नेपाल बिमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्य प्रसाद सिलवालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्।
विशेष अदालतका न्यायाधीशहरू तेज नारायण सिंह राई, राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सिलावाललाई सफाइ दिने फैसला सुनाएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध कानुनविपरीत ९ महिनासम्म पदमा रहेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अध्यक्ष सिलवाल कानुनविपरीत गएर ६५ वर्षको उमेरमा अवकाश नभइ ९ महिनासम्म पदमै रहेको, नागरिकतामा पटकपटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको अख्तियारको आरोप रहे पनि उनले अदालतबाट सफाइ पाएका हुन्।
सिलवालले जिल्ला प्रशासन कार्यालय, पर्साबाट २०३२ फागुन २४ गते नेपाली नागरिकता प्राप्त गर्दा १६ वर्ष भएको उल्लेख गरेको तर जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट २०६६ वैशाख १७ गते नागरिकताको प्रतिलिपि लिँदा जन्ममिति २०१६ कात्तिक २२ गते कायम गरेको अख्तियारको भनाइ छ।
उनको नागरिकता र शैक्षिक प्रमाणपत्रमा पनि जन्ममिति फरक फरक रहेको अख्तियारको भनाइ थियो।
सिलवाललाई झुटो जन्ममिति कायम गरी सरकारी ओहोदामा रहेर आर्जन गरेको ३६ लाख ६२ हजार १ सय ५४ रुपैयाँसमेत जफत गर्न अख्तियारले मागदाबी गरेको थियो।
Shares

प्रतिक्रिया