ad ad

कारोबार


‘आइतबारदेखि सार्वजनिक यातायात सञ्चानलमा आउने कुरा हल्लामात्रै’

‘आइतबारदेखि सार्वजनिक यातायात सञ्चानलमा आउने कुरा हल्लामात्रै’

वसन्त अर्याल
असार २०, २०७७ शनिबार ८:३०,

यातायात व्यवसायीले आइतबारबाट सार्वजनिक यातायात खुल्ने भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका छन्।

शनिबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग छलफल भइरहेकाले आइतबारबाट नै सार्वजनिक यातायात चल्ने कुरा झुटो भएको स्पष्ट पारेको छ।

शुक्रबारदेखि सामाजिक सञ्जाल र केही अनलाइन मिडियामा आइतबारदेखि व्यवसायीले सरकारको अवज्ञा गरेर सार्वजनिक सवारी सधान सञ्चालनमा ल्याउने समाचार आएको थियो।

महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले यातायात सञ्चालन गर्ने विषयमा छलफल भइरहेकाले महासंघले आन्दोलन गर्ने कुनै निर्णय नगरेको बताए। ‘हामी सरकारसँग कसरी सार्वजनिक यातायात सञ्चालन गर्ने भन्ने छलफलमा छौं,’ कर्मचार्यले नेपालखबरसँग भने, ‘कहिले कसरी चलाउने भन्ने निणर्य भएको छैन।’

केही सञ्चारमाध्यममा असार २१ देखि यातायात व्यवसायी महासंघले आन्दोलन गर्ने भन्ने झुटो भएको उनले बताए।

‘सरकारले साउन ७ गतेसम्म त लकडाउन गरेकै छ,’ उनले भने, ‘व्यवसायीले कुनै योजनाविना यातायात सञ्चालन गछौं भनेर हुँदैन। सरकारसँग छलफल गरेर समझदारीमा चल्नुपर्छ।’

यातायात व्यवसायीले सरकारलाई सार्वजनिक यातायात चलाउने वातावरण बनाउन आग्रह गरिरहेका छन्। ट्याक्सी व्यवसायीले त काठमाडौंमा असार १६ देखि धर्ना नै दिइरहेका छन्।

दिनभर कामगरी साझा खाने यातायात मजदुर भोकै बस्न परेको भन्दै यातायात सञ्चालन गर्न दिनुपर्ने उनीहरुको माग छ।

अखिल नेपाल यातायात मजदुर संघ बागमती प्रदेशका अध्यक्ष दीपक केसीले ट्याक्सी व्यवसायीको माग संबोधन नगरे सबै सार्वजनिक यातायात व्यवसायीले संयुक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए।

तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ भने सरकारसँग छलफल गरेरै अघि बढ्नु पर्ने पक्षमा रहेको छ।

महासंघका महासचिव सरोज सिटौलाले असार २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्ने भन्ने सुन्नमा आएपनि महासंघले यसबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् ।

‘महासंघले सार्वजनिक यातायात सञ्चालन गर्नेबारे मजदूर, व्यवसायी र सरकारसँग निरन्तर औपचारिक तथा अनौपचारिक रुपमा वार्ता र सम्वाद गरिरहेको छ,’ उनले भनेका छन् ‘नेपालमा सार्वजनिक यातायात सञ्चालन गर्नेबारे महासंघले चाँडै नै सरोकारवाला निकायसँग बैठक बसेर निर्णय गर्छ।’

 सिटौलाले नेपाल सरकारलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ साथै मजदूर ट्रेड युनियन समेतले पटक–पटक मौखित तथा लिखित लकडाउनबाट परेको क्षति र असर तथा लकडाउन खुकुलो बनाउने सम्बन्धमा समेत राय सुझाव सबै दिइसकेको अवस्थामा सरकारले सार्वजनिक यातायात सञ्चालनका लागि कुनै प्रष्ट योजना नबनाएको आरोप लगाएका छन् ।

सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएसँगै नेपालका यातायात व्यवसायीहरु आर्थिक सङ्कटमा रहेको उनले बताए।

सरकारले साउन ७ गतेसम्मका लागि लकडाउन थपेको छ । लकडाउन खुला गर्नेबारे सरकारले कुनैपनि ठोस निर्णयमा पुग्न नसक्दा नेपालको सार्वजनिक यातायातको क्षेत्रमा पनि अन्यौलता थपिएको उनको भनाई छ।

‘सार्वजनिक सवारी साधन सञ्चालन नहुँदा यातायात व्यवसायी, मजदूर र यात्रुलाई परेको समस्याप्रति सरकार गम्भीर हुनुपर्छ। व्यवसायी, मजदूर र यात्रुलाई परेको मर्काप्रति संवेदनशील बन्दै धैर्य रहन आग्रह गर्दछु,’ उनले भनेका छन्।

यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालनको लागि भन्दै कार्यविधि बनाए पनि व्यवहारिक नभएको भन्दै व्यवसायीले आपत्ति जनाएका छन्। विभागले बनाएको कार्यविधिअनुसार सार्वजनिक यातायात सञ्चालन गर्ने अवस्था नभएको स्पष्ट पारेका छन्।

भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले यातायात सञ्चालनका लागि सरोकारवाला पक्षसँग छलफल गरिरहेको भए पनि कुनै निष्कर्षमा पुग्न सकेको छैन।

महासंघले सार्वजनिक यातायातमा करिब १० खर्ब लगानी रहेको र त्यसको करिब ६० प्रतिशत बैकको कर्जा लगानी भएको बताएका छन्। सार्वजनिक यातायात ठप्प रहदाँ प्रत्यक्ष रोजगारीमा रहेका करिब १० लाख मानिस प्रभावित भएको महासंघले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .