कारोबार


सेयरबजारमा दीर्घकालीन लगानीका लागि यी हुन् सुरक्षित बैंक

सेयरबजारमा दीर्घकालीन लगानीका लागि यी हुन् सुरक्षित बैंक

नेपालखबर
माघ २६, २०८० शुक्रबार १५:४४, काठमाडौँ

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत २० वाणिज्य बैंकहरुमध्ये ६ वटाको सेयरमा लगानी गर्दा दीर्घकालीन लाभ लिन सकिने देखिएको छ।

एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल, नेपाल एसबीआई बैंक, सानिमा बैंक र प्राइम कमर्सियल सेयरमा लगानी गर्दा दीर्घकालीन लाभ लिन सकिने देखिएको हो। 

चालू आवको दोस्रो त्रैमास (पुस मसान्त)सम्म यी आधा दर्जन बैंकका विभिन्न सूचक अब्बल देखिएको छ। यस अवधिमा यी बैंकको वितरणयोग्य नाफा सकारात्मक छ। 

वितरणयोग्य नाफा सकारात्मक हुँदा यी बैंकहरुले आफ्ना लगानीकर्तालाई प्रतिफल दिन सक्ने देखिन्छ। दोस्रो त्रैमाससम्मलाई आधार मान्दा सञ्चालनमा रहेका २० बैंकमध्ये ८ वटाले मात्रै सेयरधनीलाई प्रतिफल दिने क्षमता राख्छन्। 

चालू वर्षको ६ महिनाको वित्तीय विवरणअनुसार स्ट्यान्डर्ड चार्टर्ड, नबिल, एभरेष्ट, कृषि विकास, सानिमा, नेपाल एसबीआई, राष्ट्रिय वाणिज्य र प्राइम बैंकको मात्रै वितरणयोग्य नाफा सकारात्मक छ। यीमध्ये राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत छैन। 

चालू वर्षको ६ महिनामा सबैभन्दा बढी वितरणयोग्य नाफा स्ट्यान्डर्ड चार्टर्डको १ अर्ब १३ करोड, दोस्रोमा नबिलको १ अर्ब ८ करोड, तेस्रोमा एभरेष्टको ९९ करोड ३१ लाख र चौथोमा कृषि विकास बैंकको ७५ करोड २१ लाख रुपैयाँ छ।

साथै, सानिमा बैंक ६५ करोड १४ लाख, नेपाल एसबीआई बैंकको ४९ करोड ५५ लाख, राष्ट्रिय वाणिज्य बैंकको ४० करोड ६२ लाख रुपैयाँ र प्राइम कमर्सियल बैंकको ६ करोड ४१ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेका हुन्।

वितरणयोग्य मुनाफा ऋणात्मक हुने बैंकहरुको आगामी वर्ष लाभांश दिने क्षमता कमै रहन्छ। 

आगामी ६ महिनामा उल्लेख्य व्यवसाय बढाए, राम्रो सुधार देखिए हाल वितरणयोग्य मुनाफा कम भएका बैंकले लाभांश दिने क्षमता बनाउन सक्छन्। तर, यस्तो सम्भावना सबै बैंकको देखिँदैन। 

उच्च खराब कर्जा, व्यवसाय ठप्पजस्तो हुँदा वितरणयोग्य नाफा नकारात्मक हुने बैंकले लगानीकर्तालाई प्रतिफल दिने सम्भावना न्यून छ।

केही वाणिज्य बैंकले मर्जर, प्राप्तिबाट भएको लाभ (बार्गेन पर्चेज) र एफपीओको लाभकर तिर्नुपरेका कारण वितरणयोग्य नाफा नकारात्मक देखिएको हो। 

सेयरबजारमा कुन बैंकको सेयर कुन अवस्थामा? 
२०७८ भदौ २ गते करिब ३२ सयको उच्च विन्दु पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) हाल (२०८० माघ)मा २०९६ विन्दुमा झरेको छ। निरन्तर ओरालो लाग्दै दुई हजार विन्दुमा आएको बजारमा अधिकांश वाणिज्य बैंकको सेयरमूल्य २ सय तल झरेको छ। 

यतिबेला ८ वाणिज्य बैंकको प्रतिकित्ता सेयरमूल्य २ सय तल र ७ वाणिज्य बैंक २ देखि ३ सय रुपैयाँको हाराहारीमा देखिन्छ। चार वाणिज्य बैंकको सेयरमूल्य मात्र ५ सय माथि छ। 

हाल एभरेष्ट बैंकको प्रतिकित्ता सेयरमूल्य ५२७.५० रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ५३३.४० रुपैयाँ, नबिल बैंकको ४७६.५० रुपैयाँ र एनआईसी एसिया बैंकको प्रतिकित्ता सेयरमूल्य ४७४.६० रुपैयाँ छ। 

साथै, नेपाल एसबीआई बैंकको प्रतिकित्ता सेयरमूल्य २९०.६० रुपैयाँ, सानिमा बैंकको २४९ रुपैयाँ र कृषि विकास बैंकको प्रतिकित्ता सेयरमूल्य २४२ रुपैयाँ छ। 

पछिल्लो समय निष्क्रिय कर्जा बढ्दा कर्जा नोक्सानी (प्रोभिजन)ले गर्दा बैंकहरुको नाफा खुम्चिँदै जान थालेको छ। व्यवसाय खुम्चिँदै जाँदा यतिबेला अधिकांश बैंकको वितरणयोग्य मुनाफा नै ऋणात्मक हुनपुगेको छ।

वितरणयोग्य मुनाफाबाट बैंकहरुले लाभांश वितरण गर्ने हुँदा आगामी वर्ष धेरै बैंकले सेयरधनीलाई लाभांश दिन नसक्ने देखिएको छ। 

अधिकांश बैंकको नाफा खुम्चिँदै लगानीमा प्रभाव परे पनि एभरेष्ट, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल एसबीआई बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंकको सूचकमा खासै ठूलो प्रभाव परेको देखिँदैन। 

यी बैंकहरुले खराब कर्जा अन्य बैंकको तुलनामा कम राख्न सफल हुँदा आगामी समयमा नाफा खुम्चिने देखिँदैन। तसर्थ यस्ता बैंकको सेयरमा लगानी गर्दा दीर्घकालीन रुपमा राम्रो रिटर्न (प्रतिफल) पाइन सक्छ। 

बजार घटेको बेला एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, सानिमा बैंकको निष्क्रिय कर्जा न्यून हुँदा प्रोभिजन दर घट्ने र नाफा समेत प्रभाव नपर्ने हुन्छ। 

प्राथमिक पुँजी कोष, व्यवसाय, कर्जा निक्षेप अनुपात, निष्क्रिय कर्जा अनुपात, निक्षेप संकलनको र प्रतिसेयर आम्दानी र नाफाको हिसाबमा यी बैंक सुरक्षित देखिएका छन्। 

कुन बैंक कस्ता? 
एभरेष्ट बैंक 
एभरेष्ट बैंकको दोस्रो बजारमा प्रतिकित्ता सेयरमूल्य ५२७.५० रुपैयाँ छ । साथै, बैंकको बुक भ्यालु (नेटवर्थ) २१९ रुपैयाँ ५७ पैसा र प्रतिसेयर आम्दानी २९.१२ रुपैयाँ छ। प्राथमिक पुँजी कोष (सीसीएआर) ११.०१ प्रतिशत, निष्क्रिय कर्जा ०.७७ प्रतिशत, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०.९४ प्रतिशत र लगानी १६८ अर्ब रुपैयाँ छ। चालू आवको पुससम्म बैंकले १ अर्ब ७१ करोड रुपैयाँ नाफा गरेको छ। यी सूचकमा बैंक अब्बल देखिएको छ। 

स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिकित्ता सेयरमूल्य ५३३.४० रुपैयाँ छ। बैंकको बुक भ्यालु २०५.५८ रुपैयाँ र प्रतिसेयर आम्दानी ३६.६२ रुपैयाँ छ।

बैंकको सीसीएआर १४.२१ प्रतिशत, सीडी रेसियो ७३.२१ प्रतिशत, निष्क्रिय कर्जा अनुपात १.६० प्रतिशत र लगानी ७७ अर्ब रुपैयाँ छ। बैंकले पुस मसान्तसम्म १ अर्ब ७२ करोड रुपैयाँ नाफा गरेको छ। 

नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकको प्रतिकित्ता सेयरमूल्य २९० रुपैयाँ छ। बैंकको बुक भ्यालु १८०.९२ रुपैयाँ र प्रतिसेयर आम्दानी १६.६१ रुपैयाँ छ।

बैंकको सीसीएआर १०.०६ प्रतिशत, सीडी रेसियो ७४.४७ प्रतिशत, निष्क्रिय कर्जा २.२९ प्रतिशत र लगानी १२१ अर्ब रुपैयाँ छ। बैंकले चालू आवको पुस मसान्तसम्मा ८४ करोड रुपैयाँ नाफा गरेको छ। 

सानिमा बैंक 
सानिमा बैंकको प्रतिकित्ता सेयरमूल्य २४९ रुपैयाँ छ। बैंकको बुक भ्यालु १४५.०२ रुपैयाँ र प्रतिसेयर आम्दानी १६.७७ रुपैयाँ रहेको छ। 

बैंकको सीसीएआर १०.०९ प्रतिशत, सीडी रेसियो ७८.१३ प्रतिशत, निष्क्रिय कर्जा १.७२ प्रतिशत र कर्जा लगानी १५१ अर्ब रुपैयाँ छ। बैंकले पुस मसान्तसम्ममा १ अर्ब ३८ करोड रुपैयाँ नाफा गरेको छ।

प्राइम कमर्सियल बैंक 
प्राइम कमर्सियल बैंकको प्रतिकित्ता सेयरमूल्य २०४.५० रुपैयाँ छ। बैंकको बुक भ्यालु १५१.२२ रुपैयाँ र प्रतिसेयर आम्दानी २२.५० रुपैयाँ छ। 

बैंकको सीसीएआर ११.०९ प्रतिशत, सीडी रेसियो ८३.९२ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ४.०७ प्रतिशत र कर्जा लगानी १७० अर्ब रुपैयाँ छ। बैंकले पुससम्म २ अर्ब १८ करोड रुपैयाँ नाफा गरेको छ । 

नबिल बैंक 
बैंकको प्रतिकित्ता सेयरमूल्य ४७६.५० रुपैयाँ छ। बैंकको बुक भ्यालु २०४.४४ रुपैयाँ र प्रतिसेयर आम्दानी २३.६८ रुपैयाँ छ। 

बैंकको सीसीएआर ९.८५ प्रतिशत, सीडी रेसियो ८४.९५ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ३.८ प्रतिशत र कर्जा लगानी ३६२ अर्ब रुपैयाँ छ। बैंकले पुससम्म ३ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .