ad ad

कारोबार


बुक बिल्डिङबाट सेयर जारी गर्न लागेको रिलायन्स कस्तो कम्पनी हो?

बुक बिल्डिङबाट सेयर जारी गर्न लागेको रिलायन्स कस्तो कम्पनी हो?

नेपालखबर
माघ ८, २०८० सोमबार १४:३२, काठमाडौँ

रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट प्राथमिक सार्वजनिक निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ। 

यसअनुसार बोर्डले कम्पनीलाई सर्वसाधारणमा निष्काशन गरिने सेयरको ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई छुट्याउने गरी बुक बिल्डिङमा अनुमति दिएको छ।

रिलायन्स १ अर्ब ९० करोड जारी पुँजी भएको कम्पनी हो। यसको १०.१४ प्रतिशत अर्थात् १९ करोड २६ लाख ६० हजारबराबरको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँको दरले १९ लाख २६ हजार ६ सय कित्ता सेयर कम्पनीले बुक बिल्डिङबाट निष्काशन गर्नलागेको हो। 

त्यसमध्ये ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँभित्र रही नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्तालाई सहभागी गराई बोलकबोल प्रणालीमार्फत सेयर बिक्री गरिने कम्पनीले जनाएको छ। 

कस्तो छ कम्पनीको अवस्था? 
कम्पनीको प्रतिसेयर नेटवर्थ आव २०७७/७८ मा १६९.०४ रुपैयाँ, ०७८/७९ मा १९२.१२ रुपैयाँ र आव २०७९/८० मा २४८.६७ रुपैयाँ रहेको छ भने उक्त आवमा प्रतिसेयर आम्दानी क्रमशः ५३.९१, ६१.१२ र ५४.३४ रुपैयाँ रहेको छ। उक्त आवमा सञ्चित नाफा क्रमशः ४ अर्ब ३५ करोड २६ लाख ३१ हजार, ४ अर्ब ७० करोड ८९ लाख ५९ हजार र ५ अर्ब ६३ करोड ६७ लाख ८० हजार रहेको छ। 

गत असोजसम्मको अपरिष्कृत विवरणअनुसार यस्तो नाफा ५ अर्ब ६४ करोड ९ लाख ४७ हजार रुपैयाँ रहेको छ। कम्पनीले आगामी तीन वर्षको प्रक्षेपित प्रतिसेयर नेटवर्थ चालू आवमा २५०.५१ रुपैयाँ, अर्को वर्ष २६५.३८ रुपैयाँ र आव ०८२/८३ का लागि ३०१.२९ रुपैयाँ हुने अनुमान गरेको छ। ती आवमा प्रतिसेयर आम्दानी क्रमशः ३२.९०, ३२.८९ र ५३.९३ रुपैयाँ हुने कम्पनीको प्रक्षेपण छ। त्यसैगरी कम्पनीको सञ्चित नाफा ती आवमा क्रमशः ७ अर्ब १७ करोड २७ लाख २९ हजार, ७ अर्ब ४१ करोड ७५ लाख ७५ हजार र ८ अर्ब ६ करोड २१ लाख ५३ हजार रुपैयाँ पुग्ने आकलन गरेको छ। 

यो कम्पनी २०५१ वैशाख २८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो भने २०५२ भदौ १९ मा कारोबार सञ्चालनको अनुमति पाएको थियो। यसले धागो उत्पादन गर्न २०५१ चैत ६ मा उद्योग विभागबाट मूल उद्योग ‘ए’को दर्ता प्रमाणपत्र पाएको थियो। यसले शाखा उद्योग ‘बी’को पनि अनुमति लिएर कार्य सञ्चालन गरिरहेको छ। 

सुनसरीको इटहरी १२ खनारमा मूल उद्योग र सोही नगरपालिकाको ४ नं. वडामा शाखा उद्योग सञ्चालन गरिरहेको छ। कम्पनीले ०७७ मंसिर २६ मा पुँजी वृद्धि गर्ने अनुमति पाएको थियो। यसअनुसार क्षमता समेत कटन यार्न ६३०० मे टन र भिस्कस/सिन्थेटिक यार्न ६३०० मे टनको थप क्षमता वृद्धि गरेको छ। योसँगै कम्पनीको १६ हजा ५ सय ६० मे टन थप गरी १३६ मे टन प्रतिदिन क्षमता भएको छ। 

कम्पनीले उत्पादन गरेको धागो ७० देखि ७५ प्रतिशतसम्म विदेश निर्यात गर्छ। स्वदेशमा कम्पनीको बजार हिस्सा २५ देखि ३० प्रतिशत छ। कम्पनीको अधिकृत पुँजी २ अर्ब ६० करोड, जारी पुँजी १ अर्ब ९० करोड र चुक्ता पुँजी १ अर्ब ७० करोड ७३ लाख ४० हजार रहेको छ। सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड पुग्नेछ। सेयर प्रिमियमबापत कम्पनीले १ अर्ब २५ करोड २२ लाख ९० हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरेको छ। 

यसका अध्यक्ष पवन गोल्यान हुन् भने शशीकान्त अग्रवाल, अक्षय गोल्यान सञ्चालक र प्रबन्ध सञ्चालक हुन्। ती तीन जनाको क्रमशः २१.९५ प्रतिशत, ४४.९३ प्रतिशत र २२.९८ प्रतिशत सेयर स्वामित्व छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .