नेपाल चेम्बर अफ कमर्स र अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) का उच्चस्तरीय प्रतिनिधिबीच नेपालको वर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले भोग्नुपरेका कठिनाइ, आगामी आर्थिक वर्षको बजेट लगायतका विषयमा छलफल भएको छ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा मुलुकको औद्योगिक र व्यावसायिक वातावरण, कोभिड पछिको अर्थतन्त्र, आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीतिलगायतका विषयमा केन्द्रित भएर छलफल भएको हो।
आईएमएफका प्रतिनिधिसँग चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्रको वर्तमान समस्यालाई सम्बोधन गर्नेगरी आगामी आर्थिक बर्षको बजेट आएकाले निजी क्षेत्रमा आशा पलाएको बताए।
उनले भने, ‘सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन र निजी क्षेत्रले दिएका सुझावका आधारमा नै आगामी अर्थिक बर्षको बजेट ल्याएको छ। बजेट समग्रमा सन्तुलित छ। कार्यान्वयनको पाटो प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छौँ।’
६ प्रतिशतको आर्थिक वृद्धि गर्ने गरी ल्याइएको बजेटको लक्ष्य पूरा गर्नका लागि सोहीअनुसारको सहजीकरण हुनेगरी मौद्रिक नीति आउनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए।
कोभिड १९ पछि अंगीकार गरिएका संकुचित नीतिहरुका कारण निजी क्षेत्रले धेरै ठूलो क्षति व्यहोर्नुपरेको र वर्तमान आर्थिक शिथिलताको कारण पनि सोही नीतिहरु नै रहेको अध्यक्ष अग्रवालले बताए। मुलुकको अर्थतन्त्र केही दबाबमा रहे पनि आगामी बजेटको प्रभावकारी कार्यान्वयन हुनसके अधिकांश समस्या सम्बोधन हुनेमा आफूहरु विश्वस्त रहेको अध्यक्ष अग्रवालले बताए।
नेपालमा प्रचुर सम्भावना भएको भन्दै अध्यक्ष अग्रवालले, उपयुक्त आर्थिक नीतिहरु अंगिकार गरिए उच्च आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन नहुने अध्यक्ष अग्रवालले बताए।
आईएमएफ मिसन चिफ डा. सर्वात जाहान नेतृत्वको प्रतिनिधिमण्डललले चेम्बर पदाधिकारीहरुसंगको भेटमा नेपालको वर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले भोग्नुपरेका समस्या, आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति लगायतका विषयमा जिज्ञासा राखेका थिए।
Shares

प्रतिक्रिया