पर्यटकीय राजधानी पोखरामा दोस्रो ड्रागन बोट रेस आयोजना हुने भएको छ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा रेस सञ्चालन हुने भएको हो।
पुस १४ र १५ गते आयोजना हुन लागेको ड्रागन बोट प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका ११, चीनका ८ र सिंगापुरका एक गरी २० वटा समूहको सहभागिता रहने आइतबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइएको छ।
२ सय मिटर र ५ सय मिटर दूरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दूरीका प्रथम हुने विजेता समूहले पाँच हजार डलर, उपविजेताले दुई हजार डलर, तृतीयले १ हजार २०० सय डलर पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी, सहभागी बाँकी १७ वटा समूहलाई प्रतिसमूह पाँच सय डलर पनि प्रदान गरिनेछ।
ड्रागन बोटको दोस्रो संस्करण पनि फेवातालमै हुनेछ। चीन सरकारकै अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन बोट फेस्टिवल पटक सफलतापूर्वक आयोजना गरिएको थियो। चीनले यस खालका प्रतियोगिता विश्वका ५० वटा देशमा आयोजना गर्ने गरेको छ।
सो अवसरमा बोल्दै नेपालका लागि चिनियाँ राजदूतावासमा डेपुटी चिफ अफ मिसन वान सिनले प्रतियोगिताले नेपाल र चीनका नागरिकबीच सुमधुर सम्बन्ध स्थापित हुनाको साथै नेपालको पर्यटन प्रवर्द्धन हुने अपेक्षा राखिएको बताए।
चिनियाँले मनाउने यस पर्वलाई सन् २००९ देखि युनेस्कोले मानवताको अमूर्त सांस्कृतिक सम्पदा मानेको छ। चीनमा प्रचलित लुनार क्यालेण्डरको पाँचौँ महिनाको ५ गते चीनमा ड्रागन बोट फेस्टिभल आयोजना हुन्छ।
चीनका विभिन्न प्रान्तमा ३ देखि ७ दिनसम्म यस चाड मनाउने परम्परा छ। यस चाड मनाउन चीन सरकारले सार्वजनिक विदा दिएको हुन्छ। चिनियाँ भाषामा ‘डुआन्वु जी’ भनिने ड्रागन बोट फेस्टिभल चीनको चारवटा ठूला चाडमध्ये एक हो।
सन् २०१९ मा चीनबाट १ लाख ६९ हजार ५३४ जना र २०२३ मा ६० हजार ८७४ पर्यटकले नेपाल भ्रमण गरेका थिए। सन् २०२४ को जनवरी देखि नोभेम्बरसम्म ९२ हजार ८४८ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन्।
Shares

प्रतिक्रिया