नेपालमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। मंगलबार प्रतितोलाकै ७६ हजार ७ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजाबी सुन प्रतितोला ७६ हजार ४ सय पुगेको छ। यो भाउ अहिलेसम्मकै नयाँ कीर्तिमान हो।
त्यस्तै चाँदीको भाउ प्रतितोला ८ सय ९० रुपैयाँ पुगेको छ। सोमबार छापावाला सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा र तोजाबी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको भने सोमबार र मंगलबार एउटै भाउ रहेको छ।
यसअघि माघ १८ गते ७६ हजार ५ सय रुपैयाँ पुगेको थियो। महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार कोरोना भाइरसको महामारी फैलिँदा लगानीकर्ताले सुनमा लगानी गर्नुलाई एउटा कारण मानिएको छ।
उनले भने, ‘यसले अमेरिका र चीनबीच ८ खर्ब डलरको आर्थिक कारोबारमा असर गरेको छ, सोही कारण लगानीकर्ता सुनतर्फ आकर्षित भएका हुन्।’
अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔँस सुनको भाउ १५८७ डलर पुगेको छ। सुनको भाउ प्रतिऔँस १६ सय डलर कट्ने सम्भावना रहेको शाक्यले बताए।

प्रतिक्रिया