ad ad

कारोबार


सरकारले भनेका सबै उद्योग तत्काल चलाउन सकिन्नः व्यवसायी

सरकारले भनेका सबै उद्योग तत्काल चलाउन सकिन्नः व्यवसायी

सन्तोष न्यौपाने
बैशाख २५, २०७७ बिहिबार १३:१९,

सरकारले बन्द उद्योगधन्दामध्ये केहीलाई शुक्रबारदेखि सञ्चालन गर्न अनुमति दिएको छ। कार्यविधि समेत जारी गरेर त्यसअनुसार उद्योग चलाउन सरकारले भनेको छ।

तर, सरकारले अनुमति दिएका सबै उद्योग तत्कालै सञ्चालन गर्न नसकिने व्यवसायीहरुले बताएका छन्। तर, मजदुर र बजार अभावले सबै उद्योग चल्न नसक्ने उनीहरुको भनाइ छ।

सरकारले लकडाउकै अवधिमा ४२ प्रकारका उद्योग सञ्चालन गर्न अनुमति दिएको छ। जसमध्ये केही मात्र उद्योग हप्ता दिनभित्र सञ्चालनमा आउने व्यवसायी बताउँछन्।

‘सरकारले सूची निकालेको ४२ वटा उद्योगमध्ये केही उद्योग खुल्छन्,’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा व्यवसायी पशुपति मुरारकारले भने, ‘सबै उद्योग खोल्न अहिले गाह्रो छ।’

कति उद्योग खुल्छन् भन्ने कुरा सरकारले कस्तो निर्देशिका ल्याउँछ भन्नेमा भर पर्ने उनको भनाइ छ। सरकारले उद्योगमा काम गर्ने कामदारलाई एकै ठाउँ व्यवस्थित रुपमा राख्नु पर्ने भनेको छ। त्यस्तै, स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गर्नुपर्ने भनिएको छ। त्यो व्यवस्था कतिले मिलाउन सक्छन्, त्यसमा कति उद्योग चल्छन् भन्ने भर पर्ने उनले बताए।

‘सकारको निर्देशन कस्तो आउँछ, त्यो हेर्न बाँकी छ,’ मुरारकाले भने, ‘त्यसका आधारमा कति उद्योग चल्छन् भन्ने भरपर्छ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले पनि तत्कालै सबै उद्योग सञ्चालन हुन गाह्रो हुने बताए। यो उद्योग चलाउने अवसर पनि भएकाले विस्तारै उद्योग खुल्दै जाने उनको भनाइ छ।

‘लकडाउनपछि उद्योग खुलाउन केही समस्या हुन्छ,’ मोरले भने, ‘विस्तारैविस्तारै सबै उद्योग खुल्लान्। बजार खुला नहुँदा पनि समस्या छ।’

उद्योग सञ्चाल भए पनि बजार खुला नभएर बिक्रीमा समस्या हुने उनी बताउँछन्। मान्छे बाहिर निस्किन नपाएपछि बजार माग तत्काल माग बढ्ने सम्भावना कम छ। त्यस्तै, आपूर्तिको समस्या पनि पूर्ण समाधान हुन गाह्रो हुनेछ।

मुरारका पनि यसमा सहमत छन्। बजार नखोलिकन समान कहाँ पठाउने भन्ने समस्या आउने उनले बताए।

‘सबै उद्योगले सामान उत्पादन गरेर स्टक राख्न सक्दैनन्,’ उनले भने।

अहिलेलाई खाद्यान्न र अति आवश्यक वस्तु उत्पादन गर्ने उद्योग र सिमेन्ट उत्पादनको लागि चाहिने खानी पनि चल्ने मुरारकाले बताए। 

बर्खा लागेपछि खानी उद्योग चल्न सक्दैनन्। त्योभन्दा पहिला क्लिंकर उत्पादन गरेर बर्खाको समयलाई स्टक राख्नु पर्ने हुन्छ। त्यसैले पछिको स्टकको लागि पनि खानी उद्योग अहिले खोल्नै पर्ने बाध्यता रहेको मुरारकाले बताए।

सिमेन्ट अहिले पनि परियोजनामा गइरहेको छ। त्यस्तै, स्टिल रड पनि सोही परियोजनामा प्रयोग हुने भएकाले केही मात्रामा चल्न सक्छन्।

यो अवधिमा प्याकेजिङका उद्योग पनि चल्न सक्छन्। वर्कसप जस्ता साना व्यवसाय चल्न सक्नेछन्।

सरकारले शुक्रबारबाट ४२ प्रकारका उद्योग चलाउने निर्णय गरेको छ। जस अनुसार दाल, चामल, तेल, चिउरा, चिनी, बिस्कुट, पिठो, पाउरोटी, चाउचाउ जस्ता दैनिक उपभोग्य खाद्यान्न र औषधि, स्वास्थ्य सामग्री, साबुन उत्पादन र सो को प्याकेजिङ सामग्री उत्पादन गर्ने उद्योग चलाउन भनेको छ।

त्यस्तै, ग्यास बोटलिङ, उपभोग्य वस्तुसँग सम्बन्धित साना तथा घरेलु उद्योगहरु, निर्यातजन्य र विशेष आर्थिक क्षेत्रमा सञ्चालित र सिमेन्ट, डण्डी जस्ता निर्माणज्य उद्योगहरु खोलिने छ।

त्यस्तै, बढीमा ५ जनासम्म कामदार रहने गरी सवारी साधनहरुको मर्मत गर्ने वर्कसप, प्लम्बिङ तथा इलेक्ट्रिकल सेवा लगायतका सेवा पनि खुला गर्न सकिने सरकारको निर्देशन छ।

बन्द भएका उद्योगलाई पुनः सञ्चालन गर्दा चरणबद्ध रुपमा खोल्दा राम्रो हुने व्यवसायीको सुझाव छ।

पहिलो चरणका केही उद्योग खोल्ने र ती उद्योग सञ्चालन गर्दाको अनुभवका आधारमा अर्का चरणका उद्योग चलाउन सकिने व्यवसायीको भनाइ छ।

पहिलो चरणमा अतिआवश्यक खाद्यान्न उद्योगहरु पूर्णरुपमा चलाउनु पर्ने उनीहरुको सुझाव छ।

दोस्रो चरणमा निर्माण सामग्रीका उद्योग चलाउनु पर्ने र तेस्रो चरणमा निर्यातजन्य उद्योग चलाउन सकिने व्यवसायीको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .