कारोबार


विदेशीले निजी सवारीसाधन ल्याउन पाउने व्यवस्थासहितको विधेयक संसदमा

विदेशीले निजी सवारीसाधन ल्याउन पाउने व्यवस्थासहितको विधेयक संसदमा

दीपक भट्ट
असार १४, २०७७ आइतबार १२:४१,

विदेशी पर्यटकले आफ्नो निजी सवारी लिएर नेपाल आउनसक्ने व्यवस्थासहितको विधेयक संसदमा पुगेको छ।

अर्थ मन्त्रालयले भन्सारसम्बनधी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेकमार्फत उक्त व्यवस्था प्रस्ताव गरेको हो।

सो विधेयक मन्त्रालयले संसदमा असार ४ गते दर्ता गराएको हो। यसरी विदेशी पर्यटकले नेपाल ल्याउने सवारीमा भन्सार छुट हुनेछ। उनीहरुले १ वर्ष अवधिको लागि सवारीसाधन ल्याउन पाउनेछन् तर छुट भने ६ महिना अवधिको लागि मात्रै दिने प्रस्ताव गरिएको छ।

मन्त्रालयले दर्ता गराएको उक्त विधेयकमा विदेशी पर्यटकले अन्तर्राष्ट्रिय महासन्धिले दिने 'कार्ने' फारमअन्तर्गत अस्थायी पैठारी गर्ने सवारीसाधनमा भन्सार महशुल छुट दिने व्यवस्था छ।

विधेयकमा भनिएको छ, ‘विदेशी पर्यटकले कार्नेअन्तर्गत व्यक्तिगत प्रयोगको लागि अस्थायी पैठारी गर्ने सवारीसाधन पछि फिर्ता लैजाने गरी एक वर्षको अवधिमा ५ महिनासम्मको लागि महशुल छुट दिई अस्थायी पैठारी गर्न सकिनेछ।’

के हो कार्ने फारम?
निजी सवारी साधनको अस्थायी पैठारीसम्बन्धी भन्सार महासन्धि (कस्टम कन्भेन्सन अन द टेम्पोररी इम्पोर्टेसन अफ प्राइभेट रोड भेहिकल्स १९५४ महासन्धि)  रहेको छ। नेपाल यो सन्धिको हस्ताक्षरकर्ता सदस्य राष्ट्र हो।

उक्त सन्धिको प्रावधानअनुसार विदेशी पर्यटकले निजी प्रयोगको लागि अस्थायी पैठारी गर्ने सवारीसाधन तथा जगेडा पार्टपुर्जा तोकिएको समयभित्र पुनः निकासी नगरेमा त्यस्तो सवारीसाधन तथा सोको जगेडा पार्टपुर्जा पैठारी गर्दा महशुल र ब्याज समेत लाग्छ। कार्ने उक्त महशुल तिर्नु बुझाउनुपर्ने गरी जारी गरिएको सो महासन्धिको एउटा फारम हो।

त्यसरी पैठारी गरिएका सवारीसाधनमा जडान गरिएको विद्युतीय सामान, फर्निचर जगेडा पार्टपुर्जा तथा सहायक सामग्री समेत सवारीसाधनका साथ फिर्ता लैजाने शर्त कार्नेमा उल्लिखित हुन्छ। सोहीअनुसार विदेशी पर्यटकलाई पैठारी गर्न दिइन्छ।

विद्युतीय सामान, फर्निचर जगेडा पार्टपुर्जा तथा सहायक सामग्री छुटाएमा त्यसको जफत गरी जरिवाना समेत गरिने गरी सरकारले विधेयक ल्याएको हो। त्यसको असुल कार्ने भर्ने संस्थाबाट गरिने विधेयकमा उल्लेख छ।

करछुटको व्यवस्था
१ वर्ष अवधिमा लगातार तथा पटक–पटक गरी ६ महिनाको लागि भन्सार महसुल छुट हुनेछ। उक्त सवारीसाधन नेपालमा आई दुर्घटना भएमा प्रहरीको कब्जामा रहेको वा मर्मतको लागि सिफरिस गरेकोमा त्यस्तो अवधीलाई गणना गरिनेछैन।

चलाउन सकिने अवस्था नरहेको भनी सम्बन्धित निकायले प्रमाणित गरिदिएकोमा भन्सार अधिकृतले यस्तो सवारीसाधन कुनै सरकारी निकायको प्रतिनिधिको रोहवरमा सम्बन्धित व्यक्तिको खर्चमा नष्ट गरिएको वा पत्रमा परिणत गर्न अनुमति समेत दिइनेछ।

यसरी पैठारी भएका सवारीसाधनहरु भाडामा प्रयोग गर्न वा दान, दातव्य वा उपहार दिन÷लिन वा खरिदबिक्री गर्न पाइनेछैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad