ad ad

कारोबार


भाडा बढाएर सार्वजनिक यातायात खोल्न व्यवसायीको माग

भाडा बढाएर सार्वजनिक यातायात खोल्न व्यवसायीको माग

वसन्त अर्याल
जेठ २६, २०७७ सोमबार ८:५०,

यातायात व्यवसायीहरुले सुरक्षित मापदण्ड बनाई सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने बताएका छन्। लामो समय गाडी थन्क्याएर राख्दा गाडी थोत्रा भएको भन्दै अर्थतन्त्र चलायमान बनाउन सार्वजनिक यातायात खोल्नुपर्ने बताएका हुन्।

केही दिनदेखि सडकमा सार्वजनिक यातायात सञ्चालनमा नआए पनि निजी सवारीसाधनले जाम हुने गरेको छ। व्यवसायीहरु भोकले मर्ने अवस्था आउन लागेको भन्दै आफ्नो व्यवसाय खोल्नथालेका छन्।

व्यवसायीले बजार खोल्ने तर सार्वजनिक यातायात नखोल्दा सेवाग्राही आउजाउ गर्न नसक्ने भन्दै व्यवसायीले सार्वजनिक यातायात खोल्न जोड दिँदै आएका छन्।

यातायाता व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक यातायात खोल्नुको विकल्प नरहेको बताए। ‘हाम्रो खर्बौं लगानी डुब्ने अवस्थामा पुगेको छ’, सिटौलाले भने, ‘व्यवसायी र कामदार भोकै बस्नुपर्ने अवस्थामा पुगेका छन्।’

महासंघको अनुमानमा १० खर्बबराबर सार्वजनिक यातायातमा लगानी छ। जसमा १० लाख बढी प्रत्यक्ष रोजगारीमा रहेका छन्।

‘सार्वजनिक यातायातमा स्वरोजगारी धेरै छन्’, सिटौलाले भने, ‘तीनले खानलाई त धौधौ परेको छ नै, आफुले लाखौँ लगानी गरेको गाडी पनि राख्दा थोक्रो भइसक्यो।’

कोभिड–१९ को संक्रमण सामाजिक दूरी कायम राख्न नसक्दा सार्वजनिक यातायातबाट छिटै सक्रमण फैलिने सम्भावना हुन्छ। तर यातायात विज्ञले कहिलेसम्म सार्वजनिक यातायातलाई प्रतिबन्ध गर्ने भन्दै प्रश्न गरेका छन्।

विश्वका अधिकांश देशले छोटो दूरीमा सुरक्षित मापदण्ड बनाई सार्वजनिक यातायात सञ्चालन सुरु गरेका छन्। यातायात विज्ञले कोभिड १९ को नाममा सार्वजनिक यातायातलाई निरुत्साहित गर्न नहुने बताउँदै आएका छन्।

‘सार्वजनिक यातायात सञ्चालनको लागि सरकारले सुरक्षित मापदण्ड बनाई सञ्चालन गर्नुपर्छ’, साझा यातायातका कार्यकारी निर्देशक भूषण तुलाधरले भने, ‘सार्वजनिक यातायातमा पनि सामाजिक दूरी कायम गरी सञ्चालन गर्न सकिन्छ।’

उनले सार्वजनिक यातायात सञ्चालन गर्न नसके मानिसमा निजी गाडीप्रतिको मोह बढ्दै जाने र सहरले थेग्न नसक्ने अवस्थामा पुग्ने दाबी गरे।

नेपालमा विद्युतीय सार्वजनिक बस सञ्चालन गरिरहेको सुन्दर यातायताका अध्यक्ष भेष बहादुर थापाले यात्रुको सुरक्षा सुनिश्चित हुने गरी मात्रै सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने बताए।

‘सरकारले राम्रो मापदण्ड बनाएको छैन’, अध्यक्ष थापाले भने, ‘अहिलेकै अवस्थामा सार्वजनिक यातायात सञ्चालन गरे कोरोना झन् फैलिन्छ।’

उनी सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने तर स्पष्ट मापदण्डविना सञ्चालन गर्न नुहने बताए।

सार्वजनिक यातायात सञ्चालन मापदण्डमा अझै छलफलमा
यता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन मापदण्ड १ महिनाअघि मस्यौदा गरी छलफल चलाइरहेको बताएको थियो। तर उक्त मस्यौदा आइतबार मात्रै व्यवसायीको हातमा परेको छ।

महासंघका महासचिव सिटौलाका अनुसार विभागले व्यवसायीलाई छलफलमा बोलाई आइतबार मस्यौदा दिएको छ। मस्यौदामा व्यवसायीलाई सुझाव दिन भनिएको छ।

‘लकडाउन भएको साढे दुई महिना भयो बल्ल हामीलाई मस्यौदा दिएको छ’, सिटौलाले भने, ‘अब हामीले त्यसमा अध्ययन गरी मंगलबार मन्त्री वसन्त कुमार नेम्वाङसँग छलफल गर्ने तयारी गरेका छौं।’

यातायात व्यवसायीहरुले सार्वजनिक यातायात पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिने हुँदा भाडा बढाउनुपर्ने अथवा सरकारले व्यवसायीलाई अनुदान दिनुपर्ने बताए।

‘भारतले सरकारी यातायात सञ्चालन गरेको छ । नाफा नोक्सान उसैले व्यहोर्छ तर हामीकहाँ बैंकसँग ऋण लिएर व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गरिरहेका छन्’, उनले भने, ‘अनुदान वा भाडा वृद्धि नभए बस चलाऊ भने पनि सकिन्न।’

सुन्दर यातायातका अध्यक्ष थापाले यातायात व्यवस्था विभागले तयार पारेको मस्यौदाअनुसार सार्वजनिक यातायात सञ्चालन गर्न अप्ठ्यारो रहेको बताए। उनले विभागले तयार पारेको मस्यौदामा यात्रुको सुरक्षा कसरी हुन्छ भन्ने पनि स्पष्ट नभएको दाबी गरे।

‘चालक र सहचालक कसरी सुरक्षित हुन्छन्। एक आपसमा संवाद गर्दा कोरोना फैलिने सम्भावना हुन्छ। त्यसका लागि आवश्यक पर्ने सुरक्षाका सामग्री कसले उपलब्ध गराउने?’, सरकारलाई प्रश्न गर्दै उनले भने ‘सहरमा चल्ने सार्वजनिक यातायातमा साना सवारी भएकाले सामाजिक दूरी कायम राख्न गाह्रो हुने बताए।’

सिट क्षमता मात्रै ४० भएको सुन्दर यातायातले सामाजिक दूरी कायम गरी चलाए १५ जनाभन्दा बढी यात्रु हिँडाउन नसकिने बताए। उनले अहिले सामाजिक दूरी कायम गरी सार्वजनिक यातायात सञ्चालन गरे सुन्दर यातायात, साझा यातायातलगायत ठूला बस भएकाले मात्रै गर्नसक्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .