ad ad

कारोबार


अनलाइन कक्षाको इन्टरनेट प्याकेजमा अस्वस्थ प्रतिस्पर्धा, प्याब्सनले विद्यार्थीलाई भन्यो, ‘एनसेलको मात्र प्याकेज लिनू’

अनलाइन कक्षाको इन्टरनेट प्याकेजमा अस्वस्थ प्रतिस्पर्धा, प्याब्सनले विद्यार्थीलाई भन्यो, ‘एनसेलको मात्र प्याकेज लिनू’

सन्तोष न्यौपाने
साउन २१, २०७७ बुधबार ९:५९,

लकडाउनले मुलुकभरका विद्यार्थीहरुले अनलाइन कक्षा सञ्चालन भइरहँदा कुन टेलिकम सेवा प्रदायकको इन्टरनेट प्रयोग गर्ने भन्ने विषयमा ‘चलखेल’ सुरु भएको छ।

मुलुकभर ६ हजारभन्दा धेरै स्कुलका १८ लाख विद्यार्थी भएको निजी तथा आवासीय विद्यालयहरूकाे छाता संगठन नेपाल (प्याब्सन)ले आफ्ना सदस्य स्कुलहरुलाई कक्षा सञ्चालनको निम्ति एनसेलको सिम प्रयोग गर्नु भन्ने परिपत्र जारी गरेपछि यो विषय बाहिर आएको हो।

केही दिनअघि प्याब्सनले नेपाल टेलिकमलाई ढिलासुस्तीको आरोप लगाउँदै अबदेखि आफ्ना सम्पूर्ण स्कुल तथा अभिभावकले एनसेलको प्याकेज प्रयोग गर्नुपर्ने परिपत्र जारी गरेपछि विवादसमेत भएको थियो।

प्रत्येक स्कुललाई परिपत्र जारी गर्दै आफ्नो वेबसाइटमा समेत राखेपछि यता नेपाल टेलिमकले उक्त कार्यको विरोध गर्दै विज्ञप्ति जारी गरेको थियो।

नेपाल टेलिकमले आफूसँग छलफल भइरहेको र सम्झौता गर्ने तयारी गरिरहेको बेलामा प्याब्सन प्रतिनिधिले एकाएक एनसेलसँग सम्झौता गरेको भन्दै दोषारोपणसहित विज्ञप्ति जारी गरेपछि थप विवाद चुलिएको थियो।

नेपाल टेलिकमले प्याब्सनको कार्य अस्वाभाविक देखिएको बताएको छ। ‘हामीसँग छलफल हुँदाहुँदै एकाएक दोषारोपण गरेर एनसेलसँग जोडिनु स्वाभाविक देखिँदैन’, टेलिकमका एक उच्च अधिकारीले भने, ‘जसको सेवा लिए पनि स्वतन्त्रता थियो तर टेलिकमलाई किन दोषारोपण गर्नुपर्यो।’

एउटा कम्पनीसँग सम्झौता गर्दा अर्को प्रतिस्पर्धी कम्पनीलाई दोष दिनु भनेको कतैबाट ‘प्रायोजित’ भएको भन्ने आशंका टेलिकमको छ।

प्याब्सनका अध्यक्ष टिकाराम पुरीले एनसेलले सरल दरमा प्याकेज दिएकाले एनसेलसँग सम्झौता गरेको बताए।

‘नेपाल टेलिकमसँग छलफल भइरहेको थियो’, नेपालखबरसँग कुरा गर्दै पुरीले भने, ‘उहाँहरुले समयमा काम गर्नु भएन हामीलाई ढिला भयो।’

उनले सुरुमा केही प्राविधिक कमजोरी भएको र त्यसलाई सच्याइसकेको बताए। ‘कमजोरी भयो भनेर सच्याइसकेका छौँ’, पुरीले भने, ‘अपुष्ट कुरा बाहिर निस्किएको हो। नेपाल टेलिकमको विरोध गरेका हैनौँ।’

नेपाल टेलिकमका प्रबन्धनिर्देशक डिल्ली अधिकारीले पनि प्याब्सनसँग छलफल भएको र सस्तो प्याकेज दिन तयार रहेको बताए।

‘हामी विद्यार्थीको सुन्दर भविष्यको लागि सस्तो इ–शिक्षा प्याकेज दिन तयार थियौं र छौँ’, नेपाल टेलिकमका प्रबन्धदिर्नेशक डिल्ली अधिकारीले भने, तर उहाँहरु किन त्यसरी विज्ञप्ति जारी गर्नुभयो हामीलाई थाहा भएन।’

के हो विवाद?
यो खास प्याब्सनअन्तर्गतका स्कुलहरुले कुन सेवा प्रदायकको इन्टरनेट प्याकेज लिने भन्ने विषय हो।

नेपाल टेलिकम र एनसेल दुवैले हाल सञ्चालन भइरहेका अनलाइन कक्षालाई लक्षित गरेर ‘इ–लर्निङ’ प्याकेजहरु सार्वजनिक गरेका छन्। मुलुकभरका लाखौं विद्यार्थीले त्यही प्याकेज लिएर अनलाइन कक्षा लिइरहेका छन्।

यसै सिलसिलमा प्याब्सनले आफ्ना सदस्यहरुलाई सस्तो प्याकेज दिन भनेर नेपल टेलिकमसँग छलफल जारी राखेको थियो। नेपाल टेलिकमले पनि कुनै पनि मोडलको प्याकेज दिन प्याब्सनसँग मौखिक सहमति गरेको थियो।

टेलिकमका अनुसार प्याब्सनअन्तर्गतका ६ हजार ३ सयभन्दा धेरै स्कुलमा अध्ययनरत १८ लाख विद्यार्थीलाई संस्थात प्याकेज बनाएर दिने तयारी गरिरहेको थियो। उक्त प्याकेज ठीक छ भनेर प्याब्सनका प्रतिनिधिले पनि भनेको टेलिकमले जनाएको छ।

प्याब्सनले जुम मात्र चल्ने प्याकेज दिन टेलिकमलाई भनेको थियो। जुम मात्र चल्ने बनाउन विभिन्न प्राविधिक पक्षलाई हुने भएकाले अनलाइन कक्षालाई पुग्ने गरी डेटा र समय थप गरिदिने समेत सहमति भएको थियो।

प्याब्सनले आफ्नो वेबसाइटमा नेपाल टेलिकमबाट प्याकेज उपलब्ध भएको र यही प्याकेज प्रयोग गर्न स्कुलहरुलाई सूचित पनि गराएको थियो।

यसैबीच प्याब्सनले एक्कासि विज्ञप्ति निकाल्यो। जसमा टेलिकमसँग बारम्बार छलफल गर्दा पनि प्रतिक्रिया नदिएको, ढिलासुस्ती गरेको र सस्तो दरमा नदिएको भन्दै अबदेखि एनसेलको प्याकेज प्रयोग गर्न सबै स्कुललाई परिपत्र गर्यो।

‘एनटीसीको छुट दिने कार्यमा उदासीनता, ढिलासुस्तीले गर्दा हामी निरन्तरता दिन सकेनौँ’, प्याब्सनको उक्त परिपत्रमा भनिएको छ, ‘एनसेलको छिटोछरितो कार्यका साथै, प्याब्सन र एनसेलले मिति २०७७ साउन १२ गते सम्झौतापत्रमा हस्ताक्षर गरेको सहर्ष जानकारी गराउँछौँ।’

साथै, उक्त पत्रमा भनिएको छ, ‘एनसेलको सिम प्रयोग गरी देशभरिका निजी विद्यालयहरुमा अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकहरुले सहज रुपमा भर्चुअल अनलाइन विधिबाट शिक्षण सिकाइ प्रभावकारी रुपमा गर्नका लागि अनुरोध गर्छौँ।’

पत्रमा एनसेलले अनलाइन कक्षा सञ्चालन गर्न दिएका सुविधा र उक्त सुविधाको लागि एनसेलको छुट्टै सिम लिन समेत प्याब्सनले भनेको छ।

प्याब्सनले यस किसिमको विज्ञप्ति जारी गरेपछि प्याब्सनका प्रतिनिधिहरुलाई तपाईंहरुसँग विकल्प छन् र को छान्ने भन्ने तपाईंहरुकै अधिकार हो तर अर्को कम्पनीसँग सहकार्य गर्दा नेपाल टेलिकमलाई किन दोष दिनुहुन्छ भनेर प्रतिक्रिया जनाएको थियो।

टेलिकमको उक्त जवाफपछि प्याब्सनले कमजोरी भएको स्वीकार गरेको थियो। त्यसपछि प्याब्सनले आफ्नो वेबसाइटमा राखेको पत्र समेत हटाएको छ।

अहिले टेलिकमको इ–लर्निङ प्याकेजमा मुलुकभरका ६० हजारभन्दा धेरै विद्यार्थीले प्रयोग गरिरहेको जनाएको छ।

प्याब्सनअन्तर्गत ६ हजार ३ सय स्कुल छन्। ती स्कुलमा १८ लाख विद्यार्थीहरु अध्यनरत छन्। तीमध्ये ८ लाख विद्यार्थीले अनलाइन कक्षा लिइरहेको पुरीले बताए।

यस्ताे छ प्याब्सनकाे पत्र
pabson patra


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .