कारोबार


‘नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत नै, एसियाली अर्थतन्त्रमा ६ दशकयताकै पहिलो संकुचन’

‘नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत नै, एसियाली अर्थतन्त्रमा ६ दशकयताकै पहिलो संकुचन’

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार ८:४१,

एसियाली विकास बैंकले एसिया–प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदरको ताजा अनुमान प्रक्षेपण गरेको छ। बैंकले एसियाली विकास अपडेट सार्वजनिक गर्दै सदस्य देशको आर्थिक वृद्धिदरको अनुमान तथ्यांक प्रस्तुत गरेको हो।

ताजा तथ्यांकअनुसार नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने अनुमान गरिएको छ। यसअघि अप्रिलमा ५.३ र जुनमा २.३ प्रतिशत अनुमान गरिएको थियो। बैंकका अनुसार दक्षिण एसियाको आर्थिक वृद्धिदर माइनस ६.८ प्रतिशत रहनेछ ।

दक्षिण एसियामा माल्दिभ्स (माइनस २०.५ प्रतिशत), भारत (माइनस ९.० प्रतिशत), श्रीलंका (माइनस ५.५ प्रतिशत), अफगानिस्तान (माइनस ५.० प्रतिशत) र पाकिस्तान (माइनस शून्य दशमलव ४ प्रतिशत) ऋणात्मक रहने आँकलन गरिएको छ। तर बंगलादेश (५.२ प्रतिशत), भुटान (२.४ प्रतिशत) र नेपाल (२.३ प्रतिशत) को अर्थतन्त्रले भने धनात्मक आर्थिक वृद्धिदर हासिल गर्नेछन्। तर सन् २०२१ मा भने समग्र दक्षिण एसियाले ७.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ।

यसबाहेक एसियाली अर्थतन्त्रमध्ये मध्यएसियाको माइनस २.१ प्रतिशत, पूर्वी एसियाको १.३ प्रतिशत, दक्षिणपूर्वी एसियाको माइनस ३.८ प्रतिशत, प्रशान्त क्षेत्रको माइनस ६.१ प्रतिशतको आर्थिक वृद्धिदर तथा संकुचन हुने अनुमान गरिएको छ।

विकासोन्मुख एसियाको अर्थतन्त्रमा संकुचन
नयाँ तथ्यांकअनुसार यो वर्ष विकासोन्मुख एसियाली अर्थतन्त्रमा ६ दशकयता संकुचन आउनेछ। यसका बाबजुद अर्को वर्ष भने पुनः अर्थतन्त्रले वृद्धिको लय समात्नेछ।

विकासोन्मुख एसियाको यो वर्ष अर्थतन्त्रमा माइनस शून्य दशमलव सात प्रतिशतको संकुचन आउनेछ। यो सन् १९६० यताकै ऋणात्मक आर्थिक वृद्धिदर हो। तर सन् २०२१ मा भने अर्थतन्त्रले लय समात्दा ६.८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान छ।

महामारीपछि भी शेपमा नभई एल शेपमा आर्थिक पुनरुत्थान हुने बैंकले अनुमान गरेको छ। यस क्षेत्रका तीन चौथाइ अर्थतन्त्रले यस वर्ष संकुचनको सामना गर्नुपर्ने बैंकले जनाएको छ। यस क्षेत्रको आर्थिक वृद्धिमा विश्व महामारी कोरोनालाई मुख्य कारण मानिएको बैंकले जनाएको छ। यस क्षेत्रका अर्थतन्त्रले आयमा सहयोग गर्न ३६ खर्ब डलर अर्थात् कुल जीडीपीको १५ प्रतिशत नीतिगत सहयोगको घोषणा गरेको पनि जनाइएको छ।

कोरोनाबाहेक भूराजनीतिक तनाव, चीन र अमेरिकाबीचको व्यापार र प्रविधि तनावलगायतका कारण पनि यस क्षेत्रको अर्थतन्त्रमा नराम्रो असर पर्ने बैंकले औँल्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .