कारोबार


भक्तपुरे जुजु धौको माग उच्च

भक्तपुरे जुजु धौको माग उच्च

नेपालखबर
असार १६, २०८२ सोमबार ७:२४, भक्तपुर

नेपाली संस्कृति र परम्पराअनुसार असार १५ गते घरघरमा दहीचिउरा खाने प्रचलन छ। आइत दिनभर घरमा मात्रै नभई विभिन्न राजनीतिक दलहरुदेखि सङ्घसंस्थाहरुले दिनभर दहीचिउरा कार्यक्रम गरेर सांस्कृतिक पर्वका रुपमा असार १५ मनाएका छन् ।

नेपाल कृषि प्रधान मुलुक भएकाले असार १५ को समेत आफ्नै महत्व रहेको आजको दिन अधिकांश नेपालीले दहीचिउरा खाएर मनाएका छन्। स्वदेश र विदेशमा समेत चर्चामा रहेको भक्तपुरको दहीको राजा (जुजु धौ) को नाम लोकप्रियता अहिले पनि उत्तिकै रहेको छ।

आइतबार दिनभर भक्तपुरका दही व्यवसायीलाई जुजु धौ बनाएर बिक्री गर्न भ्याइनभ्याइ भएको छ । बिहानदेखि जुजु धौ पसलमा उपभोक्ताको भीड थियाे । अरु दिन दैनिक करिब २०० लिटर जुजु धौ बिक्री गर्ने व्यवसायीले आज दुई हजार लिटर दही बिक्री गरेको बताउँछन्, भक्तपुर जगातीका भक्तपुर सैजु जुजु धौका सञ्चालक दशी कान्छा अर्थात् कान्छारामा सैजु।

दही व्यवसायीले आज माटोको भाँडामा तयार पारिएको जुजु धौ एक लिटरको रु ३०० का दरले बिक्री भएको छ । उनले भने, ‘दहीको माग अत्यधिक छ, तीन दिनदेखि दहीको बिक्री ह्वात्तै बढेको छ, तीन दिनदेखि दही बनाउन व्यस्त हामीले तीन दिनमा १० हजार लिटर दहीको माग भएकाले रातदिन दही बनाएर व्यवस्थापन गर्ने व्यस्त छौ, अहिले बिहानदेखि पसलमा दही लिन आउनेहरु अत्यधिक छन्, सातादेखि अर्डर आएको ठाउँमा दही पु¥याउनै प¥यो, दिउँसोका लागि दही बनाउने काम भइरहेको छ।’

शुद्ध दूधको अभाव र दूध नै पर्याप्त पाउन छाडेपछि माग भएअनुसारको दही बनाउन नसकिएको उनले बताए। उपत्यकाका विभिन्न ठाउँबाट दहीको अर्डर भएको भन्दै आजको दिन विशेषगरी दही व्यवसायीलाई भ्याइनभ्याइ भएको उनले बताए।

भक्तपुरको जुजु धौ अर्थात् दहीको राजा नाम सुन्दै सबैले मुख रसाउने गर्छ। भक्तपुरमा राम्रो दही पाइन्छ भनेर उपत्यकाका विभिन्न ठाउँबाट भक्तपुर दही लिन आउने पनि उत्तिकै छन्। माटोको भाँडो अर्थात् कतारो, भिउटको दहीको माग उच्च रहेको छ।

सगुन जुजु धौका सञ्चालक सगुन सैजु भक्तपुरका ग्रामीण क्षेत्रहरु ताथली, बागेश्वरी, सुडाल, नगरकोटलगायतका किसान र डेरीबाट ल्याएको गाई तथा भैँसीको दूध ल्याउने बताउँछन्। दूधलाई दाउराको चुलोमा भकभकी उमालेर बाक्लो बनाएरपछि त्यसमा चिनी, मसलाहरु हालेर माटोको भाँडोमा भुसमाथि राखेर उम्लिएको दूध हालेर माथिबाट माटोको भाँडो र त्यसमाथि जुटको बोराले छोपेपछि तीनदेखि चार घण्टामै लटक्क जमेको दही तयार हुन्छ।

परम्परागत प्रक्रियाबाट उत्पादन हुने दहीको माग उच्च रहने भन्दै सैजुले दहीको माग धेरै आएपछि सबैको अर्डर लिन नसकिएको बताए । आफूहरुले परम्परालाई शैलीलाई नछाडे पनि धेरैले आधुनिक प्रविधिमा दही बनाउँदा जुजु धौको गुणस्तर घट्दै गएकामा व्यवसायी नै चिन्ता व्यक्त गर्छन्।

जुजु धौ भन्दैमा हुँदैन यो पनि धेरै प्रकारका हुन्छन्, सामान्य दही, मसलादार दही, खुवा हालेको दहीलगायतका फरक फरक दहीको मूल्य पनि फरक फरक पर्ने गरेको छ । अहिलेका कैयौं व्यवसायीले भने जुजु धौकै नाममा ‘फ्रिज’मा दही जमाएर बिक्री गर्ने गर्दा जुजु धौको गुणस्तर र महत्व घट्दै गएको सुकुलढोकामा पुस्तौँदेखि जुजु धौ बनाउँदै आएको राम सैजु बताउँछन्।

उनले भने, ‘जुजु धौ भक्तपुरको पहिचान हो, जुजु धौलाई चक्कुले टुक्राटुक्रा पारेर काट्न सकिन्छ, त्यसबाट पानी आउँदैन, दहीको कतारोलाई घोप्ट्याउँदा पनि दही हल्लिने र पोखिने हुँदैन तर अचेल बजारमा पाइने कतारो सामान्य हल्लियो भने पनि दहीबाट पानी आउने एवं स्वाद नै नहुने र प्लाष्टिकका भाँडोमा बनाएको दहीको स्वाद र गुणस्तर हुँदैन, दहीमा मिसावटले पनि चुनौती थपिएको छ।’ भक्तपुरका व्यवसायीले ताप सन्तुलन, मौलिक भिउँट र उच्च गुणस्तरयुक्त दूधको प्रयोग गरेर जुजु धौ बनाउने गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad