डा. युवराज खतिवडाले अर्थमन्त्रीको रुपमा ओली सरकारको पाँच वर्षे कार्यकाल पूरा गर्न नपाउने निश्चितप्रायः भएको छ।
सत्तारुढ दल नेकपाको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने गरी राष्ट्रिय सभा सांसदमा लैजाने निर्णय गरेसँगै कार्यकाल सकिन लागेका खतिवडाको बहिर्गमन पक्का भएको हो।
सरकारकाे सिफारिसमा खतिवडाले राष्ट्रियसभामा सांसद बन्ने अवसर पाएका थिए। उनी २०७४ फागुन १४ मा अर्थमन्त्रीमा नियुक्त भएका थिए।
खतिवडाको राष्ट्रिय सभा सांसदको पदावधि यही फागुन २० गते सकिँदै छ। पदावधि सकिएको छ महिनासम्म पनि पदमा रहनसक्ने संवैधानिक व्यवस्था छ। वामदेव गौतम राष्ट्रिय सभामा जाने भएपछि अबको अर्थमन्त्रीबारे बहस सुरु भएको छ।
त्योसँगै राष्ट्र बैंकका गभर्नर सिफारिस समेत खतिवडाले गर्न नपाउने देखिएको छ। त्यस्तै उनी बाहिरिने भएपछि आगामी आर्थिक वर्षको बजेट समेत नयाँ अर्थमन्त्रीले ल्याउनेछन्। आगामी आवको लागि बजेट चालू आवकै जेठ १५ मा ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया