कारोबार


जब चिनियाँ राजदूतले चितवनको खेतमा पसेर धान रोपे ...

जब चिनियाँ राजदूतले चितवनको खेतमा पसेर धान रोपे ...

नेपालखबर
साउन २६, २०८२ सोमबार १५:२१, काठमाडौँ

नेपालका लागि चिनियाँ राजदूत छन सोङले चितवनमा आयोजना गरिएको रोपाइँ कार्यक्रममा सहभागी भई धान रोपेका छन्। 

यो मौका चाइना नेपाल साउदर्न एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी पार्क हाइब्रिड राइस डेमन्स्ट्रेसन जोनमा जुरेको हो। 

कृषि तथा वन विश्वविद्यालयसँगको सहकार्यमा ग्रामीण विकासका लागि चिनियाँ फाउन्डेसन (सीएफआरडी)ले रामपुरमा गरेको हाइब्रिड धानको पहिलो बीउ परीक्षणका क्रममा यो मौका जुरेको थियो। 

नेपाल चीन दौत्य सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठमा भएको कृषि सहकार्यसम्बन्धी कार्यक्रममा चिनियाँ राजदूत छन सहभागी भएका हुन्। यो कार्यक्रमका दौडान ३७ वटा उन्नत हाइब्रिड धानको बीउ रोपिने सीएफआरडीले जनाएको छ। 

कार्यक्रममा राजदूत सोङ, भरतपुर महानगरकी मेयर रेनु दाहालसहित कृषि विश्वविद्यालयका उपकुलपति, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपक कुमार खराल, सीएफआरडीको नेपाल कार्यालयकी देशीय निर्देशक झाउ झिकियाङ, दुवै देशका कृषि विज्ञ, अनुसन्धाता, संस्थाका प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारीसहित १०० बढी सहभागी भएका थिए। 

सो क्रममा राजदूत सोङले चिनियाँ हाइब्रिड धानसम्बन्धी प्रविधि विश्व कृषि प्रविधि सहकार्य र प्रविधि हस्तान्तरणको मुख्य दिशा भएको बताए। अन्तर्राष्ट्रिय सहकार्य र प्रविधि हस्तान्तरणबाट विकासोन्मुख देशहरुलाई धेरै मद्दत मिल्ने चीनको आशा रहेको उनले बताए। यसले नेपालजस्ता देशमा खाद्य आत्मनिर्भरता प्राप्तिका साथै विश्व कृषि विकासमा सामूहिक कार्यलाई प्रवर्द्धन गर्ने उनको भनाइ थियो। 

अहिले चीनको चोङकिङबाट नेपालमा कृषिविज्ञहरु आएर कृषि विश्वविद्यालयसँगको सहकार्य गरिरहेका छन्।  यसमा नेपालको जलवायु सुहाउँदो उन्नत बीउहरुमार्फत धान उत्पादन गर्ने लक्ष्य राखिएको छ। नेपालमा उपयुक्त हुने बीउको लागि सीएफआरडीले विज्ञ झिकाएर धानको बीउ परीक्षण गरिरहेको हो। उनीहरुले नेपालमा उपयुक्त बीउ र उपयुक्त अभ्यास नामक रोप्ने प्रणाली स्थापना गर्न सहयोग गरिरहेका छन्। 

भविष्यमा यससम्बन्धी प्राविधिक सहकार्य हुने र यसले व्यवस्थित र पर्याप्त रुपमा कृषि व्यवस्थापन प्रणाली स्थापना हुने अपेक्षा गरिएको छ। यसमा बीउ हुर्काउने, वैज्ञानिक भूमि उर्वरीकरण, पर्याप्त सिँचाइ, रोग नियन्त्रणमा कार्य गरिनेछ। 

नेपाली र चिनियाँ विज्ञहरुले स्थानीय विज्ञ समूह बनाएर काम गर्नेछन्। यदि तीन वर्षे हाइब्रिड धान प्रदर्शनी राम्रोसँग कार्यान्वयन भए कृषि प्राविधिक, व्यवस्थापक, किसानहरु सम्मिलित एक मुख्य प्राविधिक समूह बनाइनेछ। यसबाट नेपालको आफ्नै हाइब्रिड प्रविधि निर्माण हुनेछ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad