कारोबार


नेपालीको भान्सामा विदेशी बेसार, विज्ञ भन्छन् : बेसारको अर्ती दिनेले उत्पादनमा खै बजेट हालेको?

नेपालीको भान्सामा विदेशी बेसार, विज्ञ भन्छन् : बेसारको अर्ती दिनेले उत्पादनमा खै बजेट हालेको?

सन्तोष न्यौपाने
असार ६, २०७७ शनिबार १२:२१,

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को उपचारमा बेसार उपयोगी हुने भन्दै यसको बेलिबिस्तार लगाएपछि केही दिनदेखि सामाजिक सञ्जालमा यसको व्यापक चर्चा हुँदै आएको छ।

वैज्ञानिक तथ्य नभएको कुरा प्रधानमन्त्रीले बोलेको भन्दै कतै आलोचना भइरहेको छ भने कतै बेसारको गुणको बारेमा चर्चा भएको छ।

हरेक नेपालीको भन्सामा प्रयोग हुने बेसार मुलुकको परम्परागत व्यवसाय हो। ग्रामीण क्षेत्रमा करेसाबारीदेखि ढिकाकान्लामा लगाइने बेसारमा पछिल्लो समय भनेर परनिर्भर हुनुपरेको छ।

गाउँघरमा उत्पादन घट्दै गएको र व्यवसायिक खेती समेत नभएपछि तेस्रो मुलुकबाट समेत बेसार भित्रिन थालेको हो। अहिले हाम्रो भान्सामा प्रयोग हुने बेसार भारत र म्यानमारबाट आयात भइरहेको छ।

कृषि विज्ञले बेसार–पानीको चर्चा गर्ने नेताले बेसार खेतीको प्रोत्साहन नगर्दा विदेशको भर पर्नुपरेको बताउँछन्।

सरकारी तथ्यांकअनुसार पछिल्लो देश महिनामा मुलुकमा दुई देशबाट झन्डै २८ करोड रुपैयाँ बराबरको करिब २२ लाख केजी बेसार आयात भएको छ।

भन्सार विभागको तथ्यांकअनुसार नेपालमा म्यानमार र भारतबाट चालु आर्थिक वर्षको दश महिनामा २७ करोड ९५ लाख ११ हजार रुपैयाँ बराबरको २१ लाख ७९ हजार ८ सय ५७ केजी बेसार आयात भएको छ। विभागको तथ्यांकअनुसार मुलुकमा ताजा बेसार, धुलो बेसार र अन्य बेसार शीर्षकमा आयात भइरहेको छ।

तथ्यांकअनुसार ताजा बेसार शीर्षकमा ९८ लाख १० हजार रुपैयाँ बराबरको १ लाख ५ हजार २९ केजी आएको छ भने धुलो बेसार शीर्षकमा ३ करोड ७१ लाख ९८ हजार रुपैयाँ बराबरको २ लाख २५ हजार ७ सय ४१ केजी आयात भएको छ।

त्यस्तै अन्य बेसार शीर्षकमा भने सबैभन्दा धेरै २३ करोड २५ लाख ३ हजार रुपैयाँ बराबरको १८ लाख ४९ हजार ८७ केजी आयात भएको छ।

कृषि विज्ञले नेपालमा यति ठूलो मात्रामा बेसार आयात हुनु दुर्भाग्य भएको बताउँछन्।

नेपालमा अदुवा खेती गर्न अत्यन्तै सम्भावना भएका भूमिहरु रहेको विज्ञको भनाइ छ।

‘नेपालमा बेसार उत्पादनको अथाह सम्भावना छ,’ कृषि विज्ञ कृष्ण पौडेलले नेपालखबरसँग भने, ‘सुख्खा जमिन, पहाडी भिरालो चट्टान, ढुंग–बलौटे भएको जमिनमा बेसार, अदुवा, सिमी, भटमासजस्तो खेती धेरै राम्रो हुन्छ।’

नेपालको भूगोलमा ५० प्रतिशत जमिनमा सिँचाइ नभएको र हिमालयको काखको कोल्टे परेको सुख्खा क्षेत्रहरु बेसार उत्पादनका लागि उपयोगी रहेको उनको भनाइ छ।

उनले यस्ता सुख्खा क्षेत्रमा बेसार मात्र नभएर अदुवा, प्याज, लसुन, सिमीजस्ता उत्पादनको राम्रो सम्भावना भएको बताए।

राज्यले राम्रो नीति नलिएको र औद्योगीकरणका नाममा यस्ता खेती प्राथमिकतामा नपरेकाले कृषक पलायन भएको पौडेलले बताए। गाउँघरको भिरपाखा, बारीमा हुने अदुवाबाट व्यवहार चल्ने नभएपछि किसानले यो खेती नै गर्न छोडेको उनको भनाइ छ।

‘बेसार–पानी खाएर कोरोना ठिक हुन्छ भन्नेको बुद्धि पुगेन,’ पौडेलले प्रश्न गरे, ‘बेसारको फूर्तीे गर्ने प्रधानमन्त्रीले यसपाली बेसार प्रशोधन केन्द्रलाई बजेट छुट्याउन सक्दैनथे र?’

मुलुकको औद्योगीकरण गर्ने हो भने यस्तो खेती गर्ने र प्रशोधन गर्ने व्यवस्था नमिलाउँदासम्म मुलुकमा औद्योगीकरण नहुनेको उनको भनाइ छ।

भारतबाट २६ करोड २५ लाखको आयात
पछिल्लो १० महिनामा सबैभन्दा धेरै बेसार भारतबाट आएको छ। भारतबाट २६ करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ७१ हजार ५ सय ९९ केजी बेसार आयात भएको छ।

भारतबाट ताजा बेसार २९ लाख ५३ हजारको २१ हजार २९ केजी र ३ करोड ३४ हजार ३९ रुपैया बराबरको धुलो बेसार नेपालमा आएको छ।

भारतबाटै अन्य बेसार शीर्षकमा २२ करोड ६१ लाख ५८ हजार रुपैयाँ बराबरको १७ लाख ७० हजार ८७ केजी बेसार आएको छ।

१ करोड ७० लाखको बेसार म्यानमारबाट
त्यस्तै नेपालमा बेसार आयात भइरहेको अर्को मुलुक म्यानमारबाट १० महिनामा १ करोड ६९ लाख ६१ हजार रुपैयाँ बराबरको २ लाख ८ हजार २ सय ५८ केजी भित्रिएको छ।

ताजा बेसार शीर्षकमा म्यानमारबाट ६८ लाख ५७ हजार रुपैयाँ बराबरको ८४ हजार केजी, ३७ लाख ५९ हजार रुपैया बराबरको धुलो बेसार ४५ हजार २ सय ५८ केजी र अन्य बेसार शीर्षकमा ६३ लाख ४५ हजार रुपैयाँ बराबरको ७९ हजार केजी आयात भएको छ।

गतवर्ष ४७ करोडको बेसार आयात
नेपालमा गतवर्ष यो वर्षको तुलानामा बेसार अझ बढी आयात भएको तथ्यांकमा देखिन्छ। गत वर्ष ४६ करोड ८८ लाख ६३ हजार रुपैयाँ बराबरको २० लाख १२ हजार ५६ सय ९६ केजी आएको विभागको तथ्यांकमा उल्लेख छ।

उक्त वर्ष ताजा बेसार शीर्षकमा २ करोड ३० लाख २७ हजारको १ लाख ९१ हजार केजी आयात भएको छ भने धुलो बेसार भनेर ३ करोड ५० हजार रुपैयाँ बराबरको २ लाख १८ हजार केजी आयात भएको छ।

त्यस्तै गतवर्ष अन्य बेसार शीर्षकमा २० करोड ६८ लाख ९३ हजार रुपैयाँ बराबरको आयात भएको छ।

३० हजारको बेसार निर्यात
मुलुकमा आयात र निर्यातको असन्तुलन व्यापार बेसारमा पनि लागू भएको छ। दश महिनामा झन्डै २८ करोडको बेसार आयात भइरहेको बेला निर्यात भने लाख पनि पुग्न सकेको छैन।

चालु आर्थिक वर्षको दश महिनामा ताजा बेसार शीर्षकमा ३० हजार रुपैयाँ बराबरको १ हजार १ सय २९ केजी बेसार भारत निर्यात भएको छ।

गत आर्थिक वर्षभरीमा अलिकति बढी लाखको अंकमा निर्यात भएको छ। गतवर्ष नेपालबाट ६ लाख ८२ हजार रुपैयाँ बराबरको २ हजार ७ सय ९ केजी बेसार निर्यात भएको तथ्यांक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .