ad ad

कारोबार


उफ् ! फेरि पनि सरकारलाई गुनासो पोख्न पाएनन् यी उखु किसानले

उफ् ! फेरि पनि सरकारलाई गुनासो पोख्न पाएनन् यी उखु किसानले

नेपालखबर
चैत ७, २०७६ शुक्रबार १२:१६,

यही चैत ४ गतेदेखि आन्दोलनको घोषणा गरेका एक सय उखु किसान अहिले काठमाडौंमा छन्।

कोरोना भाइरस संक्रमणको त्रासका कारण सरकारले भीडभाड नगर्नु भन्ने निर्देशन जारी गरिसकेको छ। निर्देशनसँगै उखु किसानहरुले आन्दोलन समेत रोकेका हुन्।

सरकारले सबैलाई घरभित्र बस्नु भनेको छ। सकेसम्म घरभित्र बस्नु, कसैलाई भेट्न नजानु, कसैलाई भेट्न पनि नबोलाउनु भनेको छ। घरभित्र बसेर के खानेचाहिँ उनीहरुको चिन्ता छ।

उखु किसान रामविलास महतो भन्छन्, ‘हाम्रो आम्दानी नै उखु हो। गत वर्षको पूरै भुक्तानी हामीले लिन बाँकी छ। विगतको पनि केही मात्रामा हामीले भुक्तानी लिन बाँकी छ। यो वर्षको त कुरै छोडौं। हाम्रो जीविका कसरी चलाउने योबारे सरकार चिन्तित नै छैन।’

त्यस्तै काठमाडौं आएका अर्का उखु किसान उमेश यादव पनि उद्योगीहरु त बदमास भए भए अब सरकारले पनि दायित्व बोध नगरेको बताउँछन्।

पुसमा आन्दोलन किसानहरु आन्दोलनमा आउँदा सरकारले उद्योगीबाट बक्यौता रकम जसरी पनि उठाइदिने प्रतिबद्धता जाहेर गरेको थियो। तर अहिलेसम्म उनीहरुले पाएका छैनन्। यसले आफूहरु पीडामा परेको उनले दुःखेसो पोखे।

याे पनिः
उखु किसानले फेरि आन्दोलन गर्ने, चैत ४ देखि माइतीघरमा अनशन बस्ने घोषणा

उनी भन्छन्, ‘सरकारले फागुनसम्म जसरी पनि पैसा उठाइदिने प्रतिबद्धता जाहेर गरेको थियो। तर जाहेर गरेको प्रतिबद्धताअनुसार केही पनि भएन। फागुनसम्म पैसा आउने आशामा हामीले धेरै योजनाहरु बनाइसकेका थियौँ।’

अहिले साथमा पैसा समेत छैन। त्यसमाथि विश्व महामारी (कोभिड १९)को कारण सरकारले घरभित्रै बस्न सतर्क गराएको छ।

तर के खाएर बस्नु ? सरकारले आफूहरुलाई न्यायको लोभमा अन्यायमा पारेको उनीहरु बताउँछन्।

उखु किसानहरु चिनी उद्योगीलाई उखु बिक्री गर्छन्। तर नेपालमा अन्य वस्तु बिक्री गरेजस्तो तत्कालै नगद पाउँदैनन्। उद्योगीहरुले उखुको चिनी बनाएर बिक्री गरिसकेपछि मात्रै उनीहरुलाई पैसा भुक्तानी दिन्छन्।

यो चलन विगतदेखि नै चलिरहेको छ। केही उद्योगीहरुले बदमासी गर्दा किसानहरुले आफैँले बेचेको वस्तुको आम्दानी हात पार्न पाएका छैनन्। फलतः वर्षौँदेखि बक्यौता रहँदै आएको छ।

यसबारे पटक–पटक किसानहरुले आन्दोलन गर्दै आइरहेका छन्। यो वर्ष पुसमा किसानहरु काठमाडौं नै आएर आन्दोलन गरे। त्यसको प्रभावस्वरुप सरकारले समेत उनीहरुको माग सम्बोधन गर्यो। उद्योगीहरुलाई बक्यौता तिर्न दबाब पनि दियो। केही उद्योगीले बक्यौता तिरे पनि धेरैले दिएनन्। त्यसको मार किसानहरुलाई परेको हो।

उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्कअनुसार एभरेष्ट सुगर मिलले ८ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ।

बक्यौता रहेका उद्योगहरुमा महालक्ष्मी सुगर्सको १० करोड रुपैयाँ छ। अन्नपूर्ण सुगर एन्ड जनरल र इन्दिरा सुगर एन्ड एग्रो प्रालि उद्योगका सञ्चालक राकेश कुमार अग्रवाल हुन्। उनका यी दुई उद्योगको बक्यौता ३८ करोड रुपैयाँ छ।

लुम्बिनी चिनी उद्योगले १० करोड ७४ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ। त्यस्तै श्रीराम सुगर मिल्सको २६ करोड ७७ लाख ७८ हजार ६ सय २३ बक्यौता भुक्तानी बाँकी रहेकोमा किसानसँग सम्झौता भइसकेको मन्त्रालयले जनाएको छ।

बाबा बैजुनाथ चिनी उद्योग र बागमती खाँडसारी मिल्स प्रालि सम्पर्कबिहीन भएका छन्। यी दुई उद्योगको ८ करोड ४१ लाख रुपैयाँ बक्यौता छ।

याे पनिः 
‘उखु उधारोमा मिलमा पुर्‍याउनुपर्छ, आँप किन्न नगद बोकेर बगैँचामै आउँछन्’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .