यही असोज १८ र १९ गतेको वर्षापछिको रोशी खोलाको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गमा अस्थायी सडक–डाइभर्सन बनाउन सुरु गरिएको छ।
दुई दिनको बाढीपछि रोशी खोलामा पानीको बहाव कम हुँदै गएपछि आइतबार डाइभर्सन बनाउन सुरु गरिएको हो।
डिभिजन सडक कार्यालय भक्तपुरले रोशी गाउँपालिका र नमोबद्ध नगरपालिकाको समन्वयमा खोला एकतर्फी फर्काएर पुनःडाइभर्सन निर्माण गर्न थालेको हो।
गत वर्षको असोजमा बाढीपहिरोबाट क्षतिग्रस्त सोही क्षेत्रको विभिन्न स्थानमा करिब आठ किलोमिटर सडक डाइभर्सन बनाई अस्थायी रूपमा यातायात सञ्चालन गरिएको थियो। सोही क्षेत्रको सडकखण्ड शनिबार र आइतबारको बाढीपहिरोले बगाएको थियो।
राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाको एक स्थान तथा सिन्धुलीतर्फको अन्य तीन/चार स्थानबाट अस्थायी सडक बनाउन सुरु गरिने कार्यालयका सूचना अधिकारी इन्जनियर बिन्दु अधिकारीले जानकारी दिइन्।
उनका अनुसार रोशी खोलाको किनारैकिनार सडक लैजानुपर्ने तथा सडकको कुनै अवशेष नै नरहेकाले पानीको सतहभन्दा उचाइमा डाइभर्सन पुनःनिर्माण गरिनेछ। शनिबार र आइतबारको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गअन्तर्गत सिन्धुलीतर्फबाट पनि सोमबार नै पुनः डाइभर्सन बनाउन लागिएको छ।
सिन्धुलीको नेपालथोकबाट डाइभर्सन बनाउन सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए। उनका अनुसार सिन्धुलीस्थित डिभिजन सडक कार्यालय खाल्टेले बीपी राजमार्गको नेपालथोकतर्फबाट हाल दुई वटा एस्काभेटर प्रयोग गरेर डाइभर्सन बनाउन सुरु गरिएको हो।
सिन्धुलीबाट काभ्रेपलाञ्चोकतर्फको नमोबुद्धको चौकीडाँडासम्मको विभिन्न स्थानमा सडक बगाउनुका साथै क्षतिग्रस्त भएपछि पूर्ण रूपमा उक्त राजमार्ग अवरुद्ध भएको हो। हाल वैकल्पिक मार्गका रूपमा सवारीसाधन खुर्कोट–मन्थली हुँदै अरनिको राजमार्ग र सिन्धुली–हेटौँडा हुँदै काठमाडौँ आवतजावत भइरहेका छन्।
बीपी राजमार्गअन्तर्गत चौकीडाँडा, घुमाउने, माम्तीलगायतका क्षेत्रमा रोशी खोलाले राजमार्ग कटान गरेका कारण पैदल यात्रासमेत गर्नसक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। कार्यालय प्रमुख कोमल शाहका अनुसार बाढीले करिब दर्जन स्थानमा लेदो थुपार्दा तथा सडक बगाउँदा पिप्ले र बोक्सेकुनामा हिँड्ने बाटोसमेत छैन।
सडक कटान गरेपछि फसेका करिब तीन दर्जन सवारीसाधनलाई प्रहरीले इलाका प्रहरी कार्यालय मङ्गलटार तथा सुरक्षित स्थानमा राखिएको थियो।
जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले शनिबारदेखि बीपी राजमार्गमा तीन दिन सवारीसाधन आवतजावत बन्द गराएको थियो।
Shares

प्रतिक्रिया