ad ad

कारोबार


आफ्नै गाडी चढ्ने नेपाली ह्वात्तै बढे, १० वर्षमा दोब्बर कार, तेब्बर मोटरसाइकल

‘अनिवार्यजस्तै भयो निजी साधन’
आफ्नै गाडी चढ्ने नेपाली ह्वात्तै बढे, १० वर्षमा दोब्बर कार, तेब्बर मोटरसाइकल

वसन्त अर्याल
चैत ४, २०८० आइतबार १९:३०, काठमाडौँ

१० वर्षमा चारपांग्रे गाडीको प्रयोगकर्ता १.६ प्रतिशतबाट ३.१ प्रतिशत पुगेको छ। 

चारपांग्रे खरिद गर्ने जनसंख्या २ गुणाले बढ्दा मोटरसाइकल र स्कुटर प्रयोग गर्ने ३ गुणाले बढेका छन्। 

राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार आधुनिक यातायातका साधनको स्वामित्व ह्वात्तै बढेको देखिएको छ। मोटरसाइकल र कार प्रयोगकर्ता धेरै बढे पनि साइकल प्रयोगकर्ता २ प्रतिशत मात्रै छ। 

मधेश प्रदेशका दुई तिहाइभन्दा बढी ६७ प्रतिशत परिवारले साइकल प्रयोग गर्ने गरेको देखिन्छ भने हिमाली भेगका करिब एक प्रतिशत मात्र परिवारसँग साइकल छ। 

१० वर्षमा मोटरसाइकल स्कुटर भएका परिवारको संख्या ९.८ बाट बढेर २७.३ प्रतिशत पुगेको छ। २०६८ मा ५ लाख १९ हजार ५७० परिवारसँग मोटरसाइकल रहेकोमा अहिले १८ लाख १६ हजार १२१ परिवारसँग पुगेको छ।

१० वर्षअघि ८५ हजार १३५ परिवारसँग मात्रै गाडी रहेकोमा अहिले २ लाख ४ हजार ९९० परिवारसँग गाडी छ। 

‘निजी साधन अनिवार्यजस्तै भयो’
यातायात विज्ञ आशिस गजुरेलले सार्वजनिक यातायातमा भरपर्दो नहुँदा नेपालमा निजी साधन अनिवार्यजस्तै भएको बताए। 

‘आर्थिक गतिविधि हरेक वर्ष बढिरहेको छ। त्यसको लागि आउजाउ बढी हुन्छ’, गजुरेलले भने, ‘समयमै पुग्नको लागि हाम्रा सार्वजनिक यातायात भरपर्दो भएनन्। निजी गाडी किन्नैपर्ने बाध्यता छ।’

निजी यतायाताका साधनको स्वामित्व र प्रयोग गर्ने परिवारहरु बागमती प्रदेशमा बढी देखिएका छन्। कुल परिवारको बागमतीमा ६.४ परिवारसँग गाडीको प्रयोग बढ्दा कर्णालीमा ०.८ प्रतिशतमा मात्रै सीमित छ। 

गण्डकी प्रदेशमा ३.६ प्रतिशत, लुम्बिनीमा २.५ प्रतिशत, कोशीमा २.२ प्रतिशत र सुदूरपश्चिमका १.१ प्रतिशत परिवारसँग मात्रै चारपांग्रे सवारीसाधन छन्। 

गजुरेलले बढी पैसा हुनेले गाडी खरिद गरेको बताउँदै कम पैसा हुने मोटरसाइकल तथा स्कुटर लिनुपर्ने बाध्यता रहेको बताए। 

‘काठमाडौंमै राति ८ बजेपछि सार्वजनिक यातायात पाइँदैन। कति दिन ट्याक्सी चढेर हिँड्न सक्छ’, उनी भन्छन्, ‘ऋण खोजेरै भए पनि दुईपांग्रे खरिद गर्छ।’

सरकारले अझै सार्वजनिक यातायातमा लगानी नगरे अर्को १० वर्षमा आधा परिवारले मोटरसाइकल नै खरिद गर्नुपर्ने अवस्था आउने बताए। 

अर्को १० वर्षमा फेरि घट्ने चिन्ता 
अटो व्यवसायीले नेपालमा परिवारको आधारमा सवारीसाधनको हिस्सा अझै कम भएको बताएका छन्। युवाहरु विदेश जाँदा नेपालमा मोटरसाइकल चढ्नेको संख्या नै घट्दै गएको उनीहरुको भनाइ छ। 

‘कोभिड महामारीअघि दुईपांग्रेको वृद्धिदर एकदमै धेरै थियो। पछिल्लो २ वर्षमा त धेरै नै घटेको छ’, नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष ध्रुव थापा भन्छन्, ‘जनगणनामा उल्लेख भएको तथ्यांक पनि चल्दैनन्। पुराना भई नचल्ने साधन पनि तथ्यांकमा देखिएको हुनसक्छ।’

उनले एक घर एक साधन हुनु सामान्य भएको बताए। तर नेपालमा धेरै परिवारसँग साधन नै नरहेको बताए। 

चारपांग्रे गाडी कुन ठाउँमा कति?
कोशी प्रदेशमा झापा, मोरङ र सुनसरीमा ५ हजार बढी परिवारसँग गाडी रहेका छन्। झापामा ७ हजार ८१५, मोरङ ६ हजार ७४० र सुनसरी ५ हजार ७२५ परिवारसँग निजी गाडी छन्। इलाममा १६ सय २८ र उदयपुरमा १४ सय परिवारसँग गाडी छ। 

मधेश प्रदेशमा गाडी प्रयोगकर्ताको संख्या कम छ। सप्तरी र महोत्तरीमा २ हजारभन्दा तल र बाँकी ६ जिल्लामा २५ सयभन्दा कम परिवारसँग मात्रै चारपांग्रे सवारीसाधन छन्। मधेशमा साइकल प्रयोगकर्ता सबैभन्दा बढी छन्। 

बागमतीमा काठमाडौं उपत्यकाका ३ जिल्लाका परिवारसँग गाडी छ। काठमाडौंमा नेपालभरकै सबैभन्दा बढी ५५ हजार २७१ परिवार गाडी चढ्छन्। ललितपुरका १५ हजार ५२० र भक्तपुरका ८ हजार ६४३ परिवारसँग गाडी छ।

काठमाडौंबाहिर चितवनका ८ हजार ९३६ परिवार निजी गाडीमा कुद्छन्। काभ्रे र मकवानपुरका करिब ३–३ हजार परिवारसँग मात्रै गाडी छ। 

गण्डकी प्रदेशमा कास्की जिल्लामा बसोबास गर्नेले धेरै गाडी खरिद गरेका छन्। कास्कीमा ११ हजार ७२६ परिवारसँग हुँदा नवलपरासीपूर्वका ३ हजार परिवार गाडीमा कुद्न थालेका छन्।  

गण्डकीमा मनाङमा सबैभन्दा कम अर्थात् ३७ वटा घरमा मात्रै गाडी छ। अर्को हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङका १५२ जनासँग गाडी छ। 

लुम्बिनीमा रुपन्देहीका १० हजार १३१ परिवार गाडीमा कुद्छन्। दाङमा ३ हजार ४२८, कपिलवस्तुमा २ हजार ३९५ र गुल्मीका १ हजार ७५ जनासँग निजी गाडी छ। 

सबैभन्दा कम गाडी कर्णाली प्रदेशमा छन्। सडक पूर्वाधार र व्यापार व्यवसाय गर्नेको संख्या कम हुँदा गाडीका उपभोक्ता नै कम रहेका हुन्। 

डोल्पामा १६, मुगुमा ४२, हुम्लामा २२ , जुम्लामा १३१, कालिकोटमा ६४, दैलेखमा २८५, जाजरकोटमा २९७, रुकुम पश्चिममा १३७, सल्यानमा ४०३ र सबैभन्दा बढी सुर्खेतमा १६ सय ४२ परिवासँग निजी गाडी छ। 

सुदूरपश्चिमका ३ हजार ७०५ र कञ्चनपुरमा १२ सय ३ जना परिवारले निजी गाडी कुदाउँछन्। बाँकी जिल्लामा ५०० भन्दा कम परिवारसँग गाडी छन्। 

तराईका अधिकांश घरमा मोटरसाइकल 
जनगणनाको रिपोर्टअनुसार तराईका सबै जिल्लामा मोटरसाइकलका प्रयोगकर्ता बढी छन्। कोशी प्रदेशको झापामा ८४ हजार ८६३, मोरङमा ८७ हजार ९३७ र सुनसरीमा ७३ हजार ६१ परिवारसँग मोटरसाइकल तथा स्कुटर छन्। 

मधेश प्रदेशका हरेक जिल्लामा ४० हजार बढी परिवारसँग २ पांग्रे मोटर रहेको छ। धनुषामा सबैभन्दा बढी ६३ हजार ४६४ र कम सप्तरीमा ४० हजार परिवारसँग दुईपांग्रे छ। 

बागमतीमा काठमाडौं जिल्लाका २ लाख ६३ हजार ६९ परिवारसँग दुईपांग्रे सवारीसाधन छ। त्यसपछि चितवनमा ७५ हजार ८१३, ललितपुरमा ७२ हजार ९२३, भक्तपुरका ५४ हजार ८६९ र मकवानपुरका २६ हजार २८ परिवारसँग मोटरसाइकल तथा स्कुटर छ। 

गण्डकी प्रदेशमा कास्कीमा ७१ हजार ४८९, नवलपरासीपूर्वमा ३१ हजार ६१५ परिवारसँग हुँदा मनाङका २६० र मुस्ताङका ७७१ परिवार दुईपांग्रेमा हुइँकिन्छन्। 

लुम्बिनीमा रुपन्देहीमा १ लाख २ हजार परिवारको साधन मोटरसाइकल रहेको छ। कपिलवस्तुका ४० हजार ४०, दाङ ३१ हजार ७८५, बाँकेमा ३५ हजार ३९५ र बर्दियाका १९ हजार ३९१ परिवारले दुईपांग्रे चलाउँछन्। 

कर्णालीमा सबैभन्दा कम हुम्लाका ३१ परिवारसँग मात्रै मोटरसाइकल रहँदा बढी १५ हजार ६९३ सुर्खेतका परिवारसँग छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .