कारोबार


आईजीपी थापासँगै तीन एआईजी अर्को साता अवकाश हुने

आईजीपी थापासँगै तीन एआईजी अर्को साता अवकाश हुने

नेपालखबर
भदौ ९, २०८२ सोमबार १३:३, काठमाडौँ

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापा र तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) अर्को साता अवकाश हुने भएका छन्।

आईजीपी थापा र उनकै ब्याचका दुई एआईजी ३० वर्षे सेवा अवधिका कारण अवकास हुन लागेका हुन्।

उनीहरुभन्दा साढे २ महिनापछि नियुक्त भएका एआईजी कृष्णहरि शर्मा पोखरेल भने उमेर हदका कारण त्यसभन्दा तीन दिनपहिले नै अवकाश हुनलागेका हुन्। उनी हाल प्रशासन विभाग प्रमुख छन्। 

त्यसैगरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ पनि अवकाश हुनलागेका हुन्। तामाङ र गिरी आईजीपी थापाकै ब्याची हुन्। 

२०५१ सालमा एक सय जना निरीक्षकका लागि विज्ञापन खुलेको थियो। त्यसमध्ये ६० जनालाई ‘क’ समूहमा र ४० जनालाई ‘ख’ समूहमा वर्गिकरण गरेर सफल उम्मेदवारको नाम निकालिएको थियो।

‘क’ समूहमा परेका पूर्व आईजीपी वसन्तबहादुर कुँवरसहित ५२ जना २०५१ चैत ५ ‘गते भर्ना भएका थिए। तर ‘क’कै ८ जनालाई भने त्यतिबेला नियुक्त गरिएको थिएन। 

बाँकी ८ जना २०५२ भदौ १९ गते भर्ना भएका थिए। त्यतिबेला भर्ना हुनेमा हालका आईजीपी थापा, एआईजी गिरी र तामाङ समेत थिए। 

उनीहरु भर्ना हुँदा पनि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख चन्द्रकुबेर खापुङसहित ४० जनालाई भने प्रहरीमा भर्ना लिने नलिने टुंगो थिएन। उनीहरु भर्नाकै प्रसतक्षामा थिए।

तर ‘ख’ समूमा परेकालाई नियुक्त नगर्ने बुझेपछि उनीहरु सरकारविरुद्ध रिट लिएर सर्वोच्च पुगेका थिए। सर्वोच्चले समूह ‘ख’मा परेकाहरुलाई पनि नियुक्त गर्न आदेश दिएको थियो।

त्यसपछि खापुङसहित ४० जनालाई २०५२ कात्तिक २७ गते नियुक्त गरिएको थियो। 

अब दीपक थापासहित त्यतिबेलाका सबै प्रहरी अधिकारीहरु बिदा हुँदा खापुङ मात्रै सेवामा रहनेछन्। 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख चन्द्रकुबेर खापुङ।

उनी थापापछि आईजीपी बन्ने तयारीमा समेत छन्। 

आईजीपी थापासहित तीन एआईजी अवकाश भएपछि खापुङसहित ५ एआईजी कार्यरत रहनेछन्। मानव स्रोत विकास विभाग प्रमुख दानबहादुर कार्की, अपराध अनुसन्धान विभाग प्रमुख राजन अधिकारी, प्रदेश समन्वय विभाग प्रमुख डा. मनोजकुमार केसी र कार्य विभाग प्रमुख सिद्धिविक्रम शाह सेवामा रहनेछन्। शाह ५३ का र अरु तीन जना २०५४ मा भर्ना भएका हुन्।

खापुङ आईजीपी भए आगामी कात्तिक २७ गतेसम्म प्रहरीको नेतृत्वमा रहनेछन्। 

त्यसपछि उनी पनि ३० वर्षे सेवा अवधिकै कारण अवकास हुनेछन्। तर प्रहरी ऐन संसदमा छलफलमा छ। नयाँ प्रहरी ऐन कार्यन्वयनमा आए अथवा विधेयकमार्फत सरकारले ३० वर्षे सेवा अवधिलगायतका व्यवस्था हटाएमा भने खापुङको कार्यकाल थपिन सक्नेछ।

खापुङपछिको आईजीपीमा बाँकी चार एआईजीको प्रतिस्पर्धा चल्नेछ। यी मध्ये शाह आईजीपी भए त्यसपछि अरु हुन सक्नेछन्। तर बाँकी तीन जना मध्येबाट आईजीपी भएमा भने शाह एआईजीबाटै अवकास हुनेछन्। उनी एक वर्ष पहिले नै भर्ना भएका हुन्।

तर डीआईजी र एआईजीमा भने शाहलाई पछि पार्दै कार्की, केसी र अधिकारी बढुवा भएका थिए। उनीहरु भन्दा झण्डै एक महिनापछि शाह एआईजी भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad