकारको वस्तुलाई भने केही खुल्ला गर्ने गरेको छ।

त्यसको फाइदा केही नेपाली व्यवसायीहरुले लिँदै आएका छन्। नेपाली व्यवसायीहरुले तेस्रो देशबाट आयात गरेर त्यही वस्तु फेरि भारत पुर्याउने गरेका छन्।
पाम आयल, केराउ, मरिच, सुपारी र छोकडा यसरी तेस्रो देश हुँदै भारत पुर्‍याइन्छन्।

अहिले पनि यस्ता वस्तु निर्यात गर्नमा नेपालका ठूला व्यवसायी सक्रिय छन्। यस्तो व्यावसायिक चक्करमा लाग्दा वर्षौँदेखि व्यवसाय गर्दै आएको एउटा घराना टाट उल्टिनपुगेको छ।

त्यसो त व्यवसायको धरातल कमजोर भयो भने दिगो हुँदैन भन्ने व्यवसायी स्वयंले बुझेको र बुझ्नैपर्ने कुरा हो तर २०४० सालदेखि व्यवसायमा संलग्न मगन्तुराम ग्रुपले त्यसलाई बुझ्न सकेन।

अब टाट उल्टिने अवस्था आएपछि उसको सबै सम्पत्ति बैंकले लिलामी गर्ने प्रक्रिया समेत अपनाइसकेको छ।

यसरी सुरु भएको थियो मगन्तुरामको व्यवसाय
मगन्तुराम अग्रवालले ट्रेडिङबाट आजभन्दा ३७ वर्षअघि नै व्यवसाय सुरु गरेका थिए। उनले व्यवसायलाई उत्पादनमुखी बनाउने गरी उद्योग खोल्ने काम समेत गरे।

आफ्ना पाँचभाइ छोरा सबैलाई व्यवसायमा लगाए। फलतः यो ग्रुपले व्यावसायिक सफलता हात पार्दै ठूलो आकार लिइसकेको थियो।

एकपछि अर्को सफलतासँगै यो ग्रुपले अन्नपूर्ण सोप एन्ड केमिकल, नारायण भेजिटेबल, गणेश प्लाष्टिक, जयकाली प्याकेजिङ, लक्ष्मी फुटवेयर, अन्नपूर्ण आइरनलगायत उद्योगहरु सञ्चालन गर्यो। यसले मगन्तराम ग्रुपलाई पनि व्यावसायिक घरानामा रुपान्तरण गरिदियो।

मोरङ चेम्बर अफ इण्डष्ट्रिजका अध्यक्ष भीम प्रसाद घिमिरेकै भनाइ सापटी लिने हो भने यो विराटनगरकै ठूलो व्यावसायिक ग्रुप बनिसकेको थियो।

पतनको सुरुवात
यो ग्रुपको घटस्थापना र फूलपाती इन्टरप्राइजेज लगायतका ट्रेडिङ कम्पनीहरु पनि थिए।

यिनै कम्पनीले वस्तु आयात र निर्यात गर्ने काम गर्नथाले। त्यसमा पाम आयल तेस्रो मुलुकबाट आयात गरेर भारत पुर्याउने काम सुरु भयो।

पाम आयल व्यापारले केही समय त उच्च प्रतिफल दियो। नदिने कुरै भएन। यो व्यापारमा उच्च प्रतिफलको आशामा नेपालको ठूला व्यावसायिक घराना अहिले पनि आबद्ध नै छन्।

तर मगन्तुराम ग्रुपले इन्डोनेसियाबाट २०५७ सालमा आयात गरेको पाम आयलले भने यो ग्रुपलाई ठूलै झट्का दियो। यसमा यो कम्पनीको गल्ती पनि थिएन। विदेशी कम्पनीले नै गरेको बदमासीको भागिदार यो ग्रुप हुनुपर्यो।

इन्डोनेसियाको कम्पनीले नै पाम आयलमा जनावरको बोसो मिसावट गरेको थियो। त्यो कुरा कोलकाताको बन्दरगाहमै थाहा भयो। जसले यो ग्रुपलाई एकैपटक २० करोड रुपैयाँ घाटा लाग्यो। त्यहाँबाट यो ग्रुप खस्किएको अध्यक्ष घिमिरे बताउँछन्।

हुन त त्यति बेलासम्म यो ग्रुपको हाइफाइ राम्रै भइसकेको थियो। सरकारी निकायका कर्मचारीहरुसँगको संगत, राजनीतिक व्यक्तिहरुको संगत धेरै ठूलो थियो।

उनीहरुलाई समेत राम्रो खर्च गर्ने ग्रुपमा पर्थ्यो मगन्तुराम। साथै सामाजिक काममा पनि राम्रै खर्च गर्थ्यो।

तर जब जब व्यावसायिक क्षमता खस्किनथाल्यो, ग्रुपले आर्जन गरेको हाइफाइ भने छोड्न सकेन। त्यसपछि उल्टो यात्रामा जानथाल्यो।

अध्यक्ष घिमिरे भन्छन्, ‘यो ग्रुपले बैंकको लोन बढाएर पनि आफ्नो व्यवसायलाई माथि लान खोज्यो तर त्यो लोन समेत डुब्दै गएपछि टाट नै पल्टिने अवस्था सिर्जना भयो।’

अहिले यो ग्रुपका कुनै पनि उद्योगहरु सञ्चालनमा छैनन्।

यो ग्रुपको अचल सम्पत्ति समेत बैंकले लिलामी गर्ने प्रक्रिया अपनाएको छ। राष्ट्रिय वाणिज्य बैंकले यो ग्रुपले लिएको ऋण असुलीका लागि भौतिक सम्पत्ति लिलामीको सूचना निकालेको छ।

नौवटा उद्योग र व्यापारिक प्रतिष्ठानका नाममा रहेको अचल सम्पत्ति लिलामीको सूचना गत हप्ता बैंकले निकालेको हो।

सूचनाअनुसार ३५ दिनभित्र यो ग्रुपसम्बद्ध ऋणीहरुलाई कर्जा सुविधा चुक्ता गर्न भनिएको छ। ८७ करोड २४ लाख ३६ हजार ६ सय ५७ रुपैयाँ धितो लिलामी हुने सूचनामा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .