ad ad

कारोबार


सुनकोसी मरिनको साढे १३ किमि सुरुङ जेठ पहिलो साता ‘ब्रेक थ्रु’ हुने

सुनकोसी मरिनको साढे १३ किमि सुरुङ जेठ पहिलो साता ‘ब्रेक थ्रु’ हुने

सुनकोशी मरिन डाइभर्जन आयोजना। तस्बिर नेपालका लागि चिनियाँ राजदूत सोङ/ट्विटर


नेपालखबर
चैत १४, २०८० बुधबार १३:१८, काठमाडौँ

सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको साढे १३ किलोमिटर सुरुङ जेठ पहिलो साता नै ‘ब्रेक थ्रु’ हुने भएको छ। कुल १३.३ किमि लामो सुरुङ चैत ९ गतेसम्म १२ किमि बढी खनिसकिएको हो।

राष्ट्रिय गौरवका आयोजनामा रहेको सुरुङमार्गको ९१ प्रतिशत बढी खनिसकिएको छ। २०७९ असोजदेखि टीबीएम मेसिन प्रयोग गरी काम थालिएको थियो।

सुरुङ खनिएकाले गौरवका आयोजनामध्ये सबैभन्दा राम्रो प्रगति सुनकोसी मरिन डाइभसर्नको नै हुने देखिएको छ। 

चिनियाँ राजदूत छन सोङले चाइना ओभरसी इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडलले नेपालमा २ वटा वर्ल्ड रेकर्ड बनाएको दाबी गरेका छन्। सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा एक महिनामै १५ सय २ मिटर लम्बाइ सुरुङ खनिएको छ। 

‘मासिक १५ सय ३ मिटर खनेर यसअघिको १२ सय २४ मिटर खनिएको रेकर्ड तोडेको हो’, राजदूत सोङले उल्लेख गरेका छन्। 

पुस र माघ २ महिना सुनकोसी मरिन डाइभर्सन आयोजना अवरुद्ध भएको थियो। टीबीएमले सुरुङ खन्ने क्रममा नरम माटो आउँदा ६० दिन काम रोकियो। 

महाभारत शृंखलाको जटिल एवं प्रतिकूल भौगर्भिक अवस्था, भूमिगत पानीको जटिलता ल्याएको आयोजनाले उल्लेख गरेको छ। मेसिन रोकिएपछि टीबीएम उत्पादक अमेरिकी कम्पनी रोबिन्स अमेरिकाका विज्ञ प्रतिनिधि, ठेकेदार कम्पनीका विज्ञ लगायतले समस्या समाधान गरी काम सुरु गरेका थिए। 

‘जियोलोजीको समस्या नआए अबको डेढ महिनामा सुरुङ ब्रेक थ्रु हुन्छ,’ आयोजना प्रमुख मित्र बरालले भने, ‘ब्रेक थ्रुपछि कंक्रिटिङ लगायत काम गर्न एकदेखि डेढ वर्ष लाग्छ।’

बरालले सुरुङ छेडिँदैमा काम सम्पन्न नहुने बताए। काठमाडौंको नागढुंगा सुरुङमार्ग ब्रेक थ्रु भएपछि पनि थुप्रै काम बाँकी भएजस्तै सुनकोसीमा धेरै नै काम बाँकी रहने बताए। 

सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्गको जिम्मा पाएको चाइना ओभरसिजले नै भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना लक्ष्यभन्दा एक वर्षअगाडि नै पूरा गरेको थियो। 

निर्माण कम्पनीले नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिनको माध्यमबाट सुरुङ निर्माण थालेको हो। 

सुरुङ छिचोलिए पनि हेडबक्स बन्न समय लाग्ने 
आयोजनाको पानी पथान्तरणको लागि सिन्धुलीको खुर्कोट बजारदेखि करिब २ किलोमिटर माथि र सुनकोसी–तामाकोसीको दोभानदेखि करिब ९५० मिटर तल बाँध निर्माण गरिनेछ।

१३ किमि सुरुङबाट सुनकोसी नदीको ६७ क्युमेक पानी मरिन खोलामा खसालिने छ। इनटेकमा सुनकोसी नदीमा १२ मिटर अग्लो डइभर्सन बाँध निर्माण हुनेछ। 

कमलामाई नगरपालिकामा जलविद्युत निकाल्न हेडबक्स राखिनेछ। अहिले ठेक्कालागि काम भइरहेको छ। आयोजनाका अनुसार ३१ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। 

‘विद्युत् उत्पादन गर्नको लागि हेडबक्सको ठेक्का लागेर निर्माणको काम भइरहेको छ’, प्रमुख बरालले भने, ‘३ वर्षको ठेक्का हो सकिन समय लाग्छ।’

विद्युत् उत्पादनको हेडबक्स निर्माणाधीन भए पनि इलेक्ट्रो मेकानिकल र प्रसारणलाइन निर्माणको लागि ठेक्का नै लाग्न बाँकी छ। आयोजनाले ठेक्का प्रक्रियामा रहेको जानकारी दिएको छ। 

विद्युत् उत्पादनपछि सुरुङमार्फत बागमती बाँधसम्म पानी पुर्‍याएर तराईका जिल्लामा सिँचाइ सुविधा उपलब्ध गराइनेछ।

सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाआयोजनाले प्रदेश २ का बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा जिल्लाहरुका थप क्षेत्रसमेत कुल १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभर सिँचाइ उपलब्ध गराउनेछ। सिँचाइको काम ३ चरणमा सम्पन्न हुनेछ।

हाल बागमती आयोजनाबाट सर्लाही र रौतहट जिल्लाका ४२ हजार हेक्टर जमिनमा मात्र सिँचाइ हुँदै आएको छ। सुनकोसी–मरिन डाइभर्सनपछि थप ८० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ।

२०७६ माघ ६ गते मन्त्रिपरिषदले यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो। सरकारको १५औँ पञ्चवर्षीय योजनामा समेत यसलाई रुपान्तरणकारी आयोजना भनिएको छ।

राष्ट्रिय योजना आयोगका अनुसार आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड रुपैयाँ छ। यसमध्ये चालू आवको दोस्रो त्रैमासिकसम्म ११ अर्ब ९१ करोड खर्च भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .