कारोबार


सेयर कर्जा अहिलेसम्मकै उच्च तर किन बढिरहेको छैन सेयरको माग?

सेयर कर्जा अहिलेसम्मकै उच्च तर किन बढिरहेको छैन सेयरको माग?

सम्झना घिमिरे
माघ १, २०८१ मंगलबार १६:४५, काठमाडौँ

माग र आपूर्तिमध्ये मागले जितेको अवस्थामा सेयरबजार परिसूचक (नेप्से) सँगै कारोबार रकम र सूचीकृत कम्पनीको पनि सेयरमूल्य बढ्ने गर्छ। माग बढाउन सरकारले चालु आर्थिक वर्षबाट मौद्रिक नीतिमा लचकता अपनाइसकेको छ। यसले सेयरमा जाने कर्जा बढाएर खर्बमा उक्लिसक्दा पनि माग भने बढाउन सकेको देखिँदैन। 

चालु आर्थिक वर्षको पाँच महिनामा सेयरमा लगानी गर्नकै लागि लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट खर्बमाथिको ऋण लिइसकेका छन्। हरेक महिना बढिरहेको यस्तो कर्जाले दोस्रो बजारमा हुने सेयरको मागमा भने कुनै परिवर्तन ल्याउन सकेको छैन। बरु कर्जा बढेकै महिना सेयरमा क्रेताभन्दा बिक्रेता हाबी हुँदै आएका छन्। यसले कर्जा बढे पनि दैनिक औसत कारोबारलाई ५ अर्ब हाराहारीमा खुम्च्याउन पुगेको छ। पछिल्लो एक महिनाको बीचमा भएका २० कारोबार दिनको हिसाब गर्दा दैनिक औसत ५ अर्ब २५ करोड रूपैयाँको कारोबार भएको देखाउँछ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट लगानीकर्ताले सेयर धितो कर्जाका लागि १ खर्ब ७ अर्ब रुपैयाँ ऋण रुपैयाँ लिएका छन्। यो अंक अहिलेसम्मकै धेरै हो। 

नेपालको पुँजीबजारमा अहिलेसम्मकै उच्च विन्दुमा नेप्से पुग्दा लगानीकर्ताले १ खर्ब ६ अर्ब रुपैयाँ ऋण लिएका थिए। २०७८ भदौ ३ मा नेप्से ३२ सय २७ अंकसम्म पुगेको थियो।

आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म लगानीकर्ताले १ खर्ब ६ अर्ब ऋण लिएकामा चालु आवको ५ महिनामै त्यो रेकर्ड तोड्दै लगानीकर्ताले १ अर्ब धेरै ऋण लिएका छन्। पछिल्लो पाँच महिनासम्मको तथ्यांक हेर्दा लगानीकर्ताले १ खर्ब ७ अर्ब रुपैयाँ ऋण लिइसकेका छन्। 

आर्थिक वर्ष २०७६/७७ मा ५० अर्ब ४० करोड मात्र सेयर धितो कर्जा प्रवाह भएको थियो भने २०७७/७८ मा १ खर्ब ६ अर्ब २८ करोड पुगेको थियो।

आव २०७८/७९ मा ८० अर्ब ५० करोड मात्रै सेयर धितो कर्जा प्रवाह भएको थियो। २०७९/८० मा ७६ अर्ब ३० करोड रहेको यस्तो कर्जा २०८०/८१ मा ९० अर्ब ९ करोड रुपैयाँ पुगेको थियो।

सामान्यतः लगानीकर्ताले सेयर धितोमा राखेर लिने ऋण सेयर खरिदमा लगाउने मानिन्छ। यसर्थ बैंक तथा वित्तीय संस्थाबाट गएको ऋणअनुसार धितोपत्रको दोस्रो बजारमा माग बढ्ने र घट्ने गर्छ। तर, पछिल्लो ५ महिनायताको अवस्था भने फरक देखिएको छ। 

हरेक महिना लगानीकर्ताले सेयर धितो कर्जा लिने क्रम बढाए पनि त्यसको प्रभाव दोस्रो बजारको सेयर मागमा देखिन छोडेको छ। 

यो पाँच महिनामा लगानीकर्ताले सर्वाधिक २९ करोड ९५ करोडको दैनिक कारोबार गरेर नयाँ रेकर्ड राखे पनि त्यसयता कारोबार अंक खस्किँदै गएको छ। ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष सन्तोष मैनाली ऋण प्रवाह बढे पनि त्यसको असर बजारमा नदेखिएको मान्छन्। भन्छन्, ‘कर्जा बढेपछि लगानी बढ्नुपर्ने हो तर अहिलेको अवस्था अलि फरक छ। कर्जा लिएर पनि अहिलेको बिक्री चापलाई धान्न सकिरहेका छैन।’ 

उनका बुझाइमा, नियामक निकाय धितोपत्र बोर्ड ११ महिनासम्म नेतृत्वविहीन हुँदा अर्निणित बन्दा कम्पनीहरूले एफपीओ तथा राइटसेयर निष्कासन गर्न पाएका थिएनन्। प्रमोटर सेयरसमेत साधारण सेयरमा परिणत गर्न पाएका थिएनन्। लामो समय पाइपलाइनमा रहेका यी कम्पनीहरू धमाधम नेप्सेमा आउन थालेपछि त्यसले बजारको आपूर्ति बढाएको पाइन्छ। 

खर्बमाथिको कर्जाले दोस्रो बजारमा माग बढाउने निश्चित देखिए पनि एकैपटक धेरै सेयरहरू सूचीकृत हुँदा त्यसले आपूर्ति बढाएर माग घटाउन पुगेको मैनालीको विश्लेषण छ।

भन्छन्, ‘सामान्य समय हुँदो हो त सेयरमा १ खर्बमाथिको कर्जा जाँदा त्यसले बजारमा माग सिजना गर्थ्यो। यसले सूचकांक बढाउन सक्थ्यो। अहिले ११ महिना रोकिएका कामहरू धमाधम भइरहेका छन्। यतिखेर कम्पनीहरूको राइट सेयर, प्रमोटर सेयर, एफपीओहरू सूचीकृत धेरै भइरहेका छन्। यसले पनि आपूर्ति बढाएको छ तर सोहीअुनसार माग भने बढाएको छैन।’

तर, कतिपय विश्लेषकहरूले सेयर धितो राखेर लिइएको कर्जा सेयर खरिदमै प्रयोग नभएर व्यक्तिगत उपभोगमा गएको हुन सक्ने आकलन गरेका छन्।

बैंकिङ अनलराज भट्टराई भन्छन्, ‘सेयरकर्जा सीमामा पुगेको सत्य हो तर यसले मागमा असर पारेको छैन। दैनिक ५-६ अर्बको कारोबार भइरहेको बजारमा १०७ अर्बले कति दिन धान्छ र? सेयरलाई तरल सम्पत्तिको रूपमा लिइने हुँदा सेयर धितोकर्जा पनि व्यक्तिगत उपभोगका लागि प्रयोग भएको पाइन्छ। संस्थागत लगानीकर्ताले सेयर खरिदमै कर्जा प्रयोग गरे पनि व्यक्तिगत लगानीकर्ताले उपभोगमा पनि खर्च गर्ने हुनाले कर्जाको प्रभाव मागमा नदेखिन सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad