समयमै काम सम्पन्न गर्न नसक्दा पप्पु कन्स्ट्रक्सनले संयुक्त उपक्रम(जेभी)मा निर्माण थालेका पुलहरु अलपत्र बनेका छन्। पप्पुले अलपत्र पारेका कारण १० वटा पुल आयोजना ठप्प छन् भने सोही कारण कम्पनी समेत बदनाम भएको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले २०७६ फागुन ५ गते सूचना जारी गर्दै पप्पु कन्स्ट्रक्सनलाई ३ वर्षको कालोसूचीमा राखेको छ। कालोसूचीमा राख्न सडक विभागअन्तर्गतको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सार्वजनिक खरिद अनुगमन कार्यलाई पत्र पठाएको थियो।
पप्पु यो पहिलोपटक भने कालोसूचीमा राखेको होइन। यसअघि पनि ठेक्का सम्झौता समयमै सम्पन्न गर्न नसक्दा पप्पु कालोसूचीमै थियो।
हालै अख्तियार दुरुपयोग अनुसन्धानले रुग्ण ठेक्का सम्बन्धमा प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगले २०७५ माघमा पहिलोपटक रुग्ण आयोजनाको सम्बन्धमा प्रतिवेदन सार्वजनिक गरेको थियो। प्रतिवेदनमा पप्पु सम्मिलित ४ पुलको प्रगति राम्रो रहेको छ भने बाँकीमा प्रगति हुनसकेको छैन।
आयोगले हालै न्यून प्रगति भएका र कुनै पनि प्रगति नभएका ठेक्का सम्झौता सार्वजनिक गरेको छ। जसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय÷सडक विभागअन्तर्गतका ४८ वटा ठेक्का सम्झौताहरुमध्ये १० वटा पप्पु कन्स्ट्रक्सनसहितका जेभी रहेका छन्। पप्पुजडित १० वटा पुल तथा सडकको कुल ठेक्का लागत १ अर्ब ५२ करोड छ।
१) गोदेरी खोला पुल
उदयपुरको पप्पु/मृत सञ्जीवनी जेभीमा २०७१ असार ३१ गते ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्पन्न २०७४ असार ३० सम्म सम्पन्न गर्नुपर्ने थियो। सरकारले २०७५ असार ३० सम्म म्याद थप्दा पनि काम सम्पन्न गर्न सकेन। आयोगले २०७५ माघमा प्रतिवेदन सार्वजनिक गर्दा २३ प्रतिशत रहेकोमा हालसम्म ४१ प्रतिशत मात्रै काम भएको छ। यो आयोजनाको कुनै म्याद थप गरिएको छैन। ६ वटा स्पान भएको २ सय १० मिटर लामो पुल रहेको पुलको लागत लागत १५ करोड १३ लाख ८२ हजार रहेको छ।
पप्पुका १० बदमासी
२) लाल बकैयाँ नदी पुल
पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएको लाल बकैयाँ नदी पुल टिकुलियाघाट रौतहटको प्रगति हालसम्म ४५ प्रतिशत मात्रै काम भएको छ। जबकि यो आयोजना २०७१ असारमा ठेक्का सम्झौता भई २०७४ असार २५ मा सम्पन्न गर्नुपर्ने थियो। कुल १७ करोड ९ लाख ६७ हजार लागत भएको आयोजना गत वर्षभन्दा १० प्रतिशत बढी भौतिक प्रगति हो।
३)तिलावे खोला पुल (पर्सा)
२ करोड १४ लाख २५ हजारमा ठेक्का लागतमा तिलावे खोला पुल (पर्सा) २०६८ साउन २७ मा ठेक्का सम्झौता भएको थियो। २०७० साउनमा सम्पन्न गर्नुपर्ने ठेक्का २०७५ फागुनसम्म म्याद थप्दा एक तिहाइ पनि काम हुन सकेन। हाल जम्मा ४० प्रतिशत मात्रै काम भएको छ। ३ वटा स्पान भएको पुलको लम्बाइ ७३.७ मिटर रहेको छ।
४) कन्काई पुल
झापामा रहेको कन्काई पुल पप्पु र महादेवको जेभीमा २०६८मा ठेक्का सम्झौता भएको थियो। २०७४ सम्म म्याद थप भएको आयोजना ३४ करोडमा ९ लाखमा सम्झौता हो। पुलमा हालसम्म ४९ प्रतिशत मात्रै काम भएको छ।
५) त्रिशूली नदी पुल
हाल ११ प्रतिशत मात्रै काम भएको त्रिशूली नदी पुल २०७१ असारमा ठेक्का सम्झौता भएको थियो। २०७४ पुससम्म सक्नुपर्ने पुल १७ करोड ४६ लाख ३३ हजारमा सम्झौता भएको हो।
६) रातु नदी पुल
रातु नदी पुल र बक्स कल्भर्ट बनिगामा लम्मीपुरनिकाल सडक निर्माण धनुषाको कुल १४ करोड ३१ लाख ३७ हजारमा २०७१ असारमा ठेक्का सम्झौता भएको हो। पप्पु÷दिवा एण्ड ढुकुछु÷ म्याङ्गलुङ्ग जेभीले २०७३ पुसमा सम्पन्न गर्नुपर्ने थियो। तर हालसम्म ३२ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ।
७) खाङ्गसाङ र सोखु खोला पुल
खाङ्गसाङ र सोखु खोला पुल सिन्धुली पप्पु÷नेपाल प्रगति जेभीले २०६८ असारमा ठेक्का सम्झौता भएको थियो। २०६९ पुसमा सक्नुपर्ने आयोजनाको २०७० पुससम्म पनि आयोजना सम्पन्न हुन सकेन । हालसम्म ५७ प्रतिशत भौतिक प्रगति भएको आयोजनाको काम ठप्प छ। आयोजनाको ठेक्का १० करोड ४३ लाख ९८ हजार रहेको छ।
८) आर्क ब्रिज
२१ करोड ३३ हजारमा सम्झौता भएको तीनकुने वाग्मतीमा आर्क ब्रिज २०७१ साउनमा ठेक्का सम्झौता भएको थियो। २०७५ असारमा सक्नुपर्ने काम १६ प्रतिशत भौतिक प्रगतिपछि ठप्प छ।
९) रातो नदी पुल
रातो नदी पुल जनकपुरको ठेक्का सम्झौता २०७१ असारमा पप्पु÷ दिवा जेभीबीच २०७३ पुसमा सम्पन्न गर्नुपर्ने थियो। तर उक्त आयोजनाको २५ प्रतिशत भौतिक प्रगति पछि आयोजना ठप्प रहेको छ। पुलको लागत १४ करोड ७० लाख ३९ हजार रहेको छ।
१०) भैरहवाको डोण्डा पुल
२०७१ असारमा ठेक्का सम्झौता भएको भैरहवाको डोण्डा पुल २०७३ मा सम्पन्न गुर्नपर्ने थियो । उक्त अवधिमा ४० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । ५ करोड ५६ लाख ८० हजारको ठेक्का सम्झौता भएको थियो।

प्रतिक्रिया