सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना हरेक कर्मचारीलाई १ हजार अमेरिकी डलर बोनस दिने भएको छ। कोरोना भाइरसका कारण अप्ठ्यारोमा परेको भन्दै फेसबुकले उक्त सहयोग गर्नलागेको सीएनएनले जनाएको छ।
प्रतिकूल परिस्थितिमा घरबाटै काम गरिरहेका, टाढाका र चाइल्ड केयरमा खर्च गरिरहेका कर्मचारीलाई सघाउनका लागि उक्त सहयोग गर्ने बताइएको छ। फेसबुकका विश्वभर ४५ हजार कर्मचारी छन्। १ हजार डलर भने पूर्णकालीन रोजगारी गरिरहेका कर्मचारीले पाउनेछन्।
कोरोना भाइरसको संक्रमण फैलिनथालेपछि फेसबुक, ट्विटर, गुगलजस्ता कम्पनीले घरबाटै काम गर्न कर्मचारीलाई प्रेरित गरेका थिए।
३० देशले पनि सहयोग पाउने
यसैबीच, कोरोनाबाट प्रभावित साना व्यवसायलाई सघाउने उद्देश्यले कम्पनीले ३० देशमा १० करोड खर्च गर्ने भएको छ। फेसबुकका सीओओ शर्ल स्यान्डबर्गका अनुसार यसबारे विस्तृतमा फेसबुकले प्रक्रियागत कुराहरु सार्वजनिक गर्नेछ।

प्रतिक्रिया