कारोबार


पानी घटाउन कुलेखानी पूर्ण क्षमतामा सञ्चालन, भारतबाट विद्युत् आयात घट्याे

पानी घटाउन कुलेखानी पूर्ण क्षमतामा सञ्चालन, भारतबाट विद्युत् आयात घट्याे

नेपालखबर
असार ३०, २०७६ सोमबार ७:४३,

कुलेखानी जलविद्युत् केन्द्रको जलाशय लगातारको वर्षाले भरिएपछि पहिलो र दोस्रो आयोजना पूर्ण क्षमतामा सञ्चालन गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। जलाशयको पानी घटाउन दुवै आयोजना पूर्ण क्षमतामा चलाइएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले जानकारी दिएका हुन्।

लगातार वर्षाका कारण मकवानपुरमा रहेको कुलेखानी जलविद्युत केन्द्रको जलाशय असारमै भरिएको छ। गत वर्ष भर्षभरिमा जलाशयमा पानीको सतह १५२६ मीटर रहेकोमा यस वर्ष सोमबार विहानसम्ममा १५२६ मीटर पुगेको छ । सोमबार बिहान साढे पाँच बजे १५२५.१७ मीटर रहेको जलाशयको पानीको सतह १० बजे बढेर १५२६ मीटर पुगेको हो । जलाशयमा अधिकतम १५३१ मीटरसम्म मात्रै पानी भण्डारण हुन सक्छ । त्यस क्षेत्रमा लगातार परिरहेको पानीका कारण तीन/चार दिनमै जलाशयमा पानीको सतह करिब २० मीटर बढेको छ ।

जलाशयमा पानी भरिएपछि कुलेखानी पहिलो (६० मेगावाट) र दोस्रो (३२ मेगावाट) पूर्ण क्षमतामा चलाइएको घिसिङले जानकारी दिए । ‘पानी पर्न भर्खर सुरु भएको छ, विगतका वर्षमा असोजमा मात्रै भरिने जलाशय यस वर्ष तीन महिना अगाडि नै भरियो’, उनले भने, ‘विगतमा वर्षामा कुलेखानी विद्युत्गृह चल्दैन थियो, अहिले असारमै पानी भरिएपछि कुलेखानीलाई पूर्ण क्षमतामा चलाई भारततर्फ विद्युत्को आयातलाई घटाएका छौं ।’

कुलेखानी पहिलो विद्युतगृह पूर्ण क्षमतामा चलाउँदा एक घण्टामा जलाशयको पानीको सतह २ सेन्टिमिटर मात्रै घट्ने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए। कुलेखानी वर्षाको पानी जम्मा गरी मुख्य रुपमा विद्युत्को अध्याधिक माग हुने हिउँदमा मात्रै चलाउने आयोजना हो। विद्युत्को आवश्यक परेको बेला प्रणालीलाई सन्तुलन कायम गर्न मात्रै कुलेखानी चलाइन्छ। प्राधिकरणले अहिले ढक्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाइनबाट मात्रै करिब १५० मेगावाट विद्युत् आयात गरिरहेको छ । अविरल वर्षका कारण तराईमा विद्युत माग घटेको छ । अहिले मुलुकभरको विद्युत्को माग करिब ६ सय मेगावाट मात्रै छ ।

सतर्क रहन आग्रह
प्राधिकरणले कुलेखानी जलाशय भरिंदै गएका कारणले पानी निकासका लागि बाँधको गेटहरु खोल्नु पर्ने अवस्था आउन सक्ने भएकाले सर्तक रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । कुलेखानीको पानी बाग्मती नदीमा गएर मिसिन्छ । ‘जलाशयको पानीको सतह घटाउन जलाशयलाई पूर्ण क्षमतामा चलाइरहेका छौं, यसबाट पनि नघटेमा पानी ‘स्पिल वे’बाट बाहिर जान्छ’, कार्यकारी निर्देशक घिसिङले भने । ‘यसो हुँदा पनि पानीको सतह बढेर जलाशयको क्षमताले नभ्याउने भएमा बाँधमा रहेका गेटहर खोलेर पानी बाहिर निकाल्नु पर्ने वाध्यात्मक अवस्था आउन सक्छ, यसबाट बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने बाग्मती नदीमा बाढी आउन सक्ने भएकाले त्यस आसपासका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्दछु ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .