ad ad

कारोबार


नेपालगन्जमा दुई नयाँ मध्यम प्रसारणलाइन जडान

नेपालगन्जमा दुई नयाँ मध्यम प्रसारणलाइन जडान

फाइल तस्बिर


रासस
साउन ३, २०८१ बिहिबार १४:११, नेपालगन्ज

बाँकेको नेपालगन्ज आसपास क्षेत्रका लागि ३३ केभी प्रसारण लाइनमार्फत दुई नयाँ मध्यम प्रसारणलाइन जडान गरिएको छ । 

कोहलपुर राष्ट्रिय प्रसारण लाइन (ग्रिड) बाट थप १० मेगावाट विद्युत् लाइन जडान भएको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले जानकारी दिए।

उनले कोहलपुर–नेपालगन्ज र धामपुर नयाँ सर्किट जडान भएको उल्लेख गर्दै विद्युत्को मागअनुसार आपूर्ति गरिएको बताए। यसअघि ३० मेगावाट क्षमता मात्रै रहेकामा अब यसको क्षमता ४० मेगावाट पुगेको छ ।  

‘घरायसी प्रयोजनका लागि नै जोडेको हो र यसले नेपालगन्जमा गर्मीबाट धेरै राहत मिलेको छ’, इन्जिनियर लामिछानेले भने।

थप भएको प्रसारणलाइनबाट नेपालगन्ज उपमहानगरपालिकासहित डुडुवा गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र केही राप्तीसोनारी गाउँपालिकाका क्षेत्र समेत यसबाट लाभान्वित हुनेछन्। 

बाँकेमा केही महिनाअघि आएको हावाहुरीले विद्युत् आपूर्तिमा ठूलो क्षति पुर्‍याएकाले केही ट्रान्सफर्मर नयाँ र केही पुरानाको क्षमता वृद्धि गरिएको छ। नेपालगन्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर लामिछानेले ३० थान दुई सय केभीका नयाँ ट्रान्सफर्मर र एक सय केभीका ८० ट्रान्सफर्मरको क्षमता वृद्धि गरिएको जानकारी दिए। 

हावाहुरीका कारण यसबाहेक ७० किलोमिटरका लागि विद्युत् तार तान्न, विद्युत्को लोड व्यवस्थापनका लागि अन्य मर्मतसम्भारसहितका काममा एक करोड ८४ लाख खर्च भएको वितरण केन्द्रले जनाएको छ।

‘आवश्यकताअनुसार जहाँ लोड बढी हुन्छ त्यहाँ नयाँ ट्रान्सफर्मर जडान गरेका छौँ, जहाँ कम लोड छ त्यहाँ क्षमता वृद्धि गरेर पनि ट्रान्सफर्मर लगाएका छौँ’, लामिछानेले भने।

विद्युत् लाइनका लागि हावाहुरीले क्षति पुर्‍याएकामा नयाँ खम्बासमेत गाडिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .