ad ad

कारोबार


वित्तीय अवस्था बिग्रिँदै, सेयर मूल्य उचालिँदै

‘पब्लिकको हिस्सा कम भएका कम्पनी सीमित व्यक्तिको कब्जामा पर्न सक्छन्’
वित्तीय अवस्था बिग्रिँदै, सेयर मूल्य उचालिँदै

नेपालखबर
फागुन ८, २०८० मंगलबार १२:२९, काठमाडौँ

पछिल्लो ६ कारोबार दिनमा सेयरबजार ६१.८४ अंकले ओरालो लाग्दा दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो। 

बजार ओरालो लाग्दा पनि समाज लघुवित्त र बोटलर्स नेपाल (बालाजु) कम्पनीको सेयरमूल्य १० प्रतिशतका दरले वृद्धि भई सर्किट लागेको हो। 

सूचीकृत कम्पनीको सेयरमूल्य निरन्तर सकारात्मक सर्किट लागेर बढ्नु लगानीकर्ता र बजारको लागि राम्रो पनि हो।  

सामान्यतः वित्तीय रुपमा अब्बल र सूचकहरु सकारात्मक बनेर कम्पनीको सेयरमा आकर्षण बढेर आएको डिमान्डले नै बजार बढ्ने हुन्छ। 
बजारसँगै कम्पनीका सेयरमूल्य बढ्दा लगानीकर्ताले कमाउने नै भए। 

सूचकमा सुधार हुँदै वित्तीय रुपमा बलियो कम्पनीले नै लगानीकर्तालाई राम्रो प्रतिफल (लाभांश) दिन सक्छन्। 

उच्च प्रतिफल दिने कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएर सेयरमूल्यमा सर्किट लाग्दै जानु सोही कम्पनीका लगानीकर्ता र बजार दुवैको लागि सकारात्मक पनि हो।

वित्तीय रुपमा कमजोर कम्पनीका सूचक नकारात्मक देखिँदा पनि सेयरमूल्य सकारात्मक सर्किट लाग्नु स्वाभाविक मानिँदैन। पछिल्लो समय वित्तीय रुपमा सूचक कमजोर देखिएका कम्पनीहरुको सेयरमूल्य निकै उचालिएको देखिन्छ। 

वित्तीय रुपमा कमजोर कम्पनीको मूल्य बढ्दा केही लगानीकर्ता र केही सेयर खेलाडी कम्पनीका संस्थापकलाई त्यसको लाभ होला। तर, त्यसरी उचालिएको कम्पनीको सेयरमूल्य त्यसरी नै ओरालो लाग्ने धेरै उदाहरण समेत छन्। 

यसअघि चन्द्रागिरि हिल्स कम्पनीको सेयरमूल्य २५ सय माथि पुर्‍याइएको थियो। जुन मूल्य धेरै दिनसम्म टिक्न नसकेर निरन्तर ओरालो लाग्दै अहिले कम्पनीको प्रतिकित्ता सेयरमूल्य १ हजारको हाराहारीमा आएको छ। 

त्यो बेला चन्द्रागिरि हिल्स नोक्सानीमा थियो। कोभिडको प्रभावले कम्पनीको नाफा ऋणात्मक थियो। तै पनि कम्पनीको प्रतिकित्ता सेयरमूल्य २५ सय माथि पुर्‍याइयो। हाल चन्द्रागिरि वित्तीय रुपमा सुधार भई अब्बल बन्दै गएको अवस्था छ।  

वित्तीय रुपमा कमजोर कम्पनीको सेयरमूल्य जसरी उचालिन्छ त्यसैगरी तल ओर्लिने हुन्छ। कुनै सीमित व्यक्ति वा खेलाडीले उचालेका सेयर दिगो (टिकाउ) नहुने र त्यसको घान (चेपुवा)मा सर्वसाधारण लगानीकर्ता पर्ने सम्भावना रहन्छ।

पछिल्लो समय सेयरबजार घट्दै जाँदा वित्तीय रुपमा कमजोर कम्पनीको सेयरमूल्य सर्किट लाग्दै जानुले केही सेयर खेलाडी हावी भएका त होइनन् भन्ने प्रश्न उठाएको छ।

यस्ता छन् उच्च दरले सेयर बढिरहेका ३ कम्पनी  
बजार घट्दा पनि समाज लघुवित्त, बोटलर्स नेपाल (बालाजु) र जोशी हाइड्रोपावरको सेयरमूल्य उच्च दरले बढिरहेका छन्। यी तीनवटै कम्पनी वित्तीय रुपमा सबल बन्दै रिटर्न क्षमता बढेर सेयरमूल्य भने बढेको देखिँदैन। 

चालू आवको दोस्रो त्रैमास (पुस मसान्त)लाई हेर्दा समाज लघुवित्त र बोटलर्स नेपाल (बालाजु) कम्पनीको नाफा ऋणात्मक छ। यता, जोशी हाइड्रोपावरले पहिलो त्रैमासिक रिपोर्ट सार्वजनिक गर्न सकेको छैन। 

पुस मसान्तसम्म बोटलर्स नेपाल (बालाजु) १५ करोड १५ लाख रुपैयाँ खुद घाटामा छ। गत वर्ष कम्पनीले २९ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। सञ्चालन आम्दानी घट्दा कम्पनी घाटामा गएको हो। गत वर्ष कम्पनीले ५ अर्ब १९ करोड ७३ लाख रुपैयाँबराबरको आम्दानी गरेको थियो। अहिले घटेर ४ अर्ब ५८ करोड ३१ लाख रुपैयाँ कायम भएको हो।

त्यसैगरी, समाज लघुवित्तको नाफा १६ लाख ऋणात्मक देखिएको छ। प्रतिसेयर आम्दानी ऋणात्मक रहेको लघुवित्तको खराब कर्जा १८.९९ प्रतिशत पुगेको छ। नाफा ऋणात्मक हुँदा कम्पनीले रिटर्न दिने सम्भावना न्यून छ। 

वित्तीय सूचक बिग्रिरहेका अवस्थामा यी कम्पनीको सेयरमूल्यमा उछाल आउनु स्वाभाविक नरहेको सेयर लगानीकर्ता छोटेलाल रौनियार बताउँछन्। 

यी कम्पनीहरुको सेयर मूल्य

उनका अनुसार सर्वसाधारणको हिस्सा थोरै भएको कम्पनीको सेयर सीमित व्यक्तिको हातमा हुने भएकाले उनीहरुको चाहनाअनुरुप मूल्य घटबढ हुन सक्छ।

‘पब्लिकको हिस्सा कम भएका कम्पनी सीमित व्यक्तिको कब्जामा पर्न सक्छन्’, उनले भने, ‘कम्पनी उनीहरुको कब्जामा परेपछि मूल्य बढाएर आफू निस्किने प्रवृत्ति हावी छ।’

यस्ता कम्पनीमा आपूर्ति एकदमै कम हुने र कारोबार गर्ने मानिस बढी हुने हुँदा सेयर कित्ता कम भएका कम्पनीको मूल्य तीव्र गतिमा बढ्ने गरेको उनी बताउँछन्। समाज लघुवित्त र बोटलर्स नेपाल (बालाजु)को सेयर भोलुम थोरै हुँदा पनि मूल्य बढेको हुनसक्ने उनीको तर्क छ। 

हाल नेप्सेमा समाज लघुवित्तको २ लाख २८ हजार ५०० कित्ता सूचीकृत छ। जसमा १ लाख ३० हजार कित्ता संस्थापक र ९८ हजार २ सय कित्ता पब्लिकमा छ। त्यसैगरी, बोटलर्स नेपाल (बालाजु)को १९ लाख ४८ हजार कित्ता सूचीकृत छ। जसमा १४ लाख ६१ हजार कित्ता संस्थापक र ४ लाख ८७ हजार कित्ता पब्लिकमा छ। 

बजारमा जानकार लगानीकर्ता संख्या न्यून हुँदा कमजोर कम्पनीको सेयरमूल्य अस्वाभाविक रुपमा केही व्यक्तिले बढाउने गरेको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोपाल भट्ट बताउँछन्। 

‘ठूला लगानीकर्तालाई कम्पनी कस्तो हो भन्ने मतलब हुँदैन। उनीहरुलाई १०० रुपैयाँको मूल्य बढाएर १२० पुर्याउँदा २० रुपैयाँ फाइदा भइहाल्छ’, उनले भने, ‘उनीहरुसँग पैसा छ। सर्ट टर्म लिमिट छ। त्यति भएपछि उनीहरुले आफ्नो चाहनाअनुसार मूल्य घटाउने र बढाउने गर्छन्।’

घट्दै लाभांश वितरण क्षमता
नेप्सेमा सूचीकृत कम्पनीहरुले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमास (पुस मसान्त)को अपरिष्कृत वित्तीय विवरणअनुसार अधिकांश कम्पनीको अवस्था बिग्रिँदै गएको देखिन्छ। 

अघिल्ला वर्षहरुमा उच्च लाभांश दिँदै आइरहेका कम्पनीले यो वर्ष लाभांश वितरण गर्न सकेका छैनन्। ती कम्पनीले यो वर्ष लाभांश दिन नसक्नुले उनीहरुको अवस्था बिग्रिएको पुष्टि हुन्छ। 

गत वर्षको नाफाबाट यो वर्ष ८ वाणिज्य बैंकले लाभांश वितरण गर्न सकेनन्। गरेकाले पनि न्यून लाभांश दिए। त्यसैगरी, अन्य क्षेत्रका अधिकांश कम्पनीले यो वर्ष लाभांश दिएका छैनन्। 

दोसो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण केलाउँदा आगामी वर्ष अधिकांश कम्पनीहरुले लाभांश दिनसक्ने देखिँदैन। 

बढ्दो खराब कर्जाले अधिकांश कम्पनीको प्रोभिजन बढेर नाफा खुम्चिएको छ। राम्रो प्रतिफल दिँदै आएका वाणिज्य बैंकहरुलाई सरकारले चालू आर्थिक वर्षको आर्थिक ऐनमार्फत ल्याएको फर्दर पब्लिक अफरिङ (एफपीओ) र मर्जर तथा एक्विजिसन प्रक्रियामा भएको ‘बार्गेन पर्चेज गेन’ कर तिर्दा नाफा घट्न गई त्यसको असर लाभांशमा पर्ने देखिन्छ। 

साथै, अर्थतन्त्रमा आएको शिथिलताले उपभोक्ताको क्रयशक्ति घट्दा मागमा संकुचन आएको छ। जसले गर्दा मागसँगै आयात खुम्चिएको हो। डिमान्ड खुम्चिएसँगै त्यसको असर कम्पनीको व्यापारमा परेर समग्र नाफा घटेको अवस्था छ। 

कम्पनीको नाफा घटेसँगै लगानीकर्तालाई दिने प्रतिफल खुम्चिने नै भयो। प्रतिफललाई हेरेर लगानीकर्ताले लगानी गर्ने गर्छन्। नेप्सेमा सूचीकृत कम्पनीको बिग्रिँदो अवस्थाले बजार २ हजार विन्दु वरिपरि घुमिरहेको छ। 

बैंकिङ प्रणालीमा तरलता थुप्रिएसँगै कर्जाको ब्याजदर घट्दै जाँदा पनि लगानीकर्ताको मनोबल बढ्न नसक्दा सेयरबजार बढ्न सकेको छैन। 
आयात घटेर रेमिट्यान्स बढ्दा शोधनान्तर स्थिति बचत हुँदै परिस्थिति सकारात्मक बन्दै जाँदा कर्जाको माग बढ्नसकेको छैन। 

मौद्रिक नीतिमा जोखिम भार र सेयर धितो कर्जाको सीमा बढ्ने आशामा बसेका लगानीकर्ताको अपेक्षा पूरा भएन। यद्यपि, बजार २ हजार वरिपरि देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .