ad ad

कारोबार


चार व्यावसायिक संस्थाविरुद्ध पौने चार अर्ब राजश्व छलि आरोपमा मुद्दा दर्ता

चार व्यावसायिक संस्थाविरुद्ध पौने चार अर्ब राजश्व छलि आरोपमा मुद्दा दर्ता

नेपालखबर
असार ३१, २०७७ बुधबार ११:२७,

राजश्व अनुसन्धान विभागले ३ अर्ब ८२ करोड राजश्व छली गरेको आरोपमा चार व्यावसायीहरु विरुद्ध मुद्दा दर्ता गरेको छ।

विभागले अभियुक्तहरुबाट विगो असुल उपर गरी जरिवाना र कैद सजाय समेत हुन मागदावी लिई बुधबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो।

विभागले काठमाडौंको सोह्रखुट्टेमा सञ्चालनमा रहेको हाईटेक ईन्टरनेशनल प्रालिका सञ्चालक समेत २ जनालाई राजस्व चुहावट गरेको अभियोगमा २ अर्ब ४२ करोड ९८ लाख विगो कायम गरी उक्त विगो असुल उपर गरी जरिवाना र कैद सजाय समेत हुन मागदावी लिई मुद्दा दर्ता गरेको छ।

हाईटेक ईन्टरनेशनलले भन्सार विन्दुबाट मालबस्तु पैठारी गर्दा कतिपय मालवस्तु घोषणा नै नगरी लुकाई छिपाई चोरी पैठारी गरी नेपाल ल्याई आफ्नो कारोबार स्थलमा राखेको, कारोबार स्थलबाट केही मालवस्तुको मात्र आधिकारिक विल वीजक जारी गरी धेरै जस्तो मालवस्तुको लुज विल जारी गरी वा न्यून विजकीकरण गरी यथार्थ कारोबारको छुट्टै लेजर खडा गरी अभिलेख राखी कारोबार लुकाई छिपाई यथार्थ कारोबार नदेखाई नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने भन्सार, मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको विभागको ठहर छ।

यस्तै, ललितपुरको सानेपामा सञ्चालनमा रहेका जेएसएस मोबाइल एण्ड सर्भिसेज प्रालि, श्री श्याम इम्पेक्स र श्री श्याम बाबा इन्टरप्राइजेजका संचालक/प्रोप्राईटर तथा मुख्य कारोबारी समेत ४ जना विरुद्ध १ अर्ब ३९ करोड ७ लाख विगो कायम गरी विगो असुल उपर गरी जरिवाना र कैद सजाय समेत हुन मागदावी लिई मुद्दा दर्ता गरिएको छ।

यी तिनै व्यवसायिक संस्थाले पटक पटक भन्सार नतिरी अवैध रुपमा मेमोरी कार्ड, पेन ड्राइभ लगायतका इलेक्ट्रोनिक्स सामान ल्याई बिल बीजक जारी नगरी बिक्री गर्ने गरेको उक्त फर्महरुको कारोबार सम्बन्धी खातावही, लेजरहरु, नगदी रसिद ल्यापटप, हार्ड डिस्क लगायतका अन्य कागजात एवं प्राप्त सवुत प्रमाणहरुको छानबिनबाट उल्लिखित फर्महरुले कारोबार लुकाउने छिपाउने उद्देश्यले कर प्रयोजनमा पेश गर्ने बाहेक अलग्गै किसिमको आन्तरिक लेखा तथा खाता राख्ने गरेको, सबै बिक्री आम्दानी कर प्रयोजनमा समावेश नगरी आंशिक कारोबारमात्र देखाई नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने भन्सार, मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको विभागले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .