कारोबार


विपद् पछिको पुनर्निर्माणमा १५ अर्ब लाग्ने प्रारम्भिक अनुमान छः भौतिक मन्त्री दाहाल

विपद् पछिको पुनर्निर्माणमा १५ अर्ब लाग्ने प्रारम्भिक अनुमान छः भौतिक मन्त्री दाहाल

फाइल तस्बिर


नेपालखबर
कात्तिक ७, २०८१ बुधबार ११:२५, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपद् पछिको पुनर्निर्माणमा सरकार गम्भीर भएर लागेको बताएका छन्। 

मंगलवार रामेछापको मन्थलीमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार काम गर्नकै लागि बनेकाले नागरिकको सहजताका लागि आवश्यक पुनःनिर्माणको काम गरिरहेको बताए। उनले सरकारले आफ्नो गतिमा काम गर्दागर्दै विपद् आएपछि सरकारका प्राथमिकताहरु परिवर्तन भएको बताए। 

उनले सरकारले बाढी पहिरोबाट पीडित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित भइ काम गरिरहेको बताए। विपद्का कारण सबैभन्दा बढी क्षति सडक र पुलपुलेसामा भएको उनको भनाइ छ।

‘यस पटकको बाढी, पहिरोले ठूलो क्षति पुयार्‍यो,’ दाहालले भने, ‘यो क्षतिमध्ये सबैभन्दा बढी सडक र पुललाई नै क्षति पुगेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत नै साढे ६ अर्ब भन्दा बढीको क्षति भएको छ। त्यो पुनर्निर्माण गर्नलाई त्यतिले पुग्दैन। १५ अर्ब ३३ करोड लाग्ने प्रारम्भिक अनुमान छ। त्यसैले हामीले प्राथमिकता छुट्याएर काम गर्नुपर्ने भएको छ।’

उनले पुल निर्माणलाई पहिलो प्राथमिकता दिएको बताए।  उनले भने, ‘सबैभन्दा पहिलो प्राथमिकता हामीले यो पुललाई दिएका हौँ। यो पुल पूर्वी क्षेत्रलाई राजधानीसँग जोड्ने लाइफलाइन भएकाले पहिलो प्राथमिकता दिएका छौँ। हामीले चार चरणमा काम गरेका छौँ। उद्धारको काम समापन गरेका छौँ।’

गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीले बगाएको रामेछाप र सिन्धुली जोड्ने खुर्कोटमा रहेको सुनकोशी नदीको बेलिब्रिज पुल निर्माण सम्पन्न भइ सञ्चालन गरिएको छ। नेपाली सेना र सरकारले मिलेर पुल निर्माण शुरु भएसँगै यातायात सञ्चालनमा केही सहज हुने अपेक्षा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad