ad ad

कारोबार


डेडिकेटेड र ट्रंकलाइनको बिल काटेर नाफा देखाएको आरोप कुलमानले गरे अस्वीकार

घिसिङले भने– महालेखाको अडिटलाई गलत भन्ने?
डेडिकेटेड र ट्रंकलाइनको बिल काटेर नाफा देखाएको आरोप कुलमानले गरे अस्वीकार

तस्बिर : सरोज बैजु


नेपालखबर
साउन २५, २०८१ शुक्रबार १४:२४, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो कार्यकालको ३ वर्ष पूरा गरेको अवसरमा भएका प्रगतिविवरण सार्वजनिक गरेका छन्। 

प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो कार्यकालमा भएका महत्त्वपूर्ण प्रगतिविवरण सार्वजनिक गरेका हुन्। 

उनी पहिलो कार्यकालको ४ वर्ष पूरा गरेर १ वर्ष प्राधिकरणमा रहेका थिएनन्। दोस्रो कार्यकाल २०७८ साउन २५ बाट सुरु गरेका उनले आज ३ वर्ष पूरा गरेका हुन्। उनको अब १ वर्ष बाँकी छ। 

३ वर्ष पूरा हुँदा उनले कार्यसम्पादनमा आव २०७८/७९, २०७९/८० मा क्रमशः ९४.२३, ९८.९४ प्रतिशत अंक प्राप्त गरेको बताए। २०८०/८१ मा कार्यसम्पादन मूल्यांकन अगाडि बढेको उनको भनाइ छ। 

आफूले प्रसारण पूर्वाधार, विद्युतीयकरण, ठूला जलविद्युत् आयोजना निर्माण अगाडि बढाउने, निर्यातलगायतलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाइएको बताए। प्रविधिमार्फत स्वचालित गर्ने कार्यलाई अगाडि बढाइएको उनको भनाइ छ। 

आव २०७२/७३ मा विद्युतीयकरणको अवस्था करिब ५८ प्रतिशत रहेकामा ३ वर्षमा भएको उपलब्धि महत्त्वपूर्ण रहेको घिसिङले उल्लेख गरे। 

उनले भने, ‘८९ प्रतिशतबाट विद्युतीकरण ९९ प्रतिशतमा पुगेको छ। ८ वषअघि २९ लाख रहेको विद्युत् ग्राहकको संख्या सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ।’

त्यस्तै विकट बस्ती पहिचान गरी बाँकी विद्युतीकरण भइरहेको उनले सुनाए। आफ्नै स्रोतबाट सुकुम्बासी, चेपांगलगायतका घरमा निःशुल्क मिटर दिइएको, स्थानीय निकायसँग मिलेर स्मार्ट सडक बत्ती जडानबाट सहर उज्यालो बनाउने क्रम अघि बढेको उनको भनाइ छ। 

त्यसैगरी ८ वर्षअघि प्रतिवर्ष ३ अर्ब ३२ करोड युनिट बिजुली खपत हुने गरेकामा १० अर्ब २३ करोड युनिट पुगेको, प्रतिव्यक्ति बिजुली खपत १३१ युनिटबाट बढेर ४ सय युनिट पुगेको उनले जानकारी दिए। 

घर र बस्तीमा बत्तीबाल्न मात्र नभई उद्योग व्यवसायमा बिजुली पुर्याउन आन्तरिक खपत बढाउन सफलता प्राप्त भएको बताए। 

विद्युतीय सवारीसाधनको प्रयोग बढेको, भान्सामा विद्युतीय चुलो बल्नथालेको, पेट्रोलियम खपत घट्दा कार्बन उत्सर्जनमा सहयोग पुगेको उनको भनाइ छ। प्राधिकरणले ६२ वटा चार्जिङ स्टेसन आफैँले सञ्चालनमा ल्याएको उनको भनाइ छ। निजी क्षेत्रबाट बनेका ४ सय बढी चार्जिङ स्टेसन सञ्चालनमा आएको उनले जानकारी दिए। 

पछिल्लो समय प्राधिकरण निरन्तर नाफामा गइरहेको पनि उनले उल्लेख गरे। 

‘०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणले त्ण्सयता भने ती दिन फर्केर हेर्नुपरेको छैन’, उनले भने। 

आव २०७३/७४ मा १ अर्ब ५० करोड खुद नाफा कमाउन सुरु गरेको प्राधिकरणले गत आवमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको बताए। ८ वर्षअघि ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहे पनि प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड सञ्चित नापाmमा पुगेको बताए। 

धेरै ठाउँमा प्राधिकरणको नाफा कागजी नाफा भएको, डेडिकेटेड र ट्रंकलाइनको बिल काटेर देखाएको आरोप उनले अस्वीकार गरे। 

उनले भने, ‘प्राधिकरणले विगत ८ वर्षमा ३५ अर्बको सञ्चित घाटा माइनस गरेर पूर्ति गरेर ४७ अर्ब स नाफामा पुर्याउँदा करिब ८२ अर्बको नाफा देखिएको छ। यो त्यसै भएको होइन। यो त्यो बिलले भएको होइन। ८२ अर्ब नाफा हाम्रो महालेखा परीक्षकबाट ३ जना सीए संस्थाले हरेक वर्ष गरेको अडिटबाट आएको विवरण हो। यसलाई गलत कसरी भन्ने?’ 

यही हिसाबले बुझिदिन उनको आग्रह छ। यसअवधिमा ३ पटक गरी २५ प्रतिशतले महशुल घटाउँदा पनि नाफा भइरहेको उनले बताए। प्राधिकरणका करिब ५९ लाख ग्राहकमध्ये २२ लाखलाई न्यूनतम ३० रुपैयाँमात्र गरी ऊर्जामा निःशुल्क गरिएको, सिँचाइमा प्रतियुनिट २ रुपैयाँमा उपलब्ध छ भने लिफ्टिंग खानेपानीमा डिमान्ड शुल्क नलाग्ने गरिएको छ। 

‘चार्जिङ स्टेसनमा सहुलियत दर कायम गरिएको छ। व्यावसायिक दायित्वलाई ध्यान दिएको छ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .