ad ad

कारोबार


नेपाल एयरलाइन्सको ओसाका उडानलाई विमानस्थलको ‘ग्रीन सिग्नल’

नेपाल एयरलाइन्सको ओसाका उडानलाई विमानस्थलको ‘ग्रीन सिग्नल’

रमेश पाेख्रेल
असार ३०, २०७६ सोमबार १२:४२,

आगामी भदौ १२ अर्थात् अगष्ट १९ तारिखदेखि हुने जापान उडानमा नेपाल वायुसेवा निगमको जहाजले त्रिभुवन विमानस्थलमा नोटाममा आधा घण्टा छुट पाउने भएको छ। उडान हुनुअघिको अवस्थाबारे पाइलटलाई सचेत गर्ने र उडान वातावरणबारे आधिकारिक रुपमा दिइने सूचनालाई नोटाम भनिन्छ।

भदौ १६ देखि पुस १५ गतेसम्म विमास्थल मर्मतसम्भारको लागि राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म बन्द हुने भए पनि निगमको जहाजलाई भने जापान उडानमा आधा घण्टाको लागि छुट दिन लागिएको हाे।

निगमले जापानको ओसाका सहरमा हप्ताको तीन वटा उडान गर्नेछ। उक्त उडान मंगलबार, बिहीबार र शनिबार हुने निगमले जानकारी दिइसकेको छ। काठमाडौँबाट रातिको २ बजेर ३० मिनेटमा ओसाकाका लागि उडेको विमान जापानको स्थानीय समयअनुसार दिनको ११ बजेर ५५ मिनेटमा अवतरण हुनेछ। त्यस्तै जापानबाट स्थानीय समयअनुसार दिउँसाे १:५५ मा नेपालका लागि उड्ने र सोही दिन साँझ ६ बजे काठमाडौँ आइपुग्नेछ।

निगमका सह–प्रवक्ता नवराज कोइरालाका अनुसार उडानको समयमा नोटाम लागू हुने हुँदा निगमले आफ्ना विमानलाई उक्त व्यवस्थामा छुट दिन अनुरोध गरेको थियो। सोही आग्रहपछि नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आधा घण्टा नोटाम नगर्ने पत्र सोमबार पठाएको कोइरालाले जानकारी दिए। कोइरालाले भने, ‘उडानका लागि कुनै समस्या नहुने भएपछि निगमले आइतबार पठाएको पत्रको जवाफ पठाउँदै क्यानले राति साढे २ बजेदेखि ३ बजेसम्म नोटाम गर्ने जानकारी दिएको छ।’ निगमले साढे २ बजे राति उडानको तालिका राखेको छ ।

नोटाम विमानस्थलमा रातिको समयमा लागू भए पनि जापान उडानका लागि भने आधा घण्टा हटाइने भएसँगै निगमलाई कुनै अवरोध हुनेछैन। निगमको गृष्मकालीन तालिकाअनुसार काठमाडौँ–ओसाका र ओसाका–काठमाडौँ उडान एकतर्फी करिब ६ घण्टा ३० मिनेटको हुनेछ। दोस्रो चरणमा जपानको व्यस्त विमानस्थल नारितामा समेत नियमित उडान गर्ने निगमको योजना छ। सोहीअनुसार प्रक्रिया अगाडि बढाइएको निगमले जनाएको छ।

टोकियोको नारितामा उडान सुरु गरेपछि दुवै गन्तव्यका लागि हप्तामा २/२ वटा उडान गर्ने योजना रहेको निगमले जनाएको छ। विगतमा काठमाडौँ ओसाकाकाबीच सन् १९९४ मा सुरु भएको उडान २००७ सम्म नियमित रुपमा भएको थियो । बोइङ्ग ७५७ जहाजबाट गरिएको उक्त उडान चिनको सांघाई भएर गरिन्थो । तर अब काठमाडौँबाट ओसाकासम्म र ओसाकादेखि काठमाडौँसम्म वाइडबडी विमानबाट सिधा उडान गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .