अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/ ८३ को बजेट वक्तव्यको तयारीमा व्यस्त छ।
आगामी बजेटमा विभिन्न क्षेत्रहरुबाट प्राप्त सुझावहरुलाई समेत ध्यानमा राखेर उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उनको टिम बजेट निर्माणमा जुटिरहेको हो।
अर्थ मन्त्रालयले यसअघि नै आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणबारे मन्त्रालयहरु, विभागहरु, राष्ट्रिय योजना आयोग, राजनीतिक दल, जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका विज्ञहरुसँग परामर्श गरिसकेको छ।
त्यस्तै अर्थमन्त्री पौडेलले पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग परामर्श गरिसकेका छन्।
आगामी बजेटका लागि मन्त्रालयलाई पूर्वअर्थमन्त्रीहरू, पूर्वअर्थसचिवहरु, अर्थविद्हरु, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायतका विषयतगत संघ/संस्थाहरू र नेपालका विकास साझेदारहरूले पनि छलफल र अन्तर्क्रियामार्फत आवश्यक सुझाव दिइसकेका छन्।
नयाँ बजेटमा समावेश हुने सरकारको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त र प्राथिमकताबारे संसदमा छलफल भइसकेकोले धमाधम अन्तिम मस्यौदा निर्माण भइरहेको मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले मुलुकको आवश्यकता तथा जनअपेक्षा, उपलब्ध साधन स्रोतको सीमा र प्राप्त सुझावहरुलाई ध्यान दिएर बजेट निर्माणको काम अघि बढाइरहेको जानकारी दिए।
उनका अनुसार बजेटका सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्रमा सुधार, रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्रको निर्माण, भौतिक पूर्वाधारको विकास, सामाजिक सुरक्षा लगायतलाई क्षेत्रगत प्राथमिकतामा राखिएको छ।
जेठ १४ गते संसदमा आर्थिक सर्वेक्षण र जेठ १५ गते बजेट वक्तव्य पेस हुनेछ भने संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते संघीय दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्रीले बजेट पढेर सुनाउनेछन्।
Shares

प्रतिक्रिया