ad ad

कारोबार


सगरमाथामा झण्डा फहराउने राजकुमारको लक्ष्य, चार्टर्ड जहाजमा आएर दुई महिना नेपालमै

सगरमाथामा झण्डा फहराउने राजकुमारको लक्ष्य, चार्टर्ड जहाजमा आएर दुई महिना नेपालमै

वसन्त अर्याल
भदौ १८, २०७७ बिहिबार ११:५६,

बहराइनका राजकुमार नासिर बिन हमाद अल खालिफा करिब दुई महिनाको लागि नेपाल आउँदै छन्। बहराइनको सेनाको कमाण्डर समेत रहेका राजकुमार १८ जनाको टोलीको नेतृत्व गरी हिमाल आरोहणका लागि नेपाल आउनलागेका हुन्।

कोभिड १९ को कारण केही महिनायता हिमाल आरोहणमा रोक लगाइएको भएपनि पर्यटन विभागले केही दिनअघि ६ जनाको नेपाली टोलीलाई शुक्रबार माउन्ट वरुण आरोहणको अनुमति दिएको छ। त्यसअघि नै पर्यटनमन्त्री योगेश भट्टराईको प्रस्तावमा मन्त्रीपरिषदले रोयल गार्ड बहराइनको टिमलाई चार्टर्ड उडान गरी नेपाल आउन अनुमति दिइसकेको छ।

हिमाल आरोहण गर्ने रोयल गार्ड बहराइनको टोलीको नेपालमा स्थानीय एजेन्सी सेभेन समिट ट्रेकर्स हो। जसको अध्यक्ष विश्वका ८ हजार मिटर अग्ला सबै १४ हिमाल चढ्ने पहिलो नेपाली मिङ्मा शेर्पा हुन्।

शेर्पाका अनुसार राजकुमारको टोली नेपालमा सेप्टेम्बर १६ अर्थात् यही भदौ ३१ मा आउनेछ। अहिले कोभिड १९ को संक्रमको बेला विदेशबाट नेपाल आउनेले स्वास्थ्य मन्त्रालयको प्रोटोकल पालना गरेरै हिमाल आरोहण गर्नेछन्।

Manaslu Himal

उनीहरुले ८ हजार एक सय ६३ मिटर उचाइको मनास्लु र ६ हजार एक सय १९ मिटरको लोबुचे हिमाल आरोहण गर्नेछन्। जसमा नेपालका उत्कृष्ट गाइडले उनीहरुलाई सहयोग गर्नेछन्।

‘करिब ६० दिन नेपाल बस्ने योजना छ’, शेर्पाले भने, ‘जसमा लोबुचे हिमाल चढ्न २ हप्ता र मनास्लु १ महिना लाग्छ।’

नासिरको टोली राजघरको र सैनिक आरोहण दल भएकाले सरकारी खर्चमै नेपाल आउनलागेका हुन्। १८ जनामध्ये ३ जना बेलायती नागरिक हुन् जो रोयल गार्डकै सदस्य रहेको बताइएको छ।

nasir hamad 65 copy2बहराइनको झण्डा हस्तान्तरण गर्दै राजकुमार 

‘वसन्त ऋतुमा नियमित जहाजमै आउने योजना बनाएका थिए तर कोभिड १९ को कारण त्यो बेला आउनसकेनन्, अहिले जहाज चार्टर्ड गरेर नेपाल आउनलागेका हुन्’, शेर्पाले नेपालखबरसँग भने, ‘सुरुमा काठमाडौं आएर केही दिन बसेपछि पहिला लोबुचे हिमाल चढ्छन्। त्यसपछि मनास्लु चढ्छन्।’

काठमाडौं आएपछि यो टोली एक हप्ता क्वारेन्टिनमा बस्नेछ, त्यसपछि हेलिकोप्टरमा खुम्बु हुँदै मनास्लु वेश क्याम्प जानेछ।

बहराइनका राजकुमारको यो सैनिक टोली पहिलोपटक नेपाली हिमाल चढ्न लागेको हो। उनीहरुले बहराइनको झण्डा नेपालको सगरमाथामा फहराउने योजना बनाएका छन्।

‘सगरमाथा चढ्नको लागि ट्रेनिङजस्तै हो, मनास्लुको पिकमै पुग्नुपर्छ भन्ने छैन’, उनीहरूले हिमाल चढ्न सक्नेबारे शेर्पा भन्छन्, ‘सके पिकमै पुग्छन् नभए जहाँसम्म सक्छन्, त्यहाँसम्म जान्छन्। अहिले मनास्लुको ७ हजार मिटर उचाइसम्म पुगे, अर्को सिजनमा सगरमाथा आरोहण गर्न पाउँछन्।’

नेपालमा हिमाल आरोहण गर्ने एउटा टिमलाई बहराइन रोयल गार्डका कमाण्डर तथा बहराइन ओलम्पिक कमिटीका अध्यक्ष नासिर विन हमाद अल खालिफाले विदाइ गरिसकेका छन्।

नासिरले नेपाल आउने टिमलाई विदाइ गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘रोयल गार्डको एलिट टिमलाई हिमाल आरोहणका लागि विदाइ! उनीहरुले बहराइनको झण्डा र रोयल गार्डको ब्यानर सगरमाथाको शिखरमा फहराउने मिसन पूरा गर्नेछन्। मिसनको पहिलो चरणमा केही आरोहण अहिले र अर्को वर्ष सगरमाथा शिखरसम्म पुग्नेछन्। अल्लाहले उनीहरुको रक्षाा गरून्।’

नेपाली दूतावास बहराइनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पठाएको पत्रमा आरोहणको कमाण्डिङ नासिर विन हमाद अल खालिफाले गर्ने उल्लेख गरेको पर्यटन मन्त्रीको सचिवालयले जनाएको छ।

स्थानीय एजेन्सी सेभेन समिटका आरोहण म्यानेजर छाङ दावा शेर्पाले राजकुमारको नाम आफूहरुलाई नदिएको बताए। 

‘बहराइनका राजकुमार आउने पक्का हो तर उहाँको नाम हामीलाई थाहा छैन, अरु १७ जनाको नाम हामीलाई उपलब्ध छ’, दावा शेर्पाले भने।

आरोहणका लागि राजकुमारसहित बेलायती नागरिकहरु रिचार्ड वारेन म्याकनेल, फिलिप क्लो र क्रिस्टोफर एन्थोनी पनि टिमका सदस्य छन्।

उक्त टिममा बहराइनका इब्राहिम मोहम्मद अब्दुल्लाह इब्राहिम मोहम्मद, मोहम्मद अलि जासिम अहमद अल्बोइनाइन, अराफात हमुद नाजी गुर्वाह, इब्राहिम खली इब्राहिम जायेद मोहम्मद अल्जाजाफ, अहमद सइद इसा अल्काबी, आरिफ फिरोज शाह मुराद कलन्दर गुलाम, मोहम्मद अदुल रहमान युसुफ अल्कावारी, खालिद अलि हसन इब्राहिम हसन अल्दोसेरी, अब्दुलाजिज राफेया अब्बर खालिफ अलावेद, खालिद सुल्तान मोहम्मद अब्दुल्लाह अल्शिर्वाई, मुराद मोहम्मद युसुफ अब्दुल सायेद, इब्राहिम अलि सालेम जावेर, सउद हमाद मुबारक हमाद इद र मोहम्मद इसा अब्दुल्लाह युसुफ अल्क्विस छन्।

बहराइन गल्फ क्षेत्रको आइल्याण्ड मुस्लिम राष्ट्र हो, जहाँ करिब ४० हजार नेपाली कार्यरत छन्। राजतन्त्रात्मक शासन व्यवस्था रहेको यो मुलुकको जनसंख्या १५ लाख मात्रै रहेको छ। तेल र ग्यासको व्यापार बहराइनको मुख्य अर्थतन्त्र हो भने बैंक र पर्यटनमा यो देशले ठूलो लगानी गर्दै आएको छ।

कोभिड १९ ले गर्दा नेपाल भ्रमण वर्ष रद्द भएको र पर्यटन क्षेत्र थला परेका बेला राजकुमारको टोलीलाई आरोहण अनुमति दिने पर्यटन मन्त्रालयको निर्णयलाई यस क्षेत्रका विज्ञहरूले उत्साहजनक मानेका छन्।

‘कोभिड १९ को अवस्थामा भीआईपी आरोहणले विश्वको ध्यान खिच्छ’, नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले भने।

कोभिड १९ को अवस्थामा पनि एउटा देशको राजकुमारले हिमाल चढेको कुरा विश्वभर फैलिने भन्दै त्यसले नेपालको पर्यटन क्षेत्रमा विश्वको ध्यान खिच्ने विश्वास गरे।

उनले इमर्जेन्सी वा महामारीको समयमा पनि भीआईपी व्यक्ति हिमाल आरोहण गर्नु सबैको चासो हुने बताए। सेभेन समिटका अध्यक्ष शेर्पाले कोभिड १९ को अवस्थामा पनि हिमाल चढ्ने रुचि देखेर अचम्म लागेको बताए।

‘यस्तो महामारीको अवस्थामा पनि राजकुमारले नेपालको हिमाल चढ्दा बाहिर राम्रो सन्देश जान्छ’, शेर्पाले भने, ‘सरकारले १५/२० करोड खर्च गर्दा बरु यति प्रचार नहोला, उनीहरुको एउटा ट्रिपले विश्वभर सन्देश जान्छ।’

सेभेन समिटले हिमाल आरोहण गर्ने टोली आएपछि पर्यटन विभागबाट अनुमति लिनेछ र दुईवटा टोली बनाएर हिमाल चढ्ने बताएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .