कारोबार


एक लाख पनि लगानी नगरेको जुत्ता धुने व्यवसायबाट महिनामै लाख कमाउँछन् २४ वर्षका पाल्देन

एक लाख पनि लगानी नगरेको जुत्ता धुने व्यवसायबाट महिनामै लाख कमाउँछन् २४ वर्षका पाल्देन

उनले व्यवसायको लागि १ लाख रुपैयाँ पनि खर्च गरेका छैनन् (तस्बिर : सरोज नेपाल)


नेपालखबर
फागुन २१, २०८१ बुधबार ८:२९, काठमाडौँ

भनिन्छ, समस्यासँगै समाधान पनि हुन्छ। तर कसरी थाहा पाउने भन्ने कुरा भोग्नेमा निर्भर गर्छ। 

यस्तो बेला उपाय खोज्नसके त्यसले अन्य अवसर पनि दिनसक्छ भन्छन् ‘ब्रान्डेड’ जुत्ताका सौखिन पाल्देन शेर्पा। 

सामान्य सर्फ र पानीले आफ्ना महँगा जुत्ता धुन्थे उनी। यही ‘हेलचक्र्याइँ’ उनलाई एक दिन महँगो साबित भयो। जुत्ता बिग्रियो। मन परेको जुत्ता कसरी मिल्काउनु! सकेनन्। 

यसको हल खोज्न थाले। इन्टरनेटमा पसे। जुत्ता सफाइको सोधखोज गरे र थाहा पाए- छुट्टै किटले सफा गर्दा जुत्ता नबिग्रिने रहेछ। 

अस्ट्रेलिया बस्ने दिदीलाई जुत्ता सफा गर्ने किट पठाउन भने। ६–७ जोर आफ्नै जुत्ता थिए। एक प्याकेट ‘लिक्विड’ले ६० जोर जुत्तासम्म सफा गर्न सकिने रहेछ। यहीँबाट व्यवसायमा पस्ने विचार पलायो।  

‘मेरोजस्तै समस्या त अरुको पनि हुन्छ, किन यसलाई व्यवसायमै नबदल्ने?’, शेर्पाले सोचे, ‘फेरि, विदेशमा जुत्ता धुने व्यवसाय राम्रै चलेका पनि छन्।’

यद्यपि, नेपालको बजारमा जुत्ता धुने व्यवसाय खासै फस्टाएको थिएन। थोरै ‘रिसर्च’ गरे। १–२ कम्पनीले सुरु गरिसकेका रहेछन्। तर राम्रोसँग व्यवसायमा परिणत गर्न नसकेका। 

यसलाई स्टार्टअप व्यवसायको रुपमा विस्तार गर्ने सुर चल्यो। नभन्दै, अहिले शेर्पाले सुरु गरेको व्यवसाय एक वर्ष नपुग्दै बढ्दै गएको छ। अब यसलाई दीर्घकालसम्मै ठूलो व्यवसाय बनाउनसक्ने आत्मविश्वास उनमा जागेको छ। 

अहिले स्निकर्स लन्ड्रीले शेर्पालाई फरक सोचबाट आएका व्यवसायी बनाउँदै छ। 

घरमा जुत्ता सफा गर्नु र स्निकर्स लन्ड्रीमा पठाउँदा फरक हुने उनी बताउँछन्। 

‘घरमा साबुन सर्फ जे भेटिन्छ, त्यसैले धोइन्छ। यसले जुत्ताको कलर (रंग) छिट्टै उड्छ’, उनले नेपालखबरसँग भने, ‘सामान्य जुत्ता १० वर्ष टिक्छ भने घरमा धुँदा ४–५ वर्षमै कलर जान्छ। जुत्ता धुनकै लागि छुट्टै किटहरु छन्।’

व्यवसायी वा महिनामा बढी आम्दानी गर्नेहरु उनका ग्राहक बनेका छन्। सर्फ र पानीले धुँदा कहिले कलर जाने त कहिले छाला निस्किने समस्या व्यहोरेका तिनै ग्राहक स्निकर्स लन्ड्रीमा आउँछन्। 

उनीहरु शेर्पाका नियमित ग्राहक हुन्। अधिकांश नेपालीका परिवार–सदस्य विदेशमा हुन्छन्। उनीहरुले ब्रान्डेड जुत्ता कोसेली पठाउँछन्। र, यहाँ लगाउने अधिकांशलाई महँगो जुत्ता केयर गर्नुपर्छ भन्ने लाग्छ। र शेर्पा त्यस्ता जुत्ताको केयर गरिदिन्छन्। 

‘मलाई स्टार्टअप व्यवसाय नै हो जस्तो लाग्छ’, उनले भने, ‘किन कि हाम्रो ग्राहक दैनिक बढिरहेका छन्।’

सेकेन्ड ह्यान्ड जुत्ता बेच्ने सोचबाट लन्ड्रीमा
त्यसो त उनी सेकेन्ड ह्यान्ड जुत्ता खरिदबिक्रीबाट यो व्यवसायमा पसेका हुन्। 

केही नेपालीले जुत्ता साटासाट गरे पनि व्यावसायिक बन्न सकेन। त्यसपछि उनले यसलाई विस्तारै स्निकर्स लन्ड्रीमा लगे। ‘लन्ड्री व्यवसाय’ सुरु गर्न अंकलले सुझाएको उनी बताउँछन्। 

शेर्पाले प्रतिजोर जुत्ता सफा गरेको ५०० रुपैयाँ लिने गरेका छन्। पिकअप एन्ड ड्रप गन्तव्य हेरेर शुल्क लिन्छन्। बौद्ध, कपन, चाबहिल क्षेत्रमा उनी १०० देखि १५० रुपैयाँमै ‘पिकअप एन्ड ड्रप’ गर्छन्।

एकै व्यक्तिले धेरै जोर जुत्ता सफा गर्न दिए पिकअप एन्ड ड्रप चार्ज नलिने गरेको उनको भनाइ छ। १–२ जोर जुत्ता मात्रै पिकअप गर्दा भने शुल्क लिने गरेका छन्।

‘केही ग्राहकले एकै पटक १०–१२ जोर जुत्ता नै सफा गर्न दिन्छन्’, शेर्पा भन्छन्, ‘ती ग्राहक महिनामा २ पटक आउँछन्।’

एकै ग्राहकले २० जोरसम्म ब्रान्डेड जुत्ता राख्ने गरेको उनले सुनाए।

शेर्पाका अनुसार १ लाख पर्ने एलभी, गुचीका जुत्ता समेत सफा गर्न ग्राहक आउने गरेका छन्।

‘सुरुमा नेपालमै खरिद गरेका ५–६ हजारका जुत्ता आउने गरेका थिए’, उनले सुनाए, ‘अहिले ३० हजारदेखि ६० हजारसम्म पर्ने जुत्ता सफा गर्न पठाउँछन्।’ 

हरेक महिना ६० प्रतिशत नयाँ ग्राहक आउने गरेको उनको भनाइ छ। 

त्यसमा अधिकांश ग्राहक इन्स्टाग्रामबाट थाहा पाएर आउँछन्। शेर्पाले जुत्ता पिकअप गरेको बढीमा ४ दिनमा पुर्‍याइदिन्छन्। 

उनले अहिले बुटहरु पिकअप गर्दैनन्। स्निकर्स, स्वेट लेदर जुत्ताहरु मात्र लन्ड्रीका लागि लिन्छन्। केही ग्राहकले सिलाउने र टाल्ने जुत्ता समेत पठाउने गरेका छन्। शेर्पाले जुत्ता सफा गरेर लोकल भेन्डरबाट मर्मत गराई ग्राहकलाई डेलिभरी गर्छन्।

उनका अनुसार जुत्ताको कलर खुइलिएको भए कलर गर्न मिल्छ तर पूरै च्यातिनलागेको जुत्ता कलर गर्न मिल्दैन। गरे पनि धेरै टिक्दैन। 

अहिले शेर्पासँगै थप २ जनाले काम गरिरहेका छन्। उनीहरुलाई पारिश्रमिक दिएरै मासिक १ लाख बढी बचत हुने गरेको उनको भनाइ छ।

बुबाको प्रेरणा, पोखरामा आउटलेट खोल्ने योजना
शेर्पाको परिवार नै व्यवसायमा लागेको थियो। दिदी अस्ट्रेलिया गए पनि बुबाले नेपालमै केही गर्न सुझाए। 

जागिर खानुभन्दा व्यवसाय गर्दा राम्रो हुने उनलाई लाग्यो। सानै भए पनि आफ्नै व्यवसाय गर्दा राम्रो हुने सोचले सुरु गरेका उनी अहिले सफल हुँदै गएका छन्। 

२४ वर्षका शेर्पाले पहिला माछा, कुकुरको आहारा बिक्री सुरु गरेका थिए। तर त्यसलाई जमाउन सकेनन्। ‘स्निकर्स थ्रिफ्ट स्टोर नेपाल’ स्थापना गरेपछि भने व्यवसाय दीर्घकालसम्मै जाने देखेको उनी सुनाउँछन्।

अहिले काठमाडौँको गोकर्णेश्वरमा यसको आउटलेट छ। त्यहाँ उनी अधिकांश समय आफैँ जुत्ता पिकअप र ड्रप गर्न पुग्छन्। अनलाइनबाटै जुत्ता संकलन हुने भएकाले थप आउटलेट राख्नुपर्ने आवश्यकता पनि छैन। 

शेर्पा भन्छन्, ‘काठमाडौँ, ललितपुर र भक्तपुरमा जहाँ पनि सर्भिस दिन सक्छौँ।’

उनको व्यवसाय चाँडै काठमाडौँबाहिर समेत फैलिँदै छ। पोखरा, चितवन, मोरङ, सुनसरी, रुपन्देहीलगायतका ठाउँबाट समेत उनीकहाँ जुत्ता आउने गरेका छन्।  

‘सबै ठाउँमा आउटलेट खोल्न त सम्भव हुँदैन’, शेर्पा भन्छन्, ‘तर पोखरामा विदेशी पर्यटकसँगै विदेश जाने आउने नेपाली बढी हुँदा व्यवसाय चल्ने देखिन्छ।’

उनले व्यवसायका लागि १ लाख रुपैयाँ पनि खर्च गरेका छैनन्। 

ललितपुरको झम्सिखेल, भैँसेपाटी, काठमाडौँको लाजिम्पाट, बूढानीलकण्ठ, स्वयम्भू क्षेत्रका बासिन्दा उनका बढी ग्राहक छन्। 

अपार्टमेन्ट, हाउजिङमा बस्नेहरुले बढी सेवा लिने गरेको उनी बताउँछन्। 

उनी भन्छन्, ‘धेरै व्यस्त हुने, अफिस जानेहरुले हाम्रो नयाँ व्यवसायलाई रुचाइरहेका छन्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad