काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रिने क्रम सुरु भएको छ।
चौपाया खरिद बिक्री संघका अध्यक्ष सन्तोषबहादुर खत्रीका अनुसार बाढीपहिरोका कारण बाटो अवरुद्ध हुँदा खोटाङ, ओखलढुंगा, रामेछाप, सिन्धुली, उदयपुर र काभ्रेबाट खसीबोका ल्याउन कठिन भएको छ। हरेक वर्ष दसैँमा काठमाडौँ उपत्यकामा ४५ हजार खसीबोका ल्याइने गरेको छ। यसैगरी मनाङ र मुस्ताङबाट भेडाच्याङ्ग्रा र ल्याइँदै छन्।
काठमाडौँ उपत्यकामा अहिले तराईका खसी जिउँदो प्रतिकिलो रु ७ सय २० देखि ७ सय ५५, पहाडका खसी रु ६ सय ७० देखि ७ सय ५, बोका रु ६ सय ७० देखि ७ सय २० सम्म र च्याङ्ग्रा प्रतिकिलो रु १ हजार ३ सयमा बिक्री भइरहेका छन्। काठमाडौँ उपत्यकाको टुकुचा खोला किनारको बजारबाट ११ हजार खसीबोका बिक्री हुने गरेका अध्यक्ष खत्रीले जानकारी दिए।
सिङमा हरियो रङ छिटेको हेर्नुस्
यसैबीच पशु सेवा विभागले उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गर्दै खसीबोका बिक्री भइरहेका स्थानमा पशुचिकित्सकको टोली खटाएर अनुगमन एवं परीक्षण गरिरहेको छ।
टुकुचामा खसीबोका स्वास्थ्य परीक्षण गरिरहेका पशु चिकित्सक योगेन्द्रप्रसाद शर्माले रासससँगको कुराकानीमा भने, “स्वस्थ खसीबोका बिक्री हुन्छन्, बिरामी बेच्न दिइन्न।”
उनलेले स्वस्थ खसीबोकाको सिङमा हरियो र बिरामीलाई रातो रङ लगाएको जानकारी दिँदै स्वस्थ चौपाया खरिद गर्न सुझाव दिएका छन्।
Shares
प्रतिक्रिया